© २०२३
बुटवल लुम्बिनी प्रदेशको आर्थिक केन्द्रमात्रै होइन, पर्यटन क्षेत्रको महत्वपूर्ण सम्पदा स्थल पनि हो । बुटवलमा रहेका ऐतिहासिक पर्यटकीय सम्पदाले बुटवलको श्रीबृद्धिमा ठूलो योगदान पु¥याउँदै आएका छन । लुम्बिनी प्रदेशको राजधानी दाङ सरेपछि बुटवललाई आर्थिक राजधानी बनाउने जुन संकल्प गरिएको छ, त्यसको आधार भनेको बुटवलमा रहेका पर्यटकीय सम्पदा पनि हुन भन्दा अत्युक्ति हुँदैन । बुटवलमा असंख्य सम्पदा छन । जसले बुटवललाई आर्थिक केन्द्रसंग पर्यटन क्षेत्रलाई जोडेर यहाँको विकासमा टेवा पु¥याउन सक्छन । तत्कालीन नेपाल–अंग्रेज युद्धमा अंग्रेजलाई परास्त गरेको किल्ला यहीँ बुटवलमा छ । बुटवल उपमहानगरले बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटन क्षेत्रको धरोहरको रूपमा विकास गर्ने आधार रहेको ठानेको छ । बुटवललाई बृहत् बुटवलका रूपमा विकास गर्ने अवधारणाका साथ नगरपालिकाले काम गरिरहेको छ । बुटवलको आवधिक र दीर्घकालीन महत्वका आयोजना छनौटमा यहाँका महत्वपूर्ण पर्यटकीय सम्पदालाई समाबेश गरी दिर्घकालीन विकासका साथ काम गरिएको छ । बुटवललाई पर्यटनसंगै सांस्कृतिक सहरका रूपमा विकास गर्न सकिने प्रशस्त आधार छन । बुटवल तत्कालीन समयमा तिब्बत र भोटबाट भारतमा भारत गर्न जाने बाटो पनि थियो भन्ने इतिहासविद्हरूको दाबी छ । यहीँबाट पहाडमा नुनतेल बोकेर लैजाने गरिन्थ्यो र प्राचीन कालमा व्यापारका लागि यहीँ बाटो प्रयोग हुन्थ्यो । बटौलीको पहिचानका रूपमा लिइने यहीँ सहरलाई सबल आर्थिक केन्द्र र समुन्नत बुटवल बनाउनेतर्फ यहाँका जनप्रतिनिधि केन्द्रित छन् । त्यतिमात्र होइन विकासको मोडेल सहरदेखि गाउँसम्म पु¥याउने अभियान अन्तरगत बुटवलमा पूर्वाधारका क्षेत्रमा धेरै काम भएको छ । हामीसँग भएका ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहरलाई कसरी संरक्षण संवद्र्धन गरी त्यसलाई पर्यटन उद्योगको रूपमा विकास गर्न सकिन्छ । बुटवल क्षेत्र आदि मानव रामापिथेकसको विचरण भएको क्षेत्रका रूपमा मात्रै नभई यस ठाउँमा श्रीहरिको विचरण भएको, भतृहरि ऋषिको तपस्या स्थल भएको क्षेत्र, उत्तरगंगाको क्षेत्रका रूपमा पनि बुटवललाई लिने गरिन्छ । पर्यटन उद्योगलाई बुटवल उपमहानगरले समृद्धिको एउटा बलियो आधारका रूपमा लिँदै सोही अनुरूपका योजना समेत बनाएको छ । बुटवलवासी र पुर्खाहरूको स्पन्दनसँग साटिएको यस क्षेत्रका लागि यो गौरवको कुरा हो । जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता महत्वपूर्ण स्थानलाई नगरको गौरव सम्पदाका रूपमा प्रवद्र्धन गर्ने काम भैरहेको छ । यसबाट बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गरिने योजनाले साकार रूपमा ग्रहण गर्ने छ । पर्यटन विकाससँगै राष्ट्रियता र राष्ट्रिय पहिचानलाई पनि मजबुत पार्ने बुटवलको संकल्प साकार होस् ।
जितगढीः बुटवलको पहिचानः
