© २०२३
बुटवल, १५ चैत । राष्ट्रियस्तरमा नै महिला फुटबल खेलाडीहरुको क्रेज बढेको बेला रुपन्देहीमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । चैत २३ गतेदेखी शुरु हुने प्रतियोगिताकोे तयारी अन्तिम चरणमा पुगेको आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिए ।
बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा सिद्धेश्वरी लालकुमारी माबि खेलमैदानमा हुने प्रतियोगिताको लागि दुई महिनादेखी मैदान मर्मत चलिरहेको उनले बताए । प्रतियोगितामा भाग लिने आठ टिमको टुगो लागेको उनले बताए । दर्शकलाई सहजताका लागि अस्थाई प्याराफिट निमार्ण गरिएको तथा टिकटको ब्यवस्था गरिएको उनले बताए । ‘करीब ३ हजार दर्शक अट्ने प्याराफिट निमार्ण भएको छ ।’–उनले भने । प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडीहरु विभिन्न टिमबाट खेल्ने उनले बताए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले फुटबलको उर्वरभुमीका रुपमा पहिचान बनाएको रुपन्देहीमा पछिल्लोसमय महिला फुटबलको आर्कषण रहेको बताए । महिला फुटबल प्रतियोगिताको अभाव रहेको बेला बुटवलमा ठुलो प्रतियोगिता आयोजना गरि नाम चलेका खेलाडीहरु भित्राएर प्रतियोगिता गर्नु सुखद भएको बताए ।
कार्यक्रममा संयोजक बुद्धि बहादुर दर्जीले प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने उनले बताए । चैत २३ गतेदेखि ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।