© २०२३
२०२० सालमा नेपाल रेडक्रस सोसाइटीको स्थापना भएपछि यसको विस्तार विद्यालय र महाविद्यालय (क्याम्पस) हरूसम्म फैलियो । विद्यालयमा जुनियर रेडक्रस सर्कल र क्याम्पसमा युवा रेडक्रस सर्कलको रूपमा । २०४२ सालमा म पनि जुनियर रेडक्रस सर्कलमा आवद्ध भएँ, कक्षा ८ मा पढ्दाताका । गुल्मी जिल्ला धुर्कोट गाउँपालिकाको नयाँगाउँ वडास्थित नयागाउँ माविमा २०४२ सालमा जुरेसको स्थापना भयो र कार्यसमितिकालागि चुनाव गरियो । नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दुई प्यानल भई चुनाव लडियो । म पनि नेवि सङ्घको प्यानलबाट सचिव पदमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएँ । यसरी रेडक्रसमा प्रवेश गरेँ । त्यसैगरी धुर्कोटकै बस्तुवडास्थित हिमालय माविमा कक्षा १० मा पढ्दाताका पनि जुरेसको अध्यक्ष निर्वाचित भई सेवा गरेँ । त्यस्तै गुल्मी जिल्ला सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसमा प्रविणता प्रमाण पत्र तह (आइए) पढ्दाताका २०४६ सालमा युवा रेडक्रस सर्कलमा नेवि सङ्घको प्यानलबाट सर्वाधिक मत प्राप्त गरी सचिव पदमा निर्वाचित भएँ । त्यसैगरी स्नातक तह (बिए) पढ्दाताका २०४८ सालमा अध्यक्षमा निर्विरोध निर्वाचित भएको थिएँ ।
यसैबिच २०५१ साल (सन् १९९४) मा जापानीज रेडक्रस सोसाइटीले राजधानी टोकीयोमा रेडक्रस युवा अन्तराष्ट्रिय मैत्री बैंठक (RCY International Friendship Study Meeting 1994) आयोजना ग¥यो । नेपाल रेडक्रस सोसाइटी (नेरेसो)लाई एक जना उत्कृष्ट युवा प्रतिनिधी छनौट गरी पठाउन भनि पत्र प्राप्त भयो । रेडक्रस गुल्मी जिल्ला शाखालाई नेरेसोले जिल्लाबाट एक जना युवा प्रतिनिधी छनौट गरी राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि पठाउन अनुरोध पत्र प्राप्त भयो । शाखाका कर्मचारी अनुराम पाण्डेले सो पत्र मलाई पनि देखाउनुभयो । रहर जाग्यो । म त्यसबेला युवा रेडक्रस सर्कल रेसुङ्गा क्याम्पसको अध्यक्ष र गुल्मी रेडक्रसमा सञ्चालित स्विडीस रेडक्रसको सामुदायिक विकास परियोजनामा ऋण विस्तार सहायक पदमा कार्यरत भएकाले अनुभव र योग्यताको कमी महसुस भएन । रेसुङ्गा क्याम्पस प्रमुख एवं नेरेसोका सहमहामन्त्री शशि पन्थीसँग कुरा राखेँ । उहाँले प्रेरित गर्नुभयो । अनुभवका पत्रहरू बनाउन सिकाउनुभयो । रेडक्रस गुल्मी शाखाले पनि प्राथमिक उपचार र दैवी प्रकोप उद्धार प्रशिक्षकको रूपमा सेवा अनुभव प्रमाणित गरिदियो । साथै रेडक्रस गुल्मी शाखाले एकमात्र युवा प्रतिनिधीको रूपमा सिफारिस गरीदियो । नेरेसो केन्द्रिय कार्यालयको मुल्याङ्कन समितिले गतिविधि र अन्तरवार्ता विधिबाट परीक्षा लियो । परीक्षामा सहभागी देशभरका २४ युवा रेडक्रस सर्कलका प्रतिनिधी मध्येबाट म प्रथम छनौट भएँ । यसरी रेडक्रस युवा अन्तर्राष्ट्रिय मैत्री बैंठकमा भाग लिने अवसर जु¥यो । यो दुर्लभ अवसर थियो । व्यक्तिगत खर्चमा जो सम्भव थिएन । आवत जावातको हवाई टिकट र १५ दिने बैंठक अवधीको बसाईको खर्च व्यवस्था जापानीज रेडक्रसले व्यहोरेकाले सम्भव भएको हो । त्यसबेला जापान भ्रमण गर्न पाउनु दुर्लभ अवसर थियो । जापानमा नेपालीको सङ्ख्या औंलामा गन्न सकिन्थ्यो, त्यसबेला । अहिले जस्तो पढ्न र काम गर्न जानकोलागि जापान खुला थिएन । त्यसबेला राहदानी (पासपोर्ट) प्राप्त गर्न पनि कठिन थियो । परराष्ट्र मन्त्रालयको राहदानी शाखामा निवेदन दिएको दुई महिनामा राहदानी पाउन सकिन्थ्यो, सर्वसाधारणले । नेरेसोको सिफारिस पत्र र मेरो मावली दाजु डा. हरि बहादुर केसीको गाउँले साथी परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत रहेकाले एकैदिनमा सहजै राहदानी मिल्यो । भ्रमणको अवसर छुटेन । रेडक्रसको मानवतावादी अभियानमा सक्रिय युवाहरूको जापानीज रेडक्रस सोसाइटीबाट २४ नोभेम्बरदेखि ९ डिसेम्बरसम्म आयोजित रेडक्रस युवाहरूको अन्तर्राष्ट्रिय मैत्री बैठक १९९४ मा नेरेसोको युवा प्रतिनिधीको रूपमा प्रतिनिधीत्व गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा थियो । नेपाल, बङ्गलादेश, फिलिपिन्स, फिजी र सिङ्गापुर पाँच राष्ट्रका रेडक्रस सोसाइटीका युवा प्रतिनिधी र जापानीज रेडक्रस सोसाइटीका युवा समुहहरूवीच भूगोल, संस्कृति, जीवन पद्धती, शिक्षा प्रणाली, सामाजिक पद्धती, रेडक्रसद्वारा सञ्चालित योजना, कार्यक्रम, गतिविधि र युवा गतिविधी बारेमा अनुभव एवं विचार आदान प्रदान र छलफलको माध्यमबाट अन्तर्राष्ट्रिय मित्रता र समझदारी एवं युवा गतिविधिमा थप सक्रियता ल्याउने उद्देश्यले सो बैंठक आयोजित थियो । रेडक्रसका ७ सिद्धान्त मानवता, एकता आदीको प्रचार प्रसार र योगदानमा थप गतिशिलता र युवा सक्रियता बढाउने उद्देश्य पनि सो बैंठकको थियो । तीन दशक अघिको सो बैंठकका लागि सूर्योदयको देश जापान भ्रमणको यात्रा संस्मरण पस्किने अनुमति चाहन्छु, पाठक वर्गसँग ।

२३ नोभेम्बर –
२२ वर्षे युवा उत्साह र उमङ्ग बोकेर २३ नोभेम्बरको दिन अपरान्ह निर्धारित समयमै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेँ । मावली दाजु विष्णु केसी र मित्र मनिराम खवास विदाइका लागि साथमा गएका थिए । एयरपोर्टमा ३० रूपैयाँ कपको चियाको स्वाद लियौं । जीवनमा पहिलो पटक हवाई जहाजको अनुभव गर्दैछु, त्यसमा पनि बोइङ्ग जहाज । के कसो होला भनि मनमा कौतुहलता छ । अनुभवको कमी छ । तै पनि जहाज चढ्नु अघिका प्रक्रिया सहजै पुरा गरेँ । बोइङ्ग भरीभराउ थियो । सबै विदेशी अनुहार । नेपाली भाषी र अनुहार नदेख्दा आत्तिएँ पनि । एयर होस्टेसको सहायताले कम्मर पेटी बाँधे । बैङ्कक ट्रान्जिट थियो । यो समस्या कसरी पार गर्दै जापान पुग्नेहोला भन्ने चिन्ताले मन भारी थियो । पाँच घण्टा बैंङ्कक एयरपोर्टमा प्रतिक्षा गरी अर्को जहाज बदल्नु मेरालागि महाभारत बराबर थियो । अझ रातको समय । असहायको दैव साहारा भने झैं मेरो छेउका पाँच सिटमा पोखरा र चितवन भ्रमणपछि स्वदेश फर्कदै गरेका पाँच जापानी महिला यात्रु थिए । उनीहरूलाई साथी बनाएँ । उपहार स्वरूप चाउचाउ, डट्पेन र खुकुरी दिएँ । भाषाको समस्या छ, सम्बादकोलागि । उनीहरू अङ्ग्रेजी नबुझ्ने, मैले जापानीज नबुझ्ने । अङ्ग्रेजीमा कुरा गर्दै आफु जापानमा रेडक्रस युवाहरूको अन्तर्राष्ट्रिय बैंठकमा भाग लिन जान लागेको र एक्लै भएको कुरा बुझाएँ । उनीहरू प्रभावित भए । बैंङ्ककमा मेरो झोला बोकी दिने, बोडिङ्ग पास लिइदिने, राहदानी