बुटवलको पुरानो सहर बटौली अर्थात् प्राचीन सहरको बीचमा जितगढी र माथि नुवाकोट गढी रहेका छन् । । यिनैलाई केन्द्रमा राखेर बटौली पर्यटन सर्किट निर्माण भएको छ र यसलाई विस्तार गर्ने काममा उपमहानगर केन्द्रित छ । जितगढीको गुरुयोजना बनेको छ भने नुवाकोट गढीको विकासमा निजी क्षेत्रको पनि सहकार्य छ । जितगढीमा कहिले लडाइँ भयो, कहिले नेपाल विजयी भयो भन्ने मितिमै यकिन थिएन । यसअघिका जनप्रतिनिधिहरूको पालामा इतिहासविद्हरूको अध्ययन र छलफलबाट उपमहानगरले वैशाख ७ गतेलाई जीतगढी विजयोत्सव दिवसका रूपमा मनाउने निर्णय गरेका थियो । जितगढी राष्ट्रिय स्वाभिमानको किल्ला हो र बुटवलको पहिचान हो । जितगढीमा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक निर्माण, १३ जना सेनाको अर्धकदको शालिक निर्माण, सरायँ डबली निर्माण, राष्ट्रिय झण्डा, लक टायल, हरियाली उद्यान निर्माणका काम पूरा भएका छन् । जितगढीको प्रवेशद्वार अर्थात् गेट पनि आकर्षक बनाइएको छ । जितगढीको गुरुयोजना पूरा गर्न अझै धेरै काम गर्नुपर्ने छ । जीतगढी सुरुङ मार्गको कुरा छ । यसको खोजी र उत्खननका लागि बुटवल उपमहानगरले सकृयता देखाउनु जरुरी छ ।
नेपाल–अंग्रेज युद्ध सम्झाउने बटौली जितगढी युद्ध संग्रहालय
जितगढी बटौली युद्ध संग्रहालय निर्माणको काम सम्पन्न भएको छ । यहाँ जितगढी युद्धताका प्रयोग भएका हातहतियार, खजना, पोशाकको झल्को दिने गरी सामग्रीहरू राखिएको छ । नेपाल–अंग्रेज युद्धताकको झल्को दिने गरी संग्रहालयमा सामग्री र डकुमेन्ट्री राखिने छ । युद्ध संग्रहालय अहिले बन्द छ । युद्ध संग्रहालयकै रूपमा यसको विकास गर्न सकियो भने बुटवलको महत्वपूर्ण सम्पदाको रूपमा यो रहनेछ । यसलाई खुल्ला गरि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । खासगरि विद्यार्थीहरूका लागि संग्रहालय रुची र अध्ययन तथा अनुसन्धानको बिषय हुने भएकोले नेपाल तथा भारतीय विद्यार्थीका लागि गन्तब्य बन्न सक्छ ।
मणिमुकुन्दसेन उद्यानः
अंग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको ऐतिहासिक पृष्ठभूमिसँग सम्बन्धित मणिमुकुन्द उद्यान (फूलवारी) यस क्षेत्रकै लुम्बिनी पछिको पर्यटकीय गन्तव्य स्थल हो । सेनवंशीय दरबार र अंग्रेजहरूमाथि विजय हासिल गरेको ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी २०५३ सालमा बुटवल उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख सूर्यप्रसाद प्रधानको पहलमा सेनवंशीय प्रतापी राजा मणिमुकुन्द सेनको स्मृतिमा उद्यान निर्माणको काम प्रारम्भ गरेको हो । वि.स. २०५४ सालमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा विधिवत दर्ता गरी बुटवल उपमहानगरपालिकाले यस उद्यानको संस्थापक र साधारण सदस्य वितरण गरी नगरपालिकाको प्रमुख अध्यक्ष रहने गरी मणिमुकुन्द सेन उद्यान संरक्षण परिषद् गठन गरी उद्यान संचालनमा ल्याएको हो । यसको विकासमा त्यसपछिका नगर प्रमुख भोजप्रसाद श्रेष्ठ र शिवराज सुवेदीको योगदानलाई बिर्सन सकिदैन । अहिले नगर प्रमुख खेलराज पाण्डेयको नेतृत्वको टोली यसको थप विकासमा सकृयतासाथ लागेको छ । त्यही अनुसार यसको काम अघि बढेको छ ।
