© २०२३
विश्वमा कम्युनिष्ट आन्दोलनको उद्देश्य पहिलेदेखि नै गलत किसिमले थियो भन्नु अविवेक हुन जान्छ । कम्युनिष्ट आन्दोलन पनि समाज सुधारका लागि नै भएको थियो । क्रान्ति हुँदै गर्दा केही राम्रा वा नराम्रा कुराहरू त भई पनि हाल्दछन् । तर पनि यी कम्युनिष्ट आन्दोलनहरूले ती ती देशमा विकासका नयाँ गति लिएकै हुन् भन्न कुनै छुच्याइँ गर्नुपर्ने आवश्यकता नै छैन । ती आन्दोलनहरूले सम्बन्धित देशमा त्यहाँ प्रचलित धर्म र जातिको नाममा भएका अन्यायका विरुद्ध जनचेतना फैलाउने काम गरेकै हुन् । कम्युनिष्ट पार्टीका मुख्य नेता कार्ल माक्र्सले पनि क्रिश्चियन धर्मका आडमा मान्छेलाई जिउँदै स्वर्ग लैजाने जस्ता ठगाईबाट बचाउने कार्य गरेका थिए ।
त्यस्तै चीनमा माओले देशलाई नयाँ दिशामा लैजाने काम गरेका थिए । उनलाई मान्दै आएको चीन अर्थतन्त्रका हिसावले विश्वकै धनी राष्ट्रमध्येको एक भइसकेको छ । त्यस्तै रुसले पनि यसरी नै विकास गरिरहेको छ । लेनिनका पालादेखि विकासमा लागेको रुसमा स्टालिनले पनि धेरै उपलब्धिमूलक काम गरी देशलाई अगाडि बढाउने काम गरेका थिए । तर विशेषगरेर नेपाल र भारतका सिलसिलामा कम्युनिष्ट आन्दोलनको उद्देश्य गरीब जनताको उद्धार गर्दै देशमा विकास गर्ने भन्दा पनि भिन्नै किसिमले भएको देखिएको छ । यहाँका कम्युनिष्ट पार्टीहरूले झण्डामा एकरूपता गर्दै आफ्ना नाम र सन्ततिका नाममा पनि माक्र्स, माओ र स्टालिन राखे तापनि यिनीहरूको कार्य भने यहाँका सनातन धर्म संस्कार र संस्कृति मास्न प्रयोग भइरहेका छन् । उनीहरूको विशेष उद्देश्य नै भारतवर्षमा रहेको सनातन वैदिक धर्म, जसले ‘वसुधैव कुटुम्बकम्’ को नारा लगाउँछ, त्यसलाई नै मास्ने खालको काम गरिरहेका छन् ।
यहाँ विकासको बाधक नै हामीले पुरातन समयदेखि मानिँदै आएको धर्म, संस्कार संस्कृति हो भन्ने अफवाह फैलाउँदै जनतामाथि शासन गर्ने र बाहिरी धर्म संस्कार फैलाउने खालको कार्य गरिरहेका छन् । जसरी एकदम गर्मी भएका बेलामा खाइएको आइसक्रिम त्यस समयमा त बहुत कल्याणकारी मानिँदो रहेछ, तर त्यसले शरीरमा विस्तारै खोकीको मात्रा बढाउन थालेपछि भने त्यसको नकारात्मक कार्यका बारेमा बल्ल थाहा लाग्ने रहेछ । यस्तै किसिमले नेपाल र भारतका कम्युनिष्ट पार्टीहरूले यस्तै किसिमले बाँडेका समाजवाद र साम्यवादरूपी आइसक्रिमले हामीलाई हाम्रोपनबाट गलाउँदै लगिरहेको छ । यसको प्रत्यक्ष प्रभाव हाम्रो शरीरमा देखिन थालिसकिएको छ । यसै प्रसङ्गमा रुसमा जन्मिएका कम्युनिष्ट पार्टीका प्रमुख व्यक्ति जो लेलिनपछि रुसमा शक्तिशाली बनेका थिए उनै स्टालिनलाई आदर्श मानेर भारतको तमिलनाडु प्रदेशका मुख्यमन्त्री एवम् द्रविड पार्टी डिएम्केका नेता मुथुवेल करुणानिधि जो पूर्व मुख्यमन्त्री एम् करुणानिधिका पुत्र हुन् उनलाई उनकै पिताले नाम थरको पछाडिपट्टि स्टालिन राखिदिएका थिए ।
