© २०२३
बुटवल, ७ चैत । बुटवलमा सम्पन्न प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नं ११ ले चुमेको छ । विहिबार भएको फाईनल खेलमा वडा नं १५ लाई ५–० गोल अन्तरले पराजित गर्दै वडा नं ११ ले उपाधि चुुमेको हो । उपाधिसंग वडा नं ११ नगद १ लाख ११ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता वडा नं १५ भने ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा वडा नं १५ का डेबिड थापा सर्वोत्कृष्ट खेलाडी, वडा नं ११ का अनुप थापा उत्कृष्ट गोलकिपर र वडा नं ११ कै दर्शन बिक सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भए ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा वडा नं १५, रतनपुरको मुक्तिधाम खेलमैदानमा भएको खेलको २५ मिनेटमा वडा नं. ११ का क्याप्टेन अनिल क्षेत्रीले क्रश मार्फत गोल गर्दैै टिमलाई अग्रता लिएको थियो । पहिलो हाफ १ गोलको अग्रता लिएको वडा नं ११ दोस्रो हाफमा भने आक्रमक खेल प्रस्तुत गर्दै गोलको वर्षा गरेको थियो । खेलको ४० औ मिनेटमा दर्शन बिक, ५५ मिनेटमा नवीन थापा, ७३ मिनेटमा दर्शन बिक र अन्तिम समयमा क्याप्टेन अनिल क्षेत्रीले गोल गरे । खेलमा वडा नं ११ का अनिल क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, बुटवल उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष शिव राना, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, वडा नं १५ का वडा सदस्य कुलप्रसाद लम्साल, दुर्गा भवानी टोल विकास समितिका अध्यक्ष सन्तोषमान सिमागैडा, खेल संयोजक राजेन्द्र बुढाथोकी, क्लबका अध्यक्ष मनिष काफलेले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।
फागुन २७ गतेबाट शुरु भएको प्रतियोगितामा बुटवल उपमहानगरपालिकाभित्रका विभिन्न वडाका टिमले भाग लिएका थिए । क्लब स्थापना भएसंगै रक्तदान, लागू औषध दुब्यसनी सम्बन्धि सचेतना, खेलकुद प्रतियोगिता, सेभेन ए साईड प्रतियोगिता लगायत कार्यमा अग्रसर रहदै आएको छ ।