उजिरसिंह फल्चाः
बुटवलको अर्को महत्वपूर्ण सांस्कृतिक सम्पदा हो बुटवलको नेवा संस्कृति । बुटवल सांस्कृतिक सम्पदामा धनी छ । बुटवलका सम्पदा संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले उजिरसिंह फल्चा निर्माण भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नम्बर ५ हाटबजार लाइनको उत्तरतर्फ फल्चा निर्माण गरिएको हो । नेवार संस्कृतिको संरक्षणका लागि फल्चा निर्माण गरिएको बुटवल उपमहानगरको भनाई छ । उपमहानगरले अरू जातजाति र संस्कृतिको संरक्षणका लागि चालु आर्थिक वर्षमा अन्य स्थानमा यस्तै फल्चा, चौतारीहरू, विश्रामस्थलहरू निर्माण गरिएको छ । उजीरसिंह फल्चा निर्माणले नेवारी संस्कृति संरक्षणमा टेवा पुगेको छ ।
बुटवल नुवाकोटगढी पदमार्गः
कामको व्यस्तताबाट केही समय बचाएर घुमफिरमा रमाउनेहरूका लागि बुटवलदेखि नुवाकोटगढीसम्मको पदमार्ग पछिल्लोसमय आकर्षक गन्तब्य बन्दै गएको छ । बुटवलको सवैभन्दा पुरानो विद्यालय बुटवल माविको पछाडिको बाटो हुँदै पाल्पाको नुवाकोटगढीसम्मको पदयात्रा अहिले आन्तरिक पर्यटकहरूको पहिलो रोजाई बनेको छ । बुटवलदेखि सवैभन्दा नजिकको आकर्षक गन्तब्यका रूपमा पाल्पा जिल्लामा पर्ने नुवाकोटगढीमा आन्तरिक पर्यटकहरूको संख्या बढिरहेको छ ।
पुरानो बटौली
पुरानो बटौली अहिलेको बुटवलको मूख्य पहिचान हो । नुनसंग घिउ साटने यो ऐतिहासिक सहरको संरक्षण गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ । त्यसका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा बुटवलको वडा नम्बर १ र २ मा पर्ने बुटवलको पुरानो बजार ‘बटौली’ लाई पुरानै अवस्थामा झल्काउने गरी पुनः निर्माण गर्ने, सम्पदाहरूको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ काम सुरु हुँदैछ । बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरू छन् । ती घरहरूमध्ये जीर्ण भएका र पुननिर्माण गर्न सम्भव हुने घरहरूलाई नयाँ स्वरूप दिएर पुरानो बुटवलको मौलिकतामा लैजाने योजना छ । पुरानो बुटवलको माथिल्लो पुलको गणेशस्थान मन्दिरदेखि सिद्राबजार र लायन्सगेटसम्मको क्षेत्रका ४६ वटा घरलाई नमूनाका रूपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरूलाई पुरानै शैलीमा रूपान्तरण गर्ने गरी संघीय सरकार, बुटवल उपमहानगरपालिका र स्थानीय बासिन्दाबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको छ ।
बुटवलको पर्यटन विकासमा मन्दिरहरूको योगदान
मननारायण मन्दिरः
बुटवल उपमनपा १ (पुरानो बटौली) मा रहेको श्री ७ मन नारायण मन्दिर सन १७२५ मा स्व. मणीराज मास्केले स्थापना गरेका थिए । यो मन्दिर पाल्पाको अमर नारायण मन्दिर भन्दा पुरानो भनिएको छ । पुरातात्विक सम्पदामा पर्ने यो मन्दिर पुरातत्व विभागको रेखदेखमा पुन ः निर्माण भैरहेको छ । स्व. मणिराज विक्रम सम्बत १८७१ र ७२ मा जितगढीमा अग्रेज सेना विरुद्ध नेपाली फौजले लडाई लड्दा नेपाली फौजलाई आर्थिक एवं रसदपानीको व्यवस्था गरेको मात्र