© २०२३
सल्यान, १६ फागुन ।
सल्यान जिल्लास्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजनामा तथा कुमाख गाउँपालिकाको आर्थिक सहयोगमा जिल्लाको कुमाख गाउँपालिका २, नेटामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले खेल क्षेत्रको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै अब खेल पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “स्थानीय तहले सडक निर्माण मात्र नभइ स्तरीय खेलकुद मैदान निर्माणमा समेत ध्यान दिनुपर्ने छ। पछिल्लो समय खेलकुद गतिविधि बढ्दै गएको छ र जिल्लालाई खेलमय बनाउन प्रदेश सरकारले प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दछु।”
यस्तै कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले खेललाई मर्यादित र अनुशासित बनाउन सबै पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आर्थिक र भौतिक रूपमा सहयोग गर्न सबैलाई आग्रह गरे।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले बजेट अभावका कारण जिल्लामा खेलकुद विकासमा समस्या भइरहेको बताए। प्रतियोगितामा जिल्लाका १० स्थानीय तहका करिब ९०० खेलाडी सहभागी छन्। छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स तथा मार्सल आर्टका विभिन्न प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद समिति सल्यानले जनाएको छ। खेल व्यवस्थापनका लागि ४८ जना रेफ्रीसहित १०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको जिल्ला खेलकुद समिति सल्यानका अध्यक्ष खड्क आचार्यले जानकारी दिए।
कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकी, बागचौर नगरपालिकाका प्रमुख जनक गौतम, कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढा, कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकी, दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, त्रिवेणी गाउँपालिकाका कार्यवाहक अध्यक्ष छबिराज शर्मा, शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, कुमाख गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर रावत, सिद्ध कुमाख गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतले शुभकामना मन्तव्य राखेका थिए।
त्यसैगरी कुमाख गाउँपालिकाका पूर्व अध्यक्ष दिलमाया बुढामगर, नेपाली कांग्रेस क्षेत्रीय सदस्य इन्द्रराज शर्मा, नेकपा एमालेका सचिवालय सदस्य दिनेश रावत, नेकपा माओवादी केन्द्र सल्यानका सचिव कृति बहादुर पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष प्रकाश नेपाली, नेकपा एकीकृत समाजवादी सल्यानका सचिव रमेश गौतम, नेकपाका केन्द्रीय सदस्य भीम सी, कुमाख गाउँपालिका–२ का वडाध्यक्ष ईश्वरी शाही, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत लगायतले पनि मन्तव्य प्रस्तुत गरेका थिए।