© २०२३
अहिले देशभर एसईई परीक्षा चलिरहेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०८१ साल चैत्र ०७ गते बिहीबारदेखि सुरु भएको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक र संस्थागत गरी जम्मा ११ हजार २१६ वटा विद्यालयहरूबाट ५ लाख १४ हजार ७१ (छात्रा २ लाख ५७ हजार ७३० र २ लाख ५६ हजार ३११ छात्र र अन्य ३०) परीक्षार्थीहरू (नेपालमा २०७९ र जापानमा १ गरी कुल २०८० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् । कुल परीक्षार्थीहरूमध्ये १६ हजार ९ सय ४७ जना परीक्षार्थीहरू प्राविधिक धारतर्फका रहेका छन् । चैत्र १५ गते परीक्षा सकिदै छ । सम्भवतः परीक्षाफल असारको पहिलो हप्ता प्रकाशित हुनेछ । परीक्षा सकिएपछि विद्यार्थीहरू लगभग ३ महिना खाली रहन्छन् । यो समयमा के गर्ने भन्ने कुरा विद्यार्थीहरूको मनमा योजना बनेको होला भने अभिभावकहरूले यो समयमा आप्mना बालबालिकालाई के सिकाउने वा गराउने होला भनेर दोधारमा हुनुहुन्छ होला । विद्यार्थीहरूले परीक्षा सकिएपछि केहि दिन १० वर्षे अध्ययनको थकाई मार्ने, नयाँ ठाउँमा घुम्न जाने, मामा घर वा नातेदारको घरमा जाने योजना बनाउनु भएको होला । त्यसपछिको समय विभिन्न नविन सिकाई तथा सिर्जनशील कार्य गर्ने योजनामा हुनुहुन्छ । सिक्ने र सिकाउने कार्य जिवनभर चलिरहने प्रक्रियाहो । त्यसै आइडल बस्नु भन्दा केहि न केहि सिक्नु पक्कै पनि राम्रो कार्य हो ।
विद्यार्थीले ध्यान दिनुपर्ने कुरा
एसईई परीक्षा दिनु अगाडी पनि यहाँहरूले परीक्षा सकिएपछि गर्ने कार्यको सामान्य सोच बनाउनु भएको होला । नभए अव परीक्षा सकिएपछि केही समयको आराम पछि योजना बनाउनु हुन्छ होला । खाली समयमा केही सिक्नु राम्रो कुरा हो । त्यसको लागि के सिक्ने ? कहाँ सिक्ने ? कति समयको लागि सिक्ने ? सिकिसकैपछि त्यसको फाइदा वा उपयोगिता हुन्छ हुन्न ? मेरो क्षमता कस्तो छ ? पारिवारिक अवस्था कस्तो छ ? आदि कुरालाई विचार पु¥याउनु पर्दछ । सिकाई आफ्नो लागि गर्ने हो, त्यसैले साथी संगतको लहलहैमा लागेर साथीले गर्ने वा सिक्ने कार्यको पछाडी लाग्दा आफ्नो लगानी र समय वर्वाद हुन सक्दछ । पछि पछुताउनु भन्दा पहिले होस् पु¥याउनु बुद्धिमानी हुन्छ । छोटो समय भएकाले ससाना कुराहरू सिक्ने योजना बनाउनु उपयुुक्त हुन्छ । उदाहरणका लागि अंग्रेजी कमजोर हुनेले अंग्रेजी भाषा सिक्ने किनकी अहिलेको समयमा अंग्रेजी भाषा दैनिकरूपमा अनिवार्य जस्तै भएको छ । प्रविधिमा चासो राख्नेले बेसिक कम्प्युटर, कम्प्युटर हार्डवेयर, मोबाइल तथा ल्यापटप रिपेयरिङ कोर्स गर्ने, प्लम्बिङ तथा वाइरिङ सिक्ने, सिलाई बुनाई, व्युटिसियन कोर्स गर्ने, कुक तालिम लिने, गिफ्ट आइटम बनाउन सिक्ने । आफ्नो रुची, क्षमता, घरको आवश्यकता, बजार तथा समयको माग अनुसारका कुराहरू सिक्दा राम्रो हुन्छ र पछि पछुताउनु पर्दैन ।
विद्यार्थीहरूले परीक्षा सकिएपछि आफ्नो नतिजा कस्तो आउँछ भन्ने अनुमान लगाउन सक्नुहुन्छ । त्यसैले अव कक्षा ११ मा कुन समूहको कुन विषय लिएर पढ्ने भन्ने सोच बनाएर बस्दा राम्रो हुन्छ । अधिकांश विद्यार्थीहरूले नतिजा प्रकाशित भएपछि पनि कक्षा ११ मा कुन विषय लिएर कहाँ पढ्ने भन्ने सोच बनाएको पाइदैन । नतिजा आफूले सोचे अनुसार आएमा यो विषय लिएर पढ्छु भन्ने पूर्व निर्णय गरेर बस्नुपर्दछ । हो कहिलेकाहीँ आफूले सोचे अनुसारको नतिजा नआउन सक्दछ । त्यस्तो हुँदैमा आत्तिनु पर्दैन, पढ्ने विषयहरू धेरै छन् । कक्षा ११ मा गाह्रो विषय लिएर फेल हुनुभन्दा सजिलो विषय लिएर राम्रो नतिजा ल्याउनु बुद्धिमानी हुन्छ । परीक्षा हो त्यसैले ठूलो अपेक्षा लिएर बस्नु हुँदैन । अपेक्षा गरे अनुसारको नतिजा नआएमा वितृष्णा हुन सक्दछ । जस्तो नतिजा आएपनि सहर्ष स्वीकार गर्न सक्ने मनस्थिति बनाएर बस्नुपर्दछ ।