नभै स्वयम समेत लडाईमा सामेल भएको इतिहास छ । नेपाल अंग्रेज युद्धका बखत अंग्रेजको २÷२ पटकको आक्रमणलाई विफल तुल्याएको एवं नेपाल र नेपालीको राष्ट्रियता र स्वाधीनता स्थापित गरेको बटौलीको जितगढी किल्लाकै आधार क्षेत्रमा रहेको यो मन्दिर यो क्षेत्रको सवैभन्दा पुरानो मन्दिरमा पर्दछ । नारायणथान मन्दिरः पुरानो बटौली बजारमा रहेको यो मन्दिर पनि आजभन्दा दुई सय बर्ष बढी पुरानो मन्दिर हो । यो मन्दिरको जीर्णोद्धार गर्नु आवश्यक छ । यो मन्दिरमा पुजा गर्न धेरै भक्तजन आउने गरेका छन । यो मन्दिरलाई पनि छिटो पुनर्निर्माण गरेको अवस्थामा मन्दिरका माध्यमबाट नेपाल र भारतका धार्मिक पर्यटक भित्राउन सकिन्छ ।
सिद्धबाबा मन्दिरः बुटवल र पाल्पाको सिमानामा रहेको सिद्धवावा मन्दिर पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिद्धबाबा मन्दिरको कारण ओझेलमा परेको भान हुन्छ । यद्यपि यहाँ नेपालका साथै भारतको विभिन्न सहरबाट दर्शनार्थी आउने गरेका छन । यो मन्दिरलाई गुरुयोजना बनाएर यसको विस्तार गर्न सकेको अवस्थामा यो मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न सक्छ । यसका लागि बुटवल उपमहानगरले पहल गर्नु जरुरी छ । बुटवलमा धेरै मन्दिर छन जसले धार्मिक पर्यटक भित्राउन सक्छन । तीनको विकास र विस्तारमा नगरको ध्यान पुग्नु जरुरी छ ।
मुक्तिनाथ धाम मन्दिरः बुटवलको नयागाउँमा रहेको यो मन्दिर मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको झल्को दिन्छ । मुक्तिनाथमा जस्तै यो मुक्तिनाथ मन्दिरमा पनि १०८ धाराबाट भक्तजनले स्नान गरि मन्दिरको दर्शन गर्ने व्यवस्था छ । पछिल्लोसमय मुक्तिनाथ मन्दिरमा भारतबाट समेत श्रद्धालु भक्तजनको आगमन हुने गरेको छ । विशेषगरि विभिन्न पर्वहरूमा यो मन्दिरमा दर्शनार्थीको भीड हुन्छ । मुक्निाथ धाम मन्दिर व्यवस्थापन समितिले गुरुयोजना बनाएरै यसको विकासको काम अघि बढाएको छ । मन्दिरका लागि बुटवल उपमहानगरपालिकाले पनि सहयोग गरेको छ । आगामी दिनमा यो मन्दिर नेपाल र भारतका हिन्दु धर्मावलम्बीहरूका लागि ऐतिहासिक गन्तब्य बन्न सक्छ ।
नरेश्वरधाम मन्दिरः बुटवल उपमहानगरपालिका १६ मा रहेको नरेश्वरधाम मन्दिर रूपन्देहीकै सवैभन्दा पुरानो मन्दिरमध्येको एक मन्दिरको रूपमा परिचित छ । यहाँ प्रत्येक बर्ष महाशिवरात्रीदेखि सात दिनसम्म मेला लाग्ने गर्दछ । तर, पछिल्लोसमय नरैनापुर मेला साँघुरिदै गएको छ । दुईसय बर्ष बढी इतिहास बोकेको नरेश्वर धामको विकासका लागि प्रदेश सरकारले गुरुयोजना बनाएरै मन्दिरको पुनर्निर्माणको काम गरिरहेको छ । बुटवल उपमहानगरले पनि यो मन्दिरको विकासमा चासो दिएको छ
कपरकट्टी तालः
बुटवलको पर्यटन विकासमा यो तालको पनि महत्वपूर्ण योगदान छ । बुटवल १६ बैठौलियामा रहेको यो ताललाई बुटवलको मिनी फेवा ताल पनि भनिन्छ । शिवराज सुवेदी नगर प्रमुख हुँदा उहाँको नेतृत्वमा यो तालको गुरुयोजना निर्माणदेखि विकासको काम अघि बढेको हो । अहिले यो तालमा आन्तरिक पर्यटकहरू घुम्न जाने गरेका छन् । पाँच विगाहामा रहेको ताललाई करिब ३० विगाहा क्षेत्रफलमा विस्तार गरिएको छ । ताल क्षेत्रमा फुटपाथ, साइकिल पथ, लाइटिङ, डुंगा, पर्खाल निर्माण, सेल्फीजोन निर्माण, चमेनागृह निर्माण, सुरक्षा गार्डरुम निर्माण, टिकट घर निर्माण गरिएको छ ।
