© २०२३
गुल्मी, वैशाख १५ ।
गुल्मीका दुई स्थानमा आगलागी हुँदा दुई गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने १४ पशुचौपाय मरेका छन् । दुई गोठमा आगलागी हुँदा १० लाख क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ८ किलीबाङस्थित तुलबहादुर घर्तीको खरले छाएको कच्ची गोठसँगै काठले बनेको खोरमा पानी तताउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार आगलागीका कारण गोठ र खोर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने १० वटा बाख्रा मरेका छन् । आगलागीका कारण गोठमा रहेको एक भैसी र पाडी पनि मरेको छ भने चार वटा बाख्रा जलेर घाइते भएको सारुले बताए । आगोलागीका कारण करिब पाँच लाख रुपैया बराबरको क्षती भएको अनुमान गरिएको छ ।
यस्तै धुर्कोट गाउँपालिका तीनस्थित अनन्तबहादुर बस्नेतको खरले छाएको दुइ तले कच्ची गोठमा अचानक आगलागी हुँदा एक दुहुँनो भैसी र पाडा जलेको प्रहरीले जनाएको छ । गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ भने पाँच लाख बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।