© २०२३
चारैतिर अग्ला पहाडले घेरिएको, पहाडको फेदी र भिरालो ठाउँमा बसाइएको मनै लोभ्याउने बस्ती रुकुम तकसेरा । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम पूर्वमा अवस्थित ऐतिहासिक ठाउँ । मुलुककै घुम्नलायक रमणीय गाउँको रूपमा स्थापित तकसेरा गाउँ पर्यटकीय दृष्टिले बिर्सनै नसकिने आकर्षक गन्तव्यस्थल हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना र भुमे गाउँपालिका रुकुम पूर्वको समन्वयमा पालिकाको सभाहलमा २०८१ साल चैत ६ गते स्थानीय तहमा कानुन तर्जुमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सकेर ५ बजे हामी तकसेरातिर लाग्यौं । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल बिकले तकसेरा कम्युनिटी होमस्टेका सञ्चालक देवा रोका मगरलाई फोन गरी खाना र बासको लागि समन्वय गरिदिनुभएको थियो । स्थानीयको भनाईमा डेढ घण्टा लाग्ने बाटो साँझको बेला भएर होला हामीलाई २÷३ घण्टा लाग्यो । हुन त हामीले कल्पना गरेजस्तो त्यति नराम्रो र अप्ठ्यारो थिएन तर अपरिचित भूगोल र नयाँ परिवेश भएर होला हामीलाई बाटोमा कुनै बेला पट्यार लागेको अनुभूति हुन्थ्यो ।
यात्रामा मन्त्रालयका उपसचिव कृष्णप्रसाद नेपाल, कानुन अधिकृत धनबहादुर थापा, म र श्री खनाल गरी ४ जना थियौं । कहिले स्थानीयलाई सोध्दै त कहिले फोन गर्दै बल्ल ८ बजे हामी तकसेरा पुग्यौं । लामो बाटो, टोलीमा सबै थकित थियौं । शान्त लाग्ने गाउँ, मान्छेहरूको मन्द आवाज अनि कुकुरहरू भुक्दै गरेका । वारीबाट हेर्दा घरहरूमा टिलपिल बत्ती बल्दै गरेको । साँझको समय फेदीबाट गाउँतर्फ नियाल्दा तिब्बतको राजधानी ल्हासास्थित पोताला दरबारको दृश्यजस्तो देखिने । दिनभरको थकाइ गाउँको मनमोहक दृश्यले मेटाइदियो । तकसेरा कम्युनिटी होमेस्टेमा एसइईका विद्यार्थी र अन्य पाहुनाले गर्दा रुम प्याक भएको रहेछ । होटल साहुनीले हामीलाई ‘पाहुना घर’ मा लगेर व्यवस्था गरिदिनुभयो । त्यहाँ ढिडो, सिस्नो र मासु खाने योजना बन्यो । पाहुना घरकी दिदीको नाम रामलीला साँच्चै लीला नै गर्नुहुँदोरहेछ ।
उहाँको मिठो स्वागत पछि हामी फ्रेस भयौं । ४/५ जना स्थानीय दाजुभाइ र दिदीबहिनीहरूसँग हाम्रो टिमको दोहोरी कार्यक्रम सुरु भयो । साहुनी दिदीले ढिडो ओराल्दै गीत गाउँदै हुनुहुन्थ्यो, हाम्रा सरहरूले पनि जवाफी कारबाही स्वरूप जोशिलो पारामा गीत फर्काउनुहुन्छ भने मैले मादल बजाउँदै थिए । गठबन्धन ढिडोको विषयले करिब एक घण्टा त्यहाँ माहोल तातेको थियो । गठबन्धन ढिडो यानेकी मकै, कोदो, फापर, जौ र भट्टको समिश्रण रहेछ । दोहोरी पछि धनबहादुर थापा सरबाट १÷२ वटा गजल वाचन पनि भए । १० बजे खाना खाएर बिश्रामतिर लाग्यौं । एकैछिन गजलका रदिफ र काफियाका विषयमा पनि छलफल भए । त्यो पल धेरै रमाइलो र अविस्मरणीय रह्यो हाम्रो लागि । अर्कोतिर भने म भोलि बिहानको पर्खाइमा थिए किनकि भोलि बिहानको सूर्य किरणसँगै धित मरुञ्जेल तकसेरा गाउँ हेर्ने मन थियो । अंगालोमा बेरेर चुम्वन गर्ने मन थियो । ४÷५ वर्षदेखिको तकसेरा पुग्ने रहर थियो, त्यसैले पनि म धेरै आतुर थिएँ ।
अर्कोदिन बिहान चौतारीमा बसेर धेरैबेर गाउँतर्फ नियाल्यौं र दुईपटक गाउँको परिक्रमा ग¥यौं । सम्झनाको लागि २÷४ थान सिङ्गल र समूहका फोटो र भिडियो सेसन पनि भए । एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका अजिब घरहरू । गिलास खप्टाएजस्तो गरी बनेका घरका संरचनाले हाम्रो मनै लोभ्याए । एउटा घर, अर्को घरसँग जोडिएको अनि एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । मानौं विदेशी दातृ निकायले परिकल्पना गरेर तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । खेतीयोग्य जमिनलाई अलग्गै साँचेर बसाइएको बाक्ला बस्ती । यस गाउँका घरहरू पूर्णतः ढुङ्गा, माटो र काठले बनेका रहेछन् । मानव बसोबासको हिसाबले तकसेरा देशकै नमुना मानिन्छ । मगर जातिको बाहुल्यता रहेको उक्त गाउँमा दलित र गुरुङको समेत बसोबास रहेछ ।
२०३१ सालअघि बाग्लुङ जिल्ला अन्तर्गतको एक गाविस थियो भने पछि रुकुम जिल्लाको एक गाविस बन्न पुगेको त्यहाँ पुगेपछि हामीले थाहा पायौं । हाल पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० र पालिकाको केन्द्र पनि सोही वडाको तकसेरा नैरहेछ । करिब २५ सयको उचाइमा रहेको यस गाउँको क्षेत्रफल ७५.०५ वर्ग किलोमिटर रहेछ । २०६८ को जनगणना अनुसार यस वडाको जनसंख्या ३६९८ थियो भने हालको जनसंख्या घटेर २०४३ रहेको अभिलेखवाट देखिन्छ । ५ सय भन्दा बढी घरधुरी रहेको तक गाउँमा रोजगारी, शिक्षा, स्वास्थ्य, व्यवसायको खोजीमा अन्यत्र बसाइ सरेकोले जनसंख्या कम हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् । तल्लो सेरा, उपल्लो सेरा र बाछीगाउँ तक पछिका ठुलो क्षेत्रफल ओगटेका गाउँ रहेछन् । तक र सेरा दुई छिमेकी गाउँलाई नै समग्रमा तकसेरा भन्दा रहेछन् । बाक्ला बस्ती ढोरपाटनबाट पश्चिमतर्फ बहने उत्तरगङ्गा नदीले छुट्याएको । स्थान र नाम फरक भएपनि संस्कृति, रहनसहन तथा अन्य दृष्टिले यी दुई गाउँ भिन्न छैनन् । तकसेरा नाम यसैको संयुक्त रूप हो । यहाँका मानिसहरू आफूलाई निकै व्यस्त राख्न मन पराउँछन् । माहुरी जस्तै मेहनती, लगनशील र पौरखी छन् । खेतीपाती र पशुपालन उनीहरूको मुख्य पेसा हो ।