बुटवलमा पाँच तारे र स्तरीय होटलः
बुटवलको राजमार्ग चौराहामा निर्माण हुँदै गरेको पाँच तारे होटल ‘हायात’ अव निर्माणको अन्तिम चरणमा पुगेको छ । यो होटल निर्माण सम्पन्न भएपछि बुटवलमा पर्यटकको बसाई अझै सहज हुनेछ । खासगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने विदेशी पर्यटकलाई लक्षित गरि सञ्चालनमा आउन लागेको यो होटलले बुटवलको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिने छ । पश्चिम नेपालको आर्थिक केन्द्र बुटवलमा अहिलेसम्म पाँचतारे होटल नभएको अवस्थामा यसले बुटवलको शान बढाउन समेत सहयोगी भूमिका खेल्ने छ । यसैगरी बुटवलको मिलनचोकमा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट होटल, बुटवल कालिकानगरमा रहेको होटेल डेनोभो, बुटवलकै योगीकुटीमा रहेको फ्लेमिङ्गो होटल, होटल एभिन्यू र मिलनचोकमा रहेको पाल्म होटल, मिलनचोकमै रहेको सिद्धार्थ कटेज, महाराजा रिसोर्ट लगायतका दर्जनौं स्तरीय होटल छन । जसले आन्तरिक तथा बाह्य पर्यटकको बसाई सुखद बनाएर बुटवलको पर्यटन विकासमा ईटा थप्ने काम गरेका छन ।
दुई केबलकारः
बुटवलमा हाल सञ्चालनमा रहेका लुम्बिनी केबलकार र बुटवल–नुवाकोट जोडने सिद्धार्थ केबलकारले यो क्षेत्रलाई अझ चलायमान बनाएका छन् । आर्थिक केन्द्रको रूपमा रहेको बुटवल भविष्यमा सुन्दर पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न दुई केबलकारको योगदान महत्वपूर्ण हुन्छ । भारतको विभिन्न सहरबाट केबलकारमा रमाउन भारतीय पर्यटक बुटवल आउने गरेका छन । यसैगरी तेश्रो देशका पर्यटकले समेत केबलकारको यात्रा गरेका छन । यसबाट बुटवल पर्यटकीय सहर पनि हो भन्ने कुरा स्थापित गर्न अझै बल पुग्नेछ ।
आगामी योजनाः
बुटवलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि गर्न बुटवल भ्रमण वर्ष घोषणा गरिएको छ । यो बर्षको नीति तथा कार्यक्रम र बजेटमा यो बिषय उल्लेख गरिएको छ तर चालू आर्थिक बर्ष सकिने दुई महिनामात्रै बाँकी रहेकोले यो बर्ष सम्भव नभए अर्को आर्थिक बर्ष अरू कार्यक्रम समेत थपेर बुटवल भ्रमण बर्षको कार्यक्रम गर्नेतर्फ बुटवल उपमहानगरको ध्यान जाओस् । बुटवल उपमहानगरको यो आफ्नै योजना हो । यो कार्यक्रम गर्न सकिएको अवस्थामा बुटवलको विकासमा ठूलो योगदान पुग्नेछ । बुटवलको हिलपार्कमा बुद्धमूर्ति निर्माणको काम सुरु हुँदैछ । बुटवलमा रात्रीकालीन बजार सञ्चालनका लागि बुटवल उपमहनगरले पूर्वाधार तयार गरेको छ । अब रात्रीकालीन बजार सञ्चालन हुन सकेमा बुटवलको विकासमा थप टेवा पुग्नेछ । बुटवल उपमहानगरले बुटवल बजारलाई चलायमान बनाउन बुटवलको गौरव सम्पदाको रूपमा बुटवलको रात्रीकालीन बजार सञ्चालनको लागि पहल गर्नुपर्दछ ।