उनका पिताले आफुलाई नास्तिक भन्न रुचाउँथे र विशेषगरेर पार्टीको नाम जनतालाई प्रभावमा राख्न लागि त्यहाँको प्रमुख जातिको आधारमा राखेतापनि उनलाई विशेष प्रभाव कम्युनिष्ट विचारधाराले पारेको थियो । कम्युनिष्ट विचारधाराका एम् करुणानिधिले आफ्ना छोरा एम् के स्टालिनलाई बाल्यावस्थादेखि नै क्रिश्चियन स्कूलमा पढाएका थिए । एम् के हालमा तमिलनाडुका मुख्यमन्त्री बनिसकेपछि उनले आफ्नै छोरा उदयनिधि स्टालिनलाई उपमुख्यमन्त्रीमा नियुक्ति दिएका छन् । यी उदयनिधि स्टालिनले रामको अस्तित्व नै छैन भन्दै भारतमा रहेका सनातनीहरूलाई केही समय अगाडि चिढ्याएका थिए । त्यसैले यिनीहरूले आफुलाई जनताद्वारा अनुमोदित गराए तापनि यी बाबु छोराको काम नै विकासका नाममा सनातन धर्मको विरोध गर्दै त्यहाँ क्रिश्चियनालिटी फैलाउन सहयोग पुर्याउने खालको देखिएको छ । यतिले मात्र कहाँ पुग्यो र उनीहरू हालमा भारतभरी नै हिन्दीलाई माध्यमभाषाका रूपमा राख्न खोजेको राष्ट्रशक्तिको विरुद्ध पनि दुष्प्रचार प्रसार गरिरहेका छन् । यिनीहरूले अङ्ग्रेजीको विरोध गर्दैनन् ।
अङ्ग्रेजीलाई माध्यम भाषा बनाएका छन्, तर देवभाषा संस्कृतबाटै विकसित हिन्दी भाषाको भने विरोध गरिरहेका छन् । माक्र्सको मूर्ति बनाउने भनेर घोषणा पनि गरिसकेका छन् । कार्ल माक्र्स एक विशिष्ट भौतिक दार्शनिक हुन्, उनले विश्वमा आफ्नो दार्शनिक सिद्धान्तको प्रयोग गराएका पनि छन्, यसमा कुनै कसैको शङ्का पनि छैन तर नेपाल भारतजस्ता राष्ट्र जहाँ नश्वर भौतिक उन्नतिलाई भन्दा शाश्वत आध्यात्मिक उन्नतिलाई विशेष मानिन्छ र मनुष्य जीवनको स्थिर शान्ति नै यसैमा आधारित छ यस खालको अनुसन्धानभूमिमा कार्ल माक्र्सलाई जाने पनि पुज्नै पर्ने भन्ने आवश्यकता नै छैन । तर यी बाउ छोराहरूले जो कार्ल माक्र्स इसाइ पादरीहरूको ज्याजतिका बारेमा बोलेका थिए उनलाई र उनको सिद्धान्तलाई सनातन धर्म विरोधमा प्रयोग गर्दै यहाँ क्रिश्चियनालिटीका माध्यमले देशमा अशान्ति फैलाउने कार्य गरिरहेका छन् ।
यस्तै खालको प्रसङ्ग हाम्रो देशको मधेश प्रदेशमा पनि भित्रभित्रै गरिने गरेको छ । मधेश प्रदेशमा पनि नेपालीलाई माध्यम भाषा बनाऊँ भन्दा त्यहाँ यसका विरोधमा क्रान्ति चल्ने गरेको छ । तर त्यहाँ संस्कृतबाटै विकसित नेपाली भाषालाई भन्दा यसो हिन्दीलाई देखाएजस्तो गरे तापनि भित्रभित्रै खासमा अङ्ग्रेजी भाषालाई माध्यम भाषाका रूपमा राख्न खोजिएको छ । मधेशको पहिचान भन्दै हिन्दु सनातनको पहिचान दौरा, सुरुवाल र टोपीको विरोध गरिँदै आइएको छ । तर सुट, टाइ लगाएर हिँड्नेलाई सम्मान दिने गरिन्छ । यस कार्यको थालनी मधेशमा पहिलेदेखि नै सद्भावना पार्टीका माध्यमले गरिएको थियो भने पछिल्लो समय यस कार्यको नेतृत्व अमेरिकामा पढी आएका सिके रावतले गरिरहेका छन् । हिन्दू सनातन धर्मको प्रतीक भगवान् शिवको वासस्थान हिमालको प्रतीक टोपीलाई उनले मधेशी जनताका माझमा गलत देखाएर मधेसी जनतालाई दमन गर्ने प्रतीक हो भन्ने बुझाउने गरेका छन् भने आफुले भने मधेशको प्रचुर गर्मीमा पनि अङ्ग्रेजको दासत्वका रूपमा रहेको टाइलाई प्रमुख मान्यता दिँई घाँटीमा झुण्ड्याउँदै आएका छन् ।