सम्बन्धीत निकायमा बुझाइदिने लगायतका काम उनीहरूले गरिदिई सहयोग गरे । रातको अन्दाजी दुई बजेतिर हामी बैंङ्कक एयरपोर्टबाट नरिता इन्टरनेशनल एयरपोर्ट जापानकालागि उड्यौं । नरितामा ओर्लदा बिहान उज्यालो हुँदै थियो । म निदाएको रहेछु । ति महिलाले मलाई जगाए । विमानस्थलमा चेकजाँचपछि कर्मचारीले मलाई जापानीज रेडक्रस सोसाइटीबाट प्रतिनिधि लिन नआएसम्म प्रवेश अनुमति नदिने अडान लिए । ति महिलाले मलाई छुटाउन प्रयत्न गरे । एयरपोर्टका कर्मचारीले जापानिज रेडक्रसको केन्द्रिय कार्यालयमा फोन गरिदिए । केही घण्टापछि जापानीज रेडक्रसका युवा कार्यकर्ता मलाई रिसिभ गर्न नरिता एयरपोर्ट आइपुगे । त्यतिन्जेलसम्म ती पाँच महिला दिदीहरूले मलाई छोड्नु भएन । मलाई जापानीज रेडक्रसका प्रतिनिधीलाई जिम्मा लगाएपछि मात्र बिदा भए । भाषाको समस्याले सहज सम्बाद गर्न सकिदैनथ्यो । तैपनि ति पाँच दिदीहरूले मलाई पूर्णरूपले साथ सहयोग दिए । उहाँहरूको नाम ठेगाना नटिपेकोमा मलाइ अहिले पछुतो लाग्छ । ति दिदीहरू को होलान ? जसले मलाई अमेट्य प्रभाव छोडेका छन् । ति सहयोगी र सहृदयी पाँच दिदीहरूलाई नमस्कार छ ।
२४ नोभेम्बर –
विहान ७ बजे नरिता इन्टरनेशनल एयरपोर्टमा उत्रेको थिएँ । सुरक्षा र बैधानिकता परिक्षणका प्रक्रियाहरू पुरा गरी जापान प्रवेश अनुमति पाउना साथ एयरपोर्टमै फिजी र बङ्गलादेशका प्रतिनिधीसँग पनि भेट भयो । जापानीज रेडक्रसका युवा Mr. Hasegawa सँग हामी टोकियोस्थित जापानीज रेडक्रस केन्द्रिय कार्यालयतर्फ प्रस्थान ग¥यौं । त्यहाँ हामीलाई Mr. Shimamoto, Mr. Take लगायतका केन्द्रिय कार्यालयका अधिकृतहरूले स्वागत गरे । परिचय सकिएपछि डिनर लियौं । १५ दिने कार्यक्रम र आवासबारे जानकारी लियौं । त्यसपछि Mr. Take को साथमा टोकियो टावर, बुद्ध मन्दिर र टोकियो शहर अवलोकन ग¥यौं । पहिलो पटक गगनचुम्बी महल देख्दा चकित परेँ । भौतिक विकासको शिखर चुमेको जापानलाई नजिकबाट अनुभव गर्न पाउँदा भाग्यमानी महसुस भयो । भ्रमणकै क्रममा टेलिफोन कार्ड खरिद र मुद्रा सटहीको काम पनि गरियो । बेलुका फिलिपिन्स र सिङ्गापुरका राष्ट्रिय प्रतिनिधी पनि आइपुगे । जापानीज रेडक्रसका बरिष्ठ अधिकारीहरू र हामी पाँच राष्ट्रिय प्रतिनिधीविच भिन्न भिन्न देशको भुगोल, संस्कृति, चालचलन, परम्परा, रेडक्रस गतिविधिका बारेमा रमाइलो र ज्ञानबद्र्धक कुराकानी भयो । कार्यक्रमको शिर्षक थियो – Red cross Youth International Friendship Study Meeting -1994 . सहभागीहरू – नेपालबाट म, बंगलादेशबाट हुसेन मोहम्मद जोवायर, फिजीबाट विनिता सिंह, सिंगापुरका रिचर्ड चुअलिनयन चुन र फिलिपिन्सका एड्लिन थियौं ।
२५ नोभेम्बर –
मैत्री बैंठकको शुरुवातको दिन । जापानीज रेडक्रस केन्द्रिय कार्यालयका जुनीयर तथा युवा रेडक्रस विभागका अधिकृत Mr. Takehiro Ishikawa ले कार्यक्रमबारे अभिमुखीकरण गराउनुभयो । साथै जापानीज रेडक्रसको इतिहास, महत्वपूर्ण कार्यक्रमहरू, सञ्चालक निकाय र अङ्गहरू, संगठनात्मक स्वरूप, बजेट व्यवस्था आदी विविध विषयमा जानकारी दिनुभयो । हाम्रालागि ति विवरण निकै प्रेरणादायी थिए । जापानमा रेडक्रस निकै प्रभावशाली र विशाल