© २०२३
केही दिन पहिले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी नेपाल र दुर्गा प्रसाईको सकृयतामा पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौ फर्कंदा स्वागत गरेको देखियो । स्वागतमा जानेहरू मध्यमा एक हिस्साले सबै राप्रपा वा दुर्गा प्रसाईका समर्थक देखे भने अर्को हिस्साले स्वागत कार्यक्रम कस्तो हुनेरहेछ भनेर हेर्न आएकाहरूको जमात र तेस्रो भनेको राप्रपा र दुर्गा प्रसाईको हैसियत हेर्न आउनेहरूको जमात पनि थियो भन्नेहरू पनि छन् । त्यसमा केही पत्रकारको संख्या पनि थियो भने सुरक्षाकर्मीहरू युनिफर्म र सादा पोशाकमा प्रसस्त थिए । त्यस दिन भएको संख्याको सही कुरा यही हो । विश्लेषकहरूले नेपालका सबै दलका कार्यकर्ता समेत यो यात्रा अवलोकनका लागि पुगेका थिए भन्ने विश्लेषण गरेको पनि सुनियो । पूर्व राजालाई स्वागत गर्न गए भनेर आश्चर्य मान्नुपर्ने केही कुरा वा कारण छैन । अरू दलका नेताहरू विशेष कर्यक्रममा पुग्दा पनि भव्य स्वागत भइरहेको छ । दलमाथिको प्रतिवन्ध हटेपछि दलका नेताहरूलाई स्वागत तथा सम्मान गर्ने क्रम बढेको छ । यो पनि स्वाभाविक हो । आफूले सम्मान गर्न लायक ठानेको व्यक्तिलाई कसैले बोलेर सम्मान गर्छ भने कसैले लेखेर पनि सम्मान गर्छ । कोही सम्वन्धित क्षेत्रमा पुगेर सम्मान गर्छ, कोही आफू बसेको आसनबाटै सदा सम्झना एवं सम्मान व्यक्त गर्दछ । यो आफ्नो रुचिको विषय भयो । शेरबहादुर देउवालाई नेपाली काग्रेसका नेता कार्यकर्ताले जयजयकार गर्छन । स्वागत गर्छन सम्मान गर्छन । अझ ठूलो स्वागत तथा सम्मान बीपी कोइरालालाई गरेको देख्ने यिनै आँखा हुन् । त्यतिवेला पनि बीपीलाई आफ्नो शरीर जस्तै ठान्नेहरू थिए र अहिले पनि बीपीको वारेमा चर्चा भइरहन्छ । यस्तै वामपन्थीका नेता पुष्पलाल देखि यता विभिन्न नेताहरूको सम्मान भएको थियो र अहिले पनि सम्मान कायम छ । विभिन्न कार्यक्रममा हालका चर्चित नेताहरूको स्वागत भइरहेको छ । भोलीका दिनमा समेत यो स्वातगत भइरहने छ ।
नेपालमा शाह वंशीय राजतन्त्रले झण्डै अढाइसय वर्ष शासन गरेको हो । कति पुस्ता वित्यो शासन गरेको र यस्तै शासितहरूको पुस्ता पनि कति वित्यो होला ? पुस्ता भन्दा पनि अढाइसय वर्षको कुरा गर्दा काफी हुन्छ । यतिलामो शासन गरेको संस्थाको अन्तिम राजा त एक पटक मात्र नभएर दुई दुई पटक गद्दीमा बसेका हुन् । दोस्रो पटकको गद्दी आरोहण पछि राजामात्र नभएर स्वघोषित मन्त्रीपरिषदको अध्यक्ष समेत बनेका हुन् । यसलाई एक पटक केलाएर हेर्ने हो भने यो राजसंस्थाबाट स्वार्थ लिएकाहरू कति होलान ? स्वार्थ लिनेहरूका आसेपासे कति थिए होलान ? अनि उनीहरूले वि.पी.को तस्विरमा माला लगाउँछन् ? पुष्पलाललाई मुक्तिकामी नेता भनेर संझन्छन् । मदन भण्डारीलाई जननेता भन्न सक्छन् ? त्यो त कदापी भन्न सक्दैनन् । उनीहरूको आंशिक स्वार्थ पनि वामपन्थी वा प्रजातन्त्रवादीबाट पुरा भएन । आजको मानिसको एउटा हिस्सा स्वार्थमा लिप्त छ । कहाँ पुगेर कसको जयगान गरेपछि आफ्नो स्वार्थ पुरा हुन्छ भन्ने दाउँमा लाग्नेहरूको एउटा गतिलो हिस्सा छ । हामीेले देखिरहेका छौं । आज राजालाई सिधै नारायणहिटीमा लैजाने भनेर लागेका दुर्गा प्रसाई आफ्नो स्वार्थ सिद्धिका निम्ति कतिपटक केपी ओलीको घरमा पुगेका हुन र कतिपटक प्रचण्डलाई मिठो मसिनो खाना खुवाएका हुन् । यस्ता कुरा त समाचारमा निकै पटक आएका हुन त । के त्यतिवेला दुर्गा प्रसाई राजा फर्काउने साउति गर्न प्रचण्ड र केपी ओलीलाई भेटन गएका हुन र ? त्यो त होइन । उनी आफ्नो निहीत स्वार्थको निम्ति गएका हुन् । एउटा दरिलो र बलियो उदाहरण यही हो । यस प्रकारको स्वार्थ प्रवृति भएका व्यक्तिहरूको संख्या दुईचार सय होला कि दुईचार हजार वा लाख होला ? आफै अनुमान गर्न सकिन्छ ।