खेतीपातीमा अर्मपर्म अपनाउनु उनीहरूको सामाजिक परम्परा नै रहेछ । सामूहिकतामा विश्वास गर्दा नै आफ्नो अस्तित्व रक्षा भएको स्वीकार्छन् उनीहरू । अन्नबाली उत्पादनमा उनीहरू विशेष दख्खल राख्छन् । अनाज भण्डारणको शैली उदाहरणीय छ । घरको छतमा भकारी सजाएर राख्न निकै मन पराउँछन् । भकारीमा बर्खे बाली मकै, कोदो, फापर, जौ, तोरी, आलु राख्छन् । कसैकसैले स्याउ र फर्सी पनि राखेका हुन्छन् । प्रत्येक घरमा एक बाली एक भकारी हुनु सामान्य जस्तै रहेछ ।
तकसेरालाई चिनाउन राडीपाखी (काम्लो) को उल्लेख्य भूमिका छ । कोसेलीका लागि राडीको प्रयोग गरिएका घटना कुनै कहावत वा मिथकजस्ता लाग्छन् । पाहुनाहरूलाई जिल्लाको तर्फबाट प्रदान गरिने कोसेलीको रूपमा तकसेराको राडीपाखी उपहार दिने परम्परा अझै कायमै छ । तकसेरामा परम्परागत घरेलु विधिबाट राडी बुनिन्छ । यहाँ अझैपनि परम्परागत हाते कलाबाट ऊनीका राडीपाखी, फेरुवा, हार्दुला बुन्ने गरिन्छ भने ओखर खेती पनि गरिन्छ । ऊन उत्पादनका लागि भेडाबाख्रा पाल्नु निर्विकल्प पेसा हो । यहाँको दैनिक अर्थ व्यापारलाई चलायमान बनाउन भेडाबाख्रा, ऊन, राडीपाखीको योगदान ठूलो रहेछ । पछिल्लो समय अल्लोको धागो सङ्कलन र बिक्री वितरणमा समेत तकसेरा कहलिएको छ । स्थानीय बासिन्दा मिहिनेती मात्रै छैनन् व्यापारमा पनि निकै खप्पिस रहेछन् । पुसको चिसोलाई प्रवाह नगरी बास बस्दै बस्दै राडीको भारी बोकेर रिडी आएको मैले सानैदेखि सुने र देखेको कुरा पनि हो ।
पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा रुकुम र रोल्पाको काम्लो भनेपछि कोसेलीका लागि भए पनि किन्नेको भिड नै लाग्छ । फरक भूगोल, सम्प्रदायका व्यक्तिसँग नजिकिन हिच्किचाउँदैनन । अपरिचित वा कुनै बिरानोलाई गाँस बासको आश्रय दिनु धर्म ठान्छन् । पाहुना पाल्ने संस्कृति उनीहरूको विशिष्टता हो । पाहुनालाई गरिने आदर, सत्कार र सम्मान बडो घतलाग्दो छ । गाउँका युवाहरू विशेषगरी मीत–मीतेनी, सम्धि–सम्धिनी लाउन रुचाउँछन् । मीत र सम्धि सम्धिनीलाई परिवारको एउटा हिस्सा मान्दा रहेछन् । हामी जाने दिन पनि पाहुना घरमा धेरै टाढाबाट बाउछोरा आएका थिए । पछि बुझ्दा उनी मित थिए र वर्षौपछि त्यहाँ आएका रहेछन् । प्रायः घरमुली महिला हुन्छन् । पुरुषको तुलनामा महिला बढी स्वावलम्बी छन् । श्रमको निकै सम्मान गर्छन् । कामलाई सानो ठुलो भन्दैनन् । भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठका अनुसार झाँक्री मेला त्यहाँको अनौठो र रहस्यमयी संस्कार रहेछ । आधुनिक चिकित्सा प्रणालीलाई ठाडै चुनौती दिने गरी अझै पनि धामी झाँक्रीबाट ओखतीमुलो गर्छन् । धामी झाँक्रीले ठम्याउने जडीबुटीमा विश्वास गर्छन् । झाँक्रीलाई रमा र बस्ने घरलाई जिम भन्दा रहेछन् । धेरै उचाइको लेकाली भू–भागमा अवस्थित यो रामाजिमा धार्मिक गन्तव्यको थलो रहेछ । तकसेराका बासिन्दाले भदौ पूर्णिमा (जनैपूर्णिमा) को दिन भेडाको बली दिएर बराहको पूजा गर्छन् ।
