© २०२३
देश संघीयतामा गएपछि दोश्रोपटक नेपाली जनताले प्रदेश र केन्द्रिय प्रतिनिधिसभाको लागि सदस्य चुन्दैछन् । ५ वर्ष पहिले संघीयताको पहिलो अभ्यासको लागि नागरिकहरुले मतदान गर्दा निकै उत्साहित थिए । नेपालमा नौलो अभ्यास बन्दै गरेको प्रदेश अनि पहिलो निर्वाचित गणतान्त्रिक सरकार गठनको लागि थुप्रै सपनाहरु पालेर नागरिकले उत्साहप्रद ढंगले मतदान गरेका थिए । तर , चुनावपछि प्रदेश र संघीय सरकार चलाउनेहरुले देश र जनताप्रति गरेका घात, वेवास्ता, भ्रष्टाचार, मनोमानी, कानुनी शासनको उपहास जस्ता कुराले नागरिकहरुमा व्यवस्था प्रति नै एक किसिमको वितृष्णा उत्पन्न गराएको छ । चुनावमा गरेका वाचा र दलीय सिद्धान्तलाई कुल्चेर सत्ताको लागि जे पनि गर्न तयार हुने नेताहरुको व्यवहारले गर्दा पछिल्ला दुई वर्षमा नेपाली नागरिकहरुले जुन बेथिति देख्नुप¥यो, त्यसले गर्दा प्रदेश खारेजी र व्यवस्था नै परिवर्तनको लागि झिनो भएपनि जनमत तयार भैरहेको महसुस धेरै नेपालीहरुले गरेकै हुन् । दल र नेताहरुप्रति वितृष्णा बढिरहेको अवस्थामा चुनाव घोषणा भएपछि भने नेपालीहरु फेरी एकपटक नेपालका दलहरुले अब त केहि गर्लान भन्ने आशाले भोट हाल्न तयार भएर बसेका छन् । नागरिकहरुमा ५ वर्ष पहिलेको जस्तो उत्साह छैन र राजनैतिक परिदृश्यहरु पनि विगतका जस्ता छैनन् , तैपनि चुनाव हुनेछ, थुप्रै असन्तुष्टी हुँदाहँुदै पनि नागरिकहरुले भोट पनि हाल्नेछन् ।
संघीयता र गणतन्त्र नेपाली नागरिकहरुको नाममा नेपालका ठूला दलहरुले ल्याएका हुन् । अर्को ठूलो परिवर्तन नहुँदासम्म नेपाली नागरिकहरुले यही ब्यवस्थालाई व्यवस्थित बनाउन र यसै व्यवस्थाबाट सुशासन र समृद्धि ल्याउनको लागि भोट हालिरहनु पर्नेछ । व्यवस्थाप्रति असहमति राख्दै व्यवस्था परिवर्तन गर्ने चाहाना राख्नेहरुले पनि आफ्नो पक्षीय मान्छेलाई संसदमा पु¥याउनको लागि पनि निर्वाचनमा भाग लिनुपर्ने बाध्यता छ । त्यसैले नेपालमा अहिले यो व्यवस्था सर्वश्रेष्ठ छ भन्नेहरु र यो व्यवस्था ठिक छैन भन्ने दुबैथरी मानिसहरु चुनावी प्रतिष्प्रर्धामा छन् । नागरिक समुहहरु पनि अहिले यिनै दुई कित्तामा विभाजित छन् । यस्तो अवस्थामा आम निर्वाचनमा नागरिकहरुको सहभागिता र छनौट विगतमा भन्दा बढी महत्वपूर्ण हुने निश्चित छ । चुनाव मुखैमा अईसकेकोले प्रत्येक मतदाताले देशको अधिकतम कल्याण गर्न सक्ने योग्य उम्मेदवारले चुनाव जितोस भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ । यसको लागि निम्न तिन पक्षमा सतर्कता अपनाउनु जरुरि छ ।
राम्रो उम्मेदवारको निर्धारण
धेरै मतदाताहरु दलका भक्तहरु छन् । अरु बेलामा दल र नेताहरुले केही गरेनन, नेताहरु खराब भए, व्यवस्था नै ठिक भएन भन्दै चिच्याउनेहरू अहिले दलका उम्मेदवारलाई जिताउन मरिहत्ते गरेर लागेका छन् । प्रजातान्त्रिक र दलीय संस्कार राम्ररी विकास नभएको अवस्थामा दलले उठाएका उम्मेदवारलाई राम्रो ठान्नु र उसलाई भोट दिनुपर्छ भन्ने ठान्नु स्वाभाविक पनि हो । कार्यकर्ताले दलका खराब व्यवहार र खराब मान्छेलाई सबक नसिकाउने हो भने नेपालको आर्थिक सामाजिक अवस्था कहिल्यै सुधार हुनेवाला छैन । अहिले नेपाल जटिल आर्थिक, सामाजिक र राजनीतिक मोडमा छ । यस्तो अवस्थामा दलीय चश्माले उम्मेदवारलाई नहेरी देशको भविष्यको दृष्टिबाट उम्मेदवारलाई हेरेर को सही ? को गलत ? भन्ने कुराको विश्लेषण गर्नुपर्छ । सकेसम्म आफ्नो आस्था भएको दलमा राम्रो मान्छे छ भने उसैलाई भोट दिनुपर्छ. तर दलले उठाएका उम्मेदवारको विगतको व्यवहार र क्षमता समाज र सभ्यतामैत्री छैन भने अरु उम्मेदवारलाई भोट दिने हिम्मत पनि गर्नुपर्छ । यसो गर्दा एकपटक आफ्नो दलले नजित्ला तर आउँदा दिनमा योग्य व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने रहेछ भन्ने चेत खुल्नेछ ।
राम्रो उम्मेदवार जुनसुकै उमेर समूह, वर्ग, जातीय र भौगोलिक समूह तथा विभिन्न दलमा हुन् सक्छन् । यी मध्ये कुनलाई राम्रो भनेर छान्नु सजिलो काम पक्कैपनि हैन । अर्काले बनाईदिएको राम्रो उम्मेदवारको मानक आफुलाई चित्त नबुझ्न पनि सक्छ । त्यसैले राम्रो मान्छे हो कि हैन भन्ने कुराको प्रश्न आफैले आफुलाई धेरैपटक गर्नुपर्छ । सकेसम्म निर्वाचन क्षेत्रकै स्थायी वासिन्दा, सामाजिक, शैक्षिक, पर्यावरण संरक्षण जस्ता कुनै काममा संलग्न भएको, विगतमा कुनै पदमा निर्वाचित वा मनोनित भएको भए सो पदमा बस्दा उसले गरेको कामको समेत मुल्यांकन गर्नुपर्छ । कुनै देखिने ब्यापार व्यवसाय वा पेशामा संलग्न नभएपनि उच्चस्तरको जीवनयापन गरिरहेको व्यक्तिमा कुनै न कुनै खोट छ भन्ने अनुमान गर्नुपर्छ । आफ्नो सिद्धान्तप्रति अविचलित, शिक्षा, स्वास्थ्य, रोजगारी, प्रकृति संरक्षणप्रति प्रतिवद्ध, धरातलीय र वस्तुगत योजनाहरु पस्केको र विगतमा ति कामहरु गर्न तत्परता देखाएको वा देखाउने सम्भावना भएका व्यक्तिमा असल उम्मेदवारका गुणहरु हुन्छन् । चुनावमा भोट हाल्न जानु केही दिनअघि नै यी कुराको विश्लेषण गर्दै अरुको राय समेत बुझी भोट हाल्ने व्यक्ति निश्चित गर्नुपर्छ ।
निर्वाचनमा उच्च सहभागिता
भनिन्छ– “असल मतदाताले चुनावमा सभागिता नजनाउँदा खराब उम्मेदवारले चुनाव जित्छन र असल मानिसहरु माथि शासन चलाईरहन्छ्न् ।” अहिलेको व्यवस्था अनुसार जतिसुकै कम भोट ल्याएपनि प्रतिद्वन्दीले भन्दा एकभोट बढी ल्याउनेले चुनाव जित्छन् । त्यसैले उम्मेदवार चिन्न सक्ने मानिस मतदान गर्न नजाँदा दलहरुलाई दुख लाग्दैन । “गतिलो उम्मेदवार नै छैन, कसले जितेर के हुन्छ ?“ भन्ने सोच्ने तटस्थ मतदाताको कारण दलहरुले निर्वाचनमा कुकुर नै खडा गरेपनि दलका कार्यकर्ताहरुले जिताएर पठाउने अवस्था छ । जनताको व्यवस्था भनिएपनि २५ देखि ४० प्रतिशतसम्म मतदाताहरुले चुनावमा भोट नखसालेको विगतको निर्वाचनले देखाएको छ । अघिल्लो संसदीय चुनावमा नेपालमा प्रतिनिधिसभा तर्फ ६८.६६७ प्रतिशत मात्र मत खसेको थियो । सो निर्वाचनमा लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा ७० देखि ७७ प्रतिशत भोट खस्दा पहाडी जिल्लाहरुमा ६३ देखि ६५ प्रतिशतसम्म मात्र भोट खसेको थियो । समाजलाई बुझेका र उम्मेदवारलाई प्रश्न गर्न सक्ने व्यक्तिहरुले बढी भन्दा बढी चुनावमा सहभागी भएर “हाम्रो हैन, राम्रो मान्छेलाई मतदान“ गर्ने हो भने दलका अन्धभक्त, मासु र पैसामा बिकेकाहरुको भोट निर्णायक हुन पाउदैन र प्रदेश÷संघीय सभा र सरकारमा असल र योग्य मानिस पुग्न पाउनेछन् ।
बदर मतसंख्यामा न्यूनीकरण
मत बदर नेपालको चुनावको ठूलो समस्या हो । २०७४ सालको निर्वाचनमा नेपालमा खसेका कूल मतहरु मध्ये ५.१७८ प्रतिशत अर्थात ५ लाख ४८ हजार ५७० मत बदर भएका थिए । उक्त निर्वाचनमा रोल्पामा ७.६ प्रतिशत र प्युठानमा ७.१ प्रतिशत मत बदर भएका थिए । उत्साहपूर्वक मतदानमा सरिक भएका यति धेरै नागरिकमा मतहरु खेर जानुबाट पनि असल उम्मेदवार चुनिनमा बाधा पुगेको हुन्छ । अघिल्लो चुनावमा दल र उनीहरुका उम्मेद्वारहरु निस्चित भएकाले मतदातालाई चुनाव चिन्ह सम्झेपुग्थ्यो तर अहिले दलीय गठजोडका कारण कुन दलको उम्मेदवार कुन हो ? कुन उम्मेदवारले प्रदेश वा प्रतिनिधिसभा मध्ये कुनमा भोट मागेको छ भन्ने कुरा बुझ्न नै गैह्र राजनैतिक मान्छेलाई गाह्रो छ । खासगरि पाका पुस्ता र राजनीतिमा खासै चासो नराख्ने सामान्य मतदानमा झुक्किने र एउटा तहको उम्मेदवारलाई हाल्नुपर्ने भोट उस्तै चुनाव चिन्ह भएको अर्को तहको लागि तोकिएको मतपत्रमा छाप लगाउने सम्भावना धेरै छ । अहिले चार ठाउँमा अलग अलग मतपत्र लिएर छुट्टाछुट्टै बाकसमा खसाल्नुपर्ने व्यवस्था छ । यस्तो व्यवस्थाले मतगणनामा सहजता ल्याउने भएपनि मतदाता झुक्किने सम्भावना धेरै छ । मतदाताहरुले पहिलो मतपत्रमा प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवारलाई, दोश्रो मतपत्रमा प्रतिनिधि सभाको समानुपातिक तर्फ दललाई, तेश्रो मतपत्रमा प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारलाई र चौथो मतपत्रमा प्रदेश सभाको लागि दललाई समानुपातिक तर्फको भोट खसाल्न पाइन्छ भन्ने कुरा आफ्mूले राम्ररी सिक्न र नबुझेकालाई सिकाउनु जरुरी छ । प्रत्येक मतपत्रमा आफुले भोट दिने उम्मेदवारको चिन्ह सम्झने हो भने मतदानमा अलमल हुुनुपर्दैन र मत बदर हुने सम्भावना पनि कम हुनेछ ।
संसदीय चुनाव आउँदा दिनहरुमा देशको अवस्था कस्तो बनाउने भन्ने छनौट गर्ने अवसर हो । नियमित प्रक्रिया अनुसार चुनाव अर्को ५ वर्षमा फेरी पनि आउनेछ, तर अहिले हामीले योग्य व्यक्तिलाई छनौट गर्न सकेनौ भने ५ वर्षमा धेरै कुरा गुमाईसकेका हुनेछौ. । चुनावको बेलामा आफ्नो दल वा आफ्नो मान्छे भन्दै खराब व्यक्तिलाई संसद र सरकारमा पुग्ने बाटो तयार गरिदिने अनि त्यसपछ्किा समयमा नेताहरुले गर्दा देश बिग्रियो भन्दै चिच्याउनुको अर्थ रहदैन । हामी मतदाताहरु निर्वाचनको दिनमा मात्र पनि अलि सचेत हुने हो भने सकेसम्म असल मान्छे र त्यो नभएमा खराबहरु मध्ये पनि कम खराब मान्छेले हामीमाथि र हाम्रो लागी शासन गर्न पाउनेछ । यसो हुन सकेमा मात्र देशमा सुशासन अनि समृद्धिको आधार तयार हुन सक्नेछन् ।