नेपालीले कहिले पनि धोती र टोपीलाई फरक देखेनन् तर यी नितान्त हिन्दु सनातनका प्रतीकहरूलाई भिन्न भिन्न देखाएर मधेशमा तमिलनाडुका स्टालिनको जस्तो सनातन विरोधि काम गर्न सिके राउतले अहोरात्र काम गरिरहेका छन् । यस कार्यका भित्रभित्रै सहयोगीका रूपमा उपेन्द्र यादव र अमरेशकुमार सिंह लगायतका अरू पनि नेताहरू लागेका छन् । त्यस्तै अझ सनातन धर्मलाई अत्यन्तै निकृष्ट तुल्याएर बोल्ने पहाडी नेताहरूमा डाक्टर बाबुराम भट्टराई प्रमुख हुन् भन्ने कुरा उनका विभिन्न स्थानमा गरिएको बोलाइ र लेखाइले नै स्पष्ट पार्दछन् । सानैदेखि गोरखामा क्रिश्चियन मिसिनरीहरूको स्कूलमा पढेका बाबुराम कम्युनिष्ट स्कूलिङ्गका माध्यमले नेपालमा रहेका सनातन धर्म, संस्कार र संस्कृतिलाई मास्ने षडयन्त्रका प्रमुख योजनाकार हुन् भन्ने भनाई सनातन धर्मरक्षकहरूको रही आएको छ ।
माओवादीमा धेरै वर्ष रहेर अहिले स्वतन्त्र रूपमा रहेका या त्यहाँ पनि सामान्य आस्था राख्ने केही धर्म र देशप्रेमी नेताले बाबुराम भट्टराईले पार्टीमा छँदा पनि यस किसिमका काम गराउने गरेको कुराको प्रसङ्ग निकाल्दछन् । त्यस्तै पार्टीमा तमिल स्टालिनका बाबु छोराले जस्तो आफुलाई भौतिकवादी र नास्तिक भन्ने अनि काम चाहिँ क्रिश्चियनालिटीलाई सहयोग गर्ने नेताका रूपमा पहाडी प्रचण्ड, माधवकुमार, रघुजी, रामहरि खतिवडा आदि देखिएका छन् । माओवादीमा त नरेन्द्रजङ्घ पिटर र केबी रोकाया जस्ता क्रिश्चियनहरूकै सल्लाह लिएर काम गर्ने गरिन्थ्यो भन्ने कुरा बाहिर आएको छ । त्यसैले माओवादी आन्दोलनताका पुजारी र पण्डित मारिए, मन्दिर तोडफोड भए, संस्कृत जलाइयो, गाई काटियो, तर विदेशी धर्म क्रिश्चियनका विरुद्ध बोल्ने त कुरै भएन उल्टै उनीहरूको संरक्षण र संबद्र्धन भयो । पुनः अर्को द्वन्द्वका लागि ल्याइएका विदेशी धर्मसम्बन्धितहरूलाई संरक्षण गरियो । यसका प्रमाणका रूपमा रोल्पा, रुकुम, गोरखा आदि जिल्लामा दिनप्रतिदिन बनिरहेका चर्चहरू नै रहेका छन् ।
भारतमा राजनीतिक परिवर्तन नभएको भए हाम्रो देशको मधेश उहिल्यै टुक्रिन्थ्यो भने पूर्वी नेपालमा उहिल्यै नै क्रिश्चियन प्रदेशको माग हुने थियो भन्ने बुद्धिजीविहरूको भनाइलाई नकार्न सकिने अवस्था छैन । यी गाईको रक्षा नगर्ने गोर्खे नेताजीहरूलाई मात्र गाली गरेर के गर्ने हामीले सनातनको रक्षकको रूपमा मान्दै आएको दरबारमा विदेशबाट ल्याइएको गाइको मासु प्रवेश गराइएकाले नै त्यहाँ ग्रह लागी संस्था र कर्ता नै नष्ट हुनुको प्रमुख कारण हो भन्ने भनाइ राष्ट्रगुरु योगी नरहरिनाथको थियो । अन्त्यमा माथि भनिए अनुसार भारतका तमिलनाडु, केरला, पश्चिम वंगाल आदि प्रदेशमा कम्युनिष्ट र समाजवादका नाममा त्यहाँका सनातन धर्म संस्कार र संस्कृतिका विरुद्धमा जसरी काम गरिएको देखिएको छ, त्यसैगरी हाम्रो देशमा पनि समाजवाद र कम्युनिष्टका रूपमा पहाडमा सनातन धर्म विरोधि काम भए र भइरहेका छन् । मधेशमा पनि क्षेत्र र रङ्गका नाममा त्यस्तै किसिमको आगो सनातन धर्म विरुद्ध लगाउने गरिएको छ । यसलाई रोक्न सकिएन भने यो देश पनि माओवादी द्वन्द्व जस्तै अर्को द्वन्द्वमा नराम्ररी फस्न सक्ने अवस्था रहेको छ ।