आहा ! क्या राम्रो रुकुम तकसेरा आफैमा इतिहास, संस्कृति र प्रकृतिको त्रिवेणी रहेछ । ५० को दशकसम्म यहाँ निकै विदेशी पर्यटक आउने गर्थे भन्ने इतिहासले बोल्दछ । यसो हुनुमा बेलायती नागरिक डेबिड वाटर्सले तकसेरामै बसेर मगर खाम भाषाको गहन अध्ययन गरी भाषाशास्त्रमा अमेरिकाको ओरेगन विश्वविद्यालयबाट पिएचडीको शैक्षिक उपाधि हासिल गरेकोबाट बुझ्न गाह्रो छैन । विख्यात जर्मन मानवशास्त्री माइकल अपिज सन् १९७० को दशकमा ७ वर्ष बसाइ गरी यहाँको झाँक्री, समाज र संस्कृतिमा व्यापक, खोज र अन्वेषण गरी विविध सोधग्रन्थ प्रकाशन गरे । साथै, उनले ६ घण्टा लामो वृत्तचित्र (डकुमेन्ट्री) तयार गरेका थिए । संवत् २००७ सालपछि राष्ट्रसंघबाट खटिएका टोनी हागन ढोरपाटन हुँदै उत्तरगङ्गा नदीको किनारको यात्रा गर्दा उनले तकसेरा गाउँ नियाल्ने मौका पाए । तकसेराको सौन्दर्यबाट मोहित बनेका यी स्विस भूगर्भविद्ले खिचेको तस्बिर देखेपछि आकर्षित बनेका राजा वीरेन्द्र यस गाउँको भ्रमण गर्न इच्छाएको मानिन्छ । तकसेराका तत्कालीन प्रधानपञ्च बलमान पुन र रुकुम बाँफीकोटका ध्रुवविक्रम शाहको पहलमा २०४० साल माघमा तत्कालीन राजा वीरेन्द्रबाट यस गाउँमा राजकीय भ्रमण भएको रहेछ ।
वीरेन्द्रका साथमा रानी ऐश्वर्य, प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ लगायत विशिष्ट व्यक्तित्वहरूसमेत भ्रमणमा सामेल थिए । राजाले तक र सेराका बासिन्दालाई सहज होस् भनेर उत्तरगङ्गा नदीमा लामो दुरीको झोलुङ्गे पुल बनाउन लगाए । सोही समयमा रानीले यस गाउँलाई धेरै मन पराएर पुनः २÷३ पटक तकसेरा घुम्न आएको कुरा तकसेराका वडा अध्यक्ष भरत बुढाले बताए । उनका अनुसार विश्वको कुनैपनि देशमा उनीहरू नपुगेका छैनन् । लाहुरेको संख्यापनि रुकुम तकसेरामा उल्लेख्य रहेछ । पहिलो र दोस्रो विश्वयुद्धका क्रममा गोर्खा पल्टनमा भर्ती भई लडेका युद्धका कथा वास्तवमै साहसिक र कारुणिक लाग्छन् । १० वर्षे जनयुद्धका क्रममा यस गाउँले ठूलो कहर काट्यो । यी भेगहरू माओवादीका आधार इलाका अन्तर्गत थिए । दिनमा प्रहरी र सेना अनि रातभर माओवादीको मार्चपास त्यस बेलाको दैनिकी जस्तै थियो । दुवै पक्षको हप्कीदप्की त्यस्तै थिए । २०५२ सालबाट माओवादीले जारी राखेको सशस्त्र विद्रोहको प्रभावले विदेशीले पाहुनाको आगमन कम भएको रहेछ । २०५६ साल चैतमा तकसेरा प्रहरी चौकीमा आक्रमण हुँदा १४ प्रहरी र २ जना माओवादीको मृत्यु भएको पुथा उत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।
