© २०२३
हाम्रा पुर्खाहरूले बाजा मौसम अनुसार बजाउनु पर्छ, वेमौसमको बाजा टोल छिमेकमा अलि सुहाउँदैन भन्नु हुन्थ्यो । यस्तै चराहरू पनि मौसम अनुसार बास्ने अर्थात आफ्नो स्वर निकाल्ने गर्छन् । सबै चराको स्वर सबै मौसममा सुन्न पाइदैन । चराहरू पनि मौसम अनुसार बासेनन् भने अनिष्ट हुन्छ पनि भन्नुहुन्थ्यो । सानो उमेर छँदा यस्ता कुरा बुझिएन । अलिक ठूलो भएपछि बाजाप्रति चासो भएन कि ? कहाँ कसरी बजे थाहा भएन । तर, अहिले बजेको सुनेपछि मौसमका विचार गर्ने वानी परेको छ । एउटा चरा हुन्छ वर्षायाममा सुवी सुवी भनेर बास्ने । त्यो चरा हिंउँदमा त्यो बासेको सुनिदैन । तर कुनै चराहरू भने बाह्रै महिना बास्छन तर उनीहरूको कुनै लेखो हुँदैन । मानिसको घरमा पालिने भाले विहानमा बास्यो भने त्यसको चर्चा त्यति हुँदैन । उसले उज्यालो भएको संकेत दिन्छ तर त्यही भाले सन्ध्याकालमा बास्यो भने अनिष्टको संकेत भनिन्छ । अहिले वेमौसमी बाज बज्न लागेको छ अनि भले सन्ध्याकालमा बास्न लागेको छ । केही दिन पहिले वेमौसमी बाजा पनि बज्यो र वेसमयमा भाले पनि बास्यो । कसैले त भाले सन्ध्याकालमा बास्यो जो घोर अनिष्टको संकेत हो भनेका छन् । बाजा बजेको सुनेर र भालेले सन्ध्यामा डाँको छोडेको सुनेर नेपालमा रहेका अग्रगामीहरूले यो अनिष्टको संकेत हो । यसलाई समयमा खवरदारी गर्नुपर्छ भनेर चर्चा परिचर्चा गर्न लागेका छन् । हो, अहिले अस्वाभाविक रूपमा भालेले डाँको छोडेको स्वर सुनेर अरू हुचिलहरू सल्वलाउन लागेका छन् । उनीहरूको सल्वलाहटले थोरै भएपनि नेपालमा तरंग उत्पन्न गरेको छ । यो अनिष्टबाट बच्न र बचाउन तत्काल साउती हुन लागेका छन् । सुनिन्छ बेसमयमा बास्ने भालेलाई ठेगान लगाउनु पर्छ या सल्वलाउन लागेका हुचिलहरूलाई लगाम लगाउनु पर्छ । भालेले विहानको संकेत दिनुको साटो सन्ध्याकालमा डाँको छोडनुको अर्थले राम्रो संकेत नदिएकाले उसको डाँकोमा ठेगान लगाउने र हुचिलको सल्वलाहटमा अनिष्टको गन्ध मिसिएकाले लगामको आवश्यकता परेको भन्ने तर्क आइरहेका छन् ।
कुरा जताबाट घुमाएपनि उही हो नागरिक स्वतन्त्रताको । हिंजो राजा अथवा राजसंस्थाको प्रत्यक्ष शासन भोग्नेहरूलाई थाहा छ यो मुलुकका नागरिक कति स्वतन्त्र थिए भन्ने कुरा । थोरै मात्र बोले वापत कति सास्ती खेप्नु परको थियो ? यो भोग्नेहरूले थाहा पाएका छन् ? पञ्चायतकालमा पञ्चहरूको विरोध गर्नु वा पञ्चायतको विरोध गर्नु भनेको ज्यान खतरामा पार्नु जस्तै हुन्थ्यो । अझ राजतन्त्रको वारेमा बोल्नेकुरा सपनामा पनि थिएन । राजपरिवारका कुनै सदस्यले जतिसुकै निर्लज्ज काम गरे पनि त्यसको वारेमा सानो टिप्पणी गर्न नपाइने अवस्था थियो । आज व्यवस्थाका वारेमा वा जो कुनै व्यक्तिका वारेमा सडकमा वा सदनमा समेत बोल्न पाइएको छ । आलोचना गर्न खुला छ त्यतिमात्र होइन केही व्यक्तिहरू त सिमा नाघेर बोलेको सुनिएको छ । सिमा नाघेर बोल्नु उचित होइन तर बोले वापतमा कसैले सजाए पाएको थाहा छैन । बोल्ने कुरामा आफै मर्यादा कायम गर्नु पर्दछ । लोकतन्त्र र राजतन्त्रको समयमा हुने फरकहरू अनगिन्ती छन् । एउटा यो पनि हो । राजतन्त्र र लोकतन्त्रको तुलना कुनै अर्थमा हुन सक्दैन । राजतन्त्रमा एउटा हिस्सालेमात्र राजा महाराजाहरूलाई वा त्यसका आसेपासेहरूलाई रिझाएर तर मार्ने गर्दथे । आज उनीहरूले त्यही सपना देखिरहेका छन् । यो सपना रातमा देख्नेमात्र हो उज्यालो भयो भने सपना देख्नेहरूको चाहना पूरा हुँदैन । अहिले उज्यालो भएको अवस्था हो । लोकतन्त्र भनेको उज्यालो व्यवस्था हो । वर्तमान अवस्थामा लोकतन्त्रका पक्षधरबाट केही कमजोरी भएका हुन सक्छन् । कतिपय राज्य सञ्चालकहरूले समेत कमजोरी स्वीकारेको कुरा हो । जानेर वा नजानेर भएका कमजोरीलाई सच्याएर अगाडि बढनु पर्दछ भन्ने आवाज चारैतिरबाट उठेको छ । अहिले ठूलै पहाड खसेको वा नदी थुनिएको अवस्था होइन । सबै नागरिकको भावना बुझेर नेतृत्वकर्ताहरूले आफ्नो कमजोरी सच्याएर जाने हो भने एकसाता भित्र अवस्थामा सुधार भएको पाउन सकिने छ । अहिले धेरैलाई लागेको घुस, भ्रष्टाचार र नातावाद को कुरा हो । चाकडी र चाप्लुसीको मात्रा पनि विस्तारै बढेको महसुस भएको छ । यी कु्राहरू सच्याएर जानसकिने कुराहरू हुन् । अहिले केही दल र केही व्यक्तिहरूले राजतन्त्रको वारेमा जुन वेमौसमी बाजा बजाइरहका छन् त्यो प्रतिगमनको संकेत भनेर धेरैले बुझेका छन् । लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरूले त्यसको प्रतिकारको निम्ति योजना बनाईरहेका छन् । अर्कोतर्फ राजनीतिलाई पनि मार्गदर्शन गर्ने साहित्य हो । साहित्य सर्जकहरू सडकमा उत्रिसकेका छन् । उनीहरूले आफ्ना सिर्जनामार्फत नागरिकलाई सजग र बेमौसमको बाजा बजाउनेहरूप्रति खवरदारी गरिरहेका छन् । हिंजो कसैले गलहत्याएर राजतन्त्र फालेको होइन । राजाको क्रियाकलापले आफै बहिर्गमन भएका हुन् । नारायणहिटीबाट तत्कालिन राजा ज्ञानेन्द्रको परिवारलाई नागार्जुन पठाउन कुन नागरिक गएका हुन र ? जनताको नासो जनतालाई फर्काएर मुलुकको विरासत्को रूपमा रहेको श्रीपेचलाई संग्रहालयमा राख्नेगरी तत्कालिन राजा ज्ञानेन्द्रले आफै घोषणा गरेर आफै गाडी चलाएर नागार्जुनतर्फ प्रस्थान गरेका हुन् ।
राजतन्त्र फर्कनका लागि नेपालको संविधानले समर्थन गर्नुप¥यो । नेपाली नागरिकका प्रतिनिधिले लेखेको नेपालको संविधान २०७२ मा राजतन्त्र वा राजाको कुनै स्थान छैन । जुन समयमा राजा राजदरवार छोडेर गए त्यो समयमा प्रहरी प्रशासन तथा तत्कालिन शाही नेपाली सेनाले गद्दी बचाउनका लागि केही पहल गर्ने थियो । जतिवेला राजा गद्दीमा थिए त्यो समयमा त शाही नेपाली सेना, प्रहरी प्रशासनबाट साथ मिलेन भने अहिले कसरी सम्भव हुन्छ ? बरु सम्भावना के रहन सक्छ भने अहिलेसम्म पूर्व राजाले जुन सेवा सुविधा र सुरक्षा पाएका छन्, पुनः प्रतिगमनको कुरा उठाए त्यो सबै कटौति हुनसक्छ । जव पखेटा नै काटिन्छ त्यतिवेला शासन गर्ने हिम्मत आउला ? नेपालमा राजाले शासन गर्ने कुरा निकै टाढा पुगिसकेको छ । राजलाई विष्णुको अवतार मान्ने अवस्थामा राजा दरवारबाट बाहिर जाँदा त कुनै नेपालीले आँशु बगाएन भने राजा वा राजसंस्था शासनबाट हटेको डेढ दशक पुगेको अवस्थामा के आस्थाले राजसंस्था फर्कने सुत्र भेटिन्छ ? वर्तमान अवस्थामा राजा फर्काउँछु भन्नु आकाश थाम्न हुटिट्याउँले खुट्टा आकासतर्फ फर्काको भन्दा एक इन्च फरक होइन । दुईचार सय वा दुइचार हजारको भीड जम्मा गरेर राजसंस्था फर्कने सपना देख्नु भन्दा नेपाललाई सुन्दर कसरी बनाउन सकिन्छ भन्ने वारेमा बहस गरेर समय खर्च गरे वेश हुन्छ होला ।
अहिले नेपालका शीर्ष दल र उनका नेतृत्वकर्ताले राजालाई र राजा फर्काउन हौसिएकाहरूलाई चेतावनी दिइरहेका छन् । कतिपय दलहरू त प्रतिगमनको विरुद्धमा सडक तताउने कुरा उठाएका छन् । केही दिनभित्र नेपालका विभिन्न भागमा त्यो दृश्य देखिने छ । २०६२÷६३ को आन्दोलन हुँदा राजाको प्रत्यक्ष शासन थियो । उनले संविधान समेत मिचेर प्रजान्त्रलाई मुठ्ठीमा राख्न चाहेका थिए । त्यो आन्दोलन हुँदा दमन गर्ने शक्ति पनि अहिले उनको हातमा छैन । नेपालको शासन व्यवस्थामा विदेशीले आँखा झिम्काएर केही हुँदैन । आज अत्यधिक नेपालीबाट राजतन्त्रको आवश्यकता छैन भन्ने आवाज उठिरहेको छ । जनताले अनुमोदन नगरेको कुनैपनि व्यवस्था टिक्न सक्दैन भन्ने प्रमाण यस अघि नै देखिएकाले अहिले राजतन्त्र फर्काउने वेमौसमी बाजा बजाएर सडकमा नृत्य देखाउनुको कुनै औचित्य छैन् ।