अभिभावकले ध्यान दिनुपर्ने कुरा
अहिले ब्रिजकोर्सको फेसन चलेको छ । च्याउझै उम्रिएका ब्रिजकोर्स सञ्चालन गर्ने विभिन्न संस्थाहरूले सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, संयोजक र विद्यार्थीहरूको बढि सम्पर्कमा रहने शिक्षकहरूलाई सम्पर्क गरेर विद्यार्थीहरूको सम्पर्क नम्वर माग्ने वा आफ्नो संस्थामा पठाइदिन अनुरोध गर्ने कार्य चलिरहेको छ । परीक्षा सकिएलगत्तै अभिभावक र विद्यार्थीहरूलाई फोन पक्कै पनि आउँछ । आफ्नो बालबालिकालाई के सिकाउँदा, के पढाउँदा ठिक होला भन्ने चासो अभिभावकले लिनु स्वाभाविक हो । यी विविध कुराहरूलाई ध्यानमा राख्दै राम्रो निर्णय गर्नु अभिभावकको दायित्व र कर्तव्य हो । तर निर्णय गर्दा विभिन्न प्रलोभन लगायतका कुराहरूलाई ध्यान दिनु जरुरी हुन्छ । अभिभावकले बालबालिकाको रुची, क्षमतालाई ध्यान दिएरमात्र खाली समयको सदुपयोग गर्न लगाउनु पर्दछ । माथि उल्लेख गरेका विभिन्न विषयहरूमध्ये पायक पर्ने ठाउँमा, पारिवारिक अवस्था अनुसार, समय र बजारको माग अनुसार सिकाउँदा राम्रो हुन्छ । कतिपय बालबालिकाहरू आफ्नो क्षमता, रुचि, घरको अवस्था र आवश्यकता भन्दापनि साथी संगतको लहलहैमा लागेर टाढा र साथीहरूको रुचिको विषय पढ्न हिडेको पाइन्छ । जुन उनीहरूको लागि लाभदायक हुँदैन । यस्तो अवस्थामा अभिभावकहरूले सम्झाईबुझाई राम्रो र जीवनोपयोगी विषय सिक्दाका फाइदाहरू बताउनु पर्दछ न कि गाली गरेर वा दवाव दिएर । किशोर अवस्थामा साथी संगतले धेरै ठूलो प्रभाव पारेको हुन्छ । संगत गुनाको फल भन्ने उखान त हामीले सुनेकै छौ । त्यसैले अभिभावकले जहिले पनि आफ्ना बालबालिकाका साथी संगतलाई नजिकबाट बुझनु र पढ्नु पर्दछ । सिपमूलक सिकाई भन्दा वृजकोर्स पढ्न जाने सोच बनाएका छन् भने अभिभावकहरू बढी चनाखो हुनुपर्दछ । कतिपय वृजकोर्स अध्यापन गराउने संस्थाले ठूलो सपना देखाईदिन्छन् । बालबालिकाको स्वभाव कस्तो हुन्छ भन्दा संगसंगै बस्ने बुबाआमा, दाईदिदी र धेरै बर्ष आफूलाई विद्यालयमा पढाएको शिक्षकलाई भन्दा २/३ महिना वृजकोर्स पढाउने सर र सरले देखाईदिएका सपनाहरूलाई बढी विश्वास गर्दछन् । यस्ता कुराहरू अभिभावकले घरको अवस्था, आवश्यकता, बालबालिकाको क्षमता र विविध परिवेशलाई राम्रो संग सम्झाई बुझाई गरेर सहि बाटो देखाउनु र सिकाउनु जरुरी हुन्छ ।
परीक्षा हो, कहिले राम्रो हुन्छ त कहिले सोचे अनुसारको नहुन सक्दछ । परीक्षा सकिएपछि नतिजा प्रकाशित नहुँदासम्म मनमा एक प्रकारको नदेखिन डर र तनाव हुन्छ । त्यसलाई अभिभावकले नजिकबाट बुझनु पर्दछ, सहज वनाउनु पर्दछ । अन्यथा बालबालिकाले अप्रिय निर्णय पनि लिन सक्दछन् । नतिजा प्रकाशित भएपछि विद्यार्थीहरू सोचे अनुसारको नतिजा नआएमा आत्तिने, तनाव लिने, डराउने, डिप्रेसन हुने र कसै कसैले अप्रिय निर्णय लिने हुन्छ । त्यसैले यी सब कुराहरूलाई ध्यान दिएर अभिभावकहरूले समयमै सोच विचार गर्नुपर्ने हुन्छ । कतिपय अभिभावकले बालबालिकालाई प्रलोभन दिनुहुन्छ । यति जिपिए ल्याएमा मोबाइल किन्दिन्छु, ल्यापटप किन्दिन्छु, स्कुटर, वाइक किन्दिन्छु आदिआदि । यस्ता प्रलोभनले होइन घरको अवस्था, आवश्यकता, बालबालिकाको क्षमता, भविष्यमा गर्न सकिने कार्यहरू आदि सबै परिवेश यथार्थ रूपमा बुझाएर उत्प्रेरणा दिनुपर्दछ । असम्भव र रित्तो सपना बाँडेर ल्याएको जिपिए प्रत्युत्पादक पनि हुन सक्दछ । सामाजिक सञ्जालका विज्ञापन, साथी संगत र छिमेकीका छोराछोरीको लहलहैमा लागेर होइन यथार्थ बुझेर, आवश्यकता र समयको माग, पारिवारिक अवस्था, बालबालिकाको क्षमता र रुचि जस्ता सबै कुराहरूमा विचार गरेर बालबालिकालाई एसईई पछि के गर्ने वा गराउने निर्णय लिनु उत्तम हुन्छ ।