पालिकाका उपाध्यक्ष नरपुरा बुढा पुन तथा मगर समुदायका अगुवाका अनुसार इतिहासमा बाइसे–चौबीसे राज्यको पालादेखि नै मगर समुदायमा मातृसत्तात्मक प्रणाली चलेको बताउँछन् । उनीहरूका अनुसार त्यतिबेला बाहिरी आक्रमणबाट मगर राज्यलाई जोगाउन घरको सबै अधिकार महिलाको जिम्मा छाडेर पुरुषहरू लडाइँमा जान्थे । केही पुरुषहरू कमाउन देश तथा विदेश जाने र भेडाबाख्रा चराउन गोठालो जाने भएकाले आर्थिक जिम्मा महिलाकै काँधमा हुने र परिवार उनीहरूकै खटनपटनमा चल्ने रहेछ । रुकुमका खाम भाषी मगर समुदायका पुरुषले वर्षौदेखि आफूले कमाएको पैसा परिवारका महिलालाई राख्न दिने र चाहिएको बेला मागेर चलाउने गर्दै आएका छन् । पुरुषले आफूले कमाएको पैसा घरमा आमा, आमा नभए जेठी दिदी, जेठी भाउजू वा घरबाट छुट्टिएर बसेको भए श्रीमतीलाई राख्न दिने चलन रहेछ । तकसेरा मात्रै नभएर रुकुमको हुकाम, मैकोट, काक्री, लुहुम, कलराङ्सी, महत, कोल, जाङ, प्वाङ, मोरवाङ, चुनवाङ, स्यालापाखा, दुली लगायतका ठाउँका मगर समुदायमा आर्थिक रूपमा महिला नै सर्वेसर्वा रहँदै आएका छन् । श्रीमान र छोराहरूको कमाइका साथै भेडाबाख्रा, खसीबोका, अन्नपात, जडीबुटी र राडीपाखी बेचेर हुने आम्दानी पनि महिलाले नै राख्छन् । अहिले संविधानमा महिला अधिकारको कुरा लेखिएको छ ।
यहाँका मगर समुदायमा भने हालको संविधानमा भएको प्रावधान परापूर्वकालदेखि नै अपनाएको र महिला अधिकार सम्पन्न भएको उपाध्यक्ष बुढाले बताउनुभयो । विशेषगरी खामभाषी मगर समुदायमा साम्यवाद र मातृसत्तात्मक प्रणाली झल्कने गरेको देखिन्छ । जग्गाजमिन, पशु चौपाया किनबेच गर्दा होस् वा छोराछोरीको विवाह गर्दा वा ऐंचोपैँचोमा महिलाकै निर्णय अन्तिम हुन्छ । अपवादको रूपमा मात्रै आर्थिक कारोबार पुरुषको हातमा हुने भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगर बताउनुहुन्छ । साथै उहाँले अन्य समुदायमा छोराले मात्रै दागबत्ती दिने चलन भएपनि मगर समुदायमा पहिलेदेखि छोरीले समेत दागबत्ती दिने गरेको बताउनुभयो । घरमुली नै प्रायः महिला हुने भएकोले उनीहरूले हुन्छ नभनेसम्म कुनैपनि काम नहुने देखिन्छ । तकसेराका एकजना स्थानीय शिक्षक भन्छन्– हामीले कमाएर दिन्छौं त्यसपछि कहाँ, कसरी, कुन काममा खर्च गर्ने भन्ने निर्णय गर्ने अधिकार महिलाकै हुन्छ । यस्तै रमाइला इतिहासका गाथाहरूले कोरिएका तकसेराको अनुभव र अनुभूति मनको डायरीमा सङ्कलन गरी प्यारो गाउँसंग बिदाईका हात हल्लाउँदै फर्किने अनुमति माग्यौं । पाहुना घरकी रामलीला दिदीले अप्ठेरो मान्दै त्यहाँको संस्कार अनुसार सेतो टीका लगाइदिएर हातमा फूल र दही ख्वाइ पुनः छिट्टै भेट्ने बाचासहित हामीलाई बिदा गर्नुभयो ।