सङ्गठन एवं विकासकोलागि प्रभावकारी संस्था रहेको महसुस गरियो । त्यसैगरी Mr. Kaori Nakagawa ले जापानीज रेडक्रस सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय सहयोग र सहभागीता, NHK Helping Hand Campaign आदीको विषयमा संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो । आजको मुख्य कार्यक्रम जापानीज रेडक्रस सोसाइटीका सभापति Mr. Masayashi Yamamoto सँग भेटघाट छ । हामीलाई उहाँको कार्यकक्षमा पु¥याइयो । हार्दिकतापूर्वक स्वागत र परिचय कार्यक्रम भयो । नेपाल हिमालयको देश भएकाले सुन्दर लाग्दो रहेछ उहाँलाई । ३० मिनेटको समयमा जापानीज रेडक्रस र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा संक्षिप्त विवरण प्रस्तुत गर्नुभयो । अन्तमा आ–आफ्ना राष्ट्रिय सोसाइटीका तर्फबाट पठाइएका उपहार प्रदान गरियो ।
२६ नोभेम्बर
४ दिने कार्यक्रमकालागि हामी कानागावा प्रिफेक्चुरल च्याप्टरतर्फ प्रस्थान ग¥यौं । अत्यन्त रमाइलो र ज्ञानबद्र्धक छ यहाँको कार्यक्रम । कानागावा च्याप्टरका सेक्रेटरी जनरलसँग भेटघाट लगायत रेडक्रसका बरिष्ठ अधिकारीहरू र महत्वपूर्ण परियोजना प्रमुखहरूसँग भेटघाट, विद्यालय भ्रमण, रेडक्रस युवाहरूसँग भेटघाट, छलफल, भ्रमण आदी कार्यक्रम समावेश छन् । अतिथीहरूको स्वागतमा आयोजना गरिने जापानी संस्कृति अनुरूप Flower Ceremony र Tea Ceremony को व्यवस्था गरी हामीलाई यहाँका युवाहरूले उच्च सम्मान दिनुभयो । जापानीज राष्ट्रिय खाना मोची (Rice cake) बनाउने काममा हामीलाई पनि सहभागी गराउनु भयो । साँस्कृतिक आदन प्रदान कार्यक्रममा आ–आफ्ना देशका राष्ट्रिय पोशाक, गीत, सङ्गित, नृत्य, जीवन पद्धती आदी प्रस्तुत गरियो । राष्ट्रिय प्रतिबेदनमा आ आफ्नो देशको भुगोल, सँस्कृती, जीवन पद्धती, सामाजिक पद्धती, शिक्षा प्रणाली र रेडक्रसका गतिविधिहरू बर्णन गरियो । समूहगत छलफलमा मलाई जापानीज युवा साथीहरूले जापानी खाना, जीवन पद्धती, सँस्कृती र माउण्ट फुजी कस्तो लाग्यो भनि प्रश्न गर्नुभएको थियो । होमस्टेको क्रममा म Mr. Katoe को घरमा बसेँ । कार्यक्रममा पुरष र महिला स्वयंसेविकाको बराबर सहभागीता थियो । स्वागत र विदाई समारोह भव्य थिए । प्रशान्त महासागर छेउमा अवस्थीत जोगासिमा पार्कको सुन्दरता मनमोहक लाग्यो । पानोरमा सिटीको दृश्य पनि मानसपटलबाट हट्ने छैन । दृष्टिविहिन केन्द्र र Kisawa Elementary स्कुल भ्रमण ज्ञानबद्र्धक थियो । Kisawa Elementary स्कुलको आफ्नै ब्रोडकास्टीङ्गको व्यवस्था देखेर म चकित परेँ ।
नोभेम्बर ३० – डिसेम्बर ४ सम्म –
यहाँको कार्यक्रममा सेक्रेटरी जनरलसँग भेटघाट, हिरोसिमा सिटी, हिरोसिमा पिस मेमोरियल म्युजियम, रेडक्रसबाट सञ्चालित अस्पतालहरू, रक्त सञ्चार केन्द्र, राष्ट्रिय प्रतिवेदन प्रस्तुत, जापानी रेडक्रस सोसाइटीका गतिविधि प्रस्तुत, युवाहरूविच साँस्कृतिक आदान प्रदान, NHK International Helping Hand Campaign मा सहभागीता, मियाजिमा टापुको भ्रमण, आदि कार्यक्रम प्रमुख छन् । कार्यक्रमलाई Mr. Wakitani ले नेतृत्व गर्नुभएको छ । हिरोसिमा पिस मेमोरियल पार्क र म्यूजियम मानस पटलमा सधै ताजा रहने छ । दोस्रो विