जितपुर, १४ फागुन।
दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा सङ्कटा फुटबल क्लबले विजयी सुरुवात गरेको छ। बुधबार भएको प्रतियोगिताको उद्घाटन खेलमा सङ्कटाले आयोजक कपिलवस्तु – ११ लाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको अन्त्यतिर थप गरिएको २ मिनेटमा उत्तम शाहीले निर्णायक गोल गर्दै सङ्कटालाई जित दिलाए।सङ्कटाका नायक बनेका उत्तम शाही खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे, जुन युवा व्यवसायी तथा समाजसेवी आशिष शर्माले प्रदान गरेका थिए।
यस हारसँगै आयोजक कपिलवस्तु ११ प्रतियोगिताबाट बाहिरिएको छ, भने सङ्कटा क्लबले सेमिफाइनलमा स्थान बनाएको छ। प्रतियोगिताको अर्को खेल बिहीबार दिउँसो ३ बजे मछिन्द्र एफसी र हिमालयन शेर्पा एफसी बीच हुनेछ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ रुपैयाँ, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।