स्वार्थको कुरा एक पाटोको कुरा भयो । अर्को पाटो के भने लामो समयसम्म राजनीतिक दलका विभिन्न कमिटीमा बसेर दलको धाक दिनेहरू पूर्व राजाले संवैधानिक कू गरेको समयमा जनताका अधिकार बन्धक भएका थिए । कतिपय नेताहरू जेल तथा हिराशतमा वन्दी थिए भने कति आफ्नै घरमा नजरवन्दमा राखिएको थियो । हो त्यही अवस्थामा केही व्यक्तिहरू दल त्याग गरेर राजाको संवैधानिक कूको पक्षमा वकालत गरेर हिंडको देख्नेहरू अहिले पनि धेरै ज्यूँदै छन् । अर्थात दलमा लागेका व्यक्तिहरू पनि स्वार्थका निम्ति दलमा लाग्ने र दल बदल गर्ने कारण यही हो । सिद्धान्त बुझ्नु,सुन्नु केही छैन निधारमा टिका लगाएको भरमा दल परिवर्तन गर्नेहरू नढाँटि भन्नुस आजसम्म तपाईले कतिजना देख्नु भएको छ ? यो दल वदल गर्नेहरू संख्या राजाको स्वागतमा जाला कि नजाला ? दुर्गा प्रसाईले बैंकबाट ऋण लिएको मिनाह हुनुपर्छ भनेर कहिले कुन कुना र कहिले कुन कुनामा उकासी रहेकाछन् । आफूले खुशी राजीले लिएको बैंकको ऋण तिर्न पर्दैन या मिनाह गरिदिन्छ भनेर भ्रम पाल्नेहरूले राजा आउ भन्नु के आश्चर्य कुरा भयो ? त्यो दल वदल गर्ने जमात र दुर्गा प्रसाइको भ्रमको खेतीमा लाग्ने जमात कति परिष्कृत होला ? कति दृढ मनोवालको साथ त्यो जमातले राजालाई नाराहिटीमा सुरक्षित अवतरणमा साथ देला ? राज्य व्यवस्था कसरी हत्याउने र कसरी टिकाउने भन्नेकुरा राज्य संचालकमा हुनुपर्दछ । त्यो भ्रमको खेतीमा आफ्नो श्रमको लगानि गर्नेहरूले दिएको साथ सहयोगले पूर्व राजाले म पुनः राजगद्दीमा बस्छु भन्ने सपना देख्नु भनेको हुटिट्याउँले आकाश थाम्न खुट्टा उठाएको जस्तै पक्का हो ।
यो केही होइन भन्नु पनि हुँदैन । किनकी थोरथार कमजोरी गणतन्त्रवादी दलहरूबाट पनि भएका छन् । सबै भन्दा पहिले यसलाई सच्याएर जाने हिम्मत गर्नुपर्दछ । नेता बन्नुको नाममा किलोका किलो सुन ओसार पसार गर्ने र मानव तस्कर गर्ने गरेको तर्फ पनि ध्यान दिनु पर्दछ । देशको ढुकुटीमा धमीरा बनेकाहरू जेलका छिंडीमा हुनुपर्ने समयमा अहिले पनि जयजयकारको खोजी गर्दै लाज पचाएर नागरिकमा माझमा पुगेका छन् । कति जनाले मुद्दा खेपेका छन् कति कारवाहीमा परेका छन् कति आरोपित छन् ?उनीहरूको दोषको हिसाब किताव गर्नु पर्दैन ? सजिलो गरी राजवादीलाई लल्कारेर मात्र हुन्छ ? हिंजो विभिन्न काण्डका कुरा उठे तर ती उठेका कुरा पानीको फोका जस्तै भए यसबाट नागरिकले जे गरे पनि स्वागत र समर्थन गर्छन भन्ने भ्रम भएर हो ? नागरिकहरू कसैको पेवा होइनन् । उनीहरू विचार रोज्न स्वतन्त्र छन् । उनीहरू अहिले पनि तुलना गरेर बसेको छन् । राणा भन्दा पञ्चायत सही कि खराव ? पञ्चायत भन्दा बहुदल सही कि खराव ? बहुदल भन्दा लोकतन्त्र वा गणतन्त कति मात्रामा ठीक वा वेठीक ? फेरी राजतन्त्र आयो भने पारस शाहको शासन कस्तो होला ? यो पनि नियाली रहेकाछन् । २०६२÷ण्टघको जनआन्दोलनमा राजनन्त्रको विरुद्धमा नारा लागेको अझै कानमा गुञ्जिरहेको छ । अहिले स्वार्थवस लागेकाहरूले तत्काल आफ्नो भागमा ठूलो डल्लो पर्छ भन्ने ठानेका छन् भने यो पनि भोली गलपासो हुने छ । यसकारण मानिस स्वतन्त्र प्राणि हो क्षणिक स्वार्थको लागि आफ्नो स्वतन्त्रता गुमाउनु कति उपयूक्त हुन्छ ? एक पटक गम्भिर भएर सोच्नुका साथै यस्तै गम्भिर भएर आफूलाई फर्किएर पनि हेर्नुपर्ने वास्तविक समय आएको छ ।