© २०२३
बुटवल, १३ चैत ।
रुपन्देही जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगितामा विजयी हुदै विभागिय टिम एपीएफ क्लब फाईनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमीफाईनल खेलमा संकटा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाईनलमा स्थान बनाएको हो ।
यो सिजनमा योसंगै ३ खेलमध्ये २ खेलमा एपीएफ विजयी भएको छ । सात महिनाअघि बागमती गोल्डकपमा संकटा एफसीलाई पराजित गर्दै एपीएफ विजयी भएको थियो । भने भर्खरमात्र काठमाण्डौमा सम्पन्न केपीओली कपमा एपीएफलाई संकटाले सेमीफाईनलमा पराजित गरेको थियो जसको बदला तिलोत्तमा गोल्डकपमा एपीएफले लिएको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा एपीएफ शुरुबाट आक्रमक रुपमा पेश भएको थियो । खेलको १२ औ मिनेटमा युवराज खड्कासहित ३ खेलाडीको डिबक्सभित्र गरेको प्रहार गोलरक्षक विशाल केसीले बचाए । ३० मिनेटमा हरि कार्कीले डिबक्सभित्र सहि दिशा दिन सकेनन । योसंगै पाएको कर्नर किकलाई एपीएफका राज खड्काको हेड बाहिरियो । पहिलो हाफ गोलरहित बराबरी भयो । खेलको ५८ औ मिनेटमा एपीएफ १० खेलाडीमा समेटियो । संकटाका सृजनराज गौतमलाई लडाएसंगै एपीएफका विपन श्रेष्ठले रातो कार्ड पाए । प्रतियोगितामा दोस्रो पहेलो कार्डसंगै रेफ्री सुमन श्रेष्ठले उनलाई रातो कार्ड देखाए । १० खेलाडीमा सीमित एपीएफले इन्जुरी समयमा युवराज खड्काले निर्णायक गोल गरे । खड्का खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
विहिबार दोस्रो सेमीफाईनलमा मच्छिन्द्र एफसी र चर्च ब्याईज युनाईटेडका बिचमा खेल हुने संघका अध्यक्ष लोक पुनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ । यो वर्ष आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्प्रर्धा गर्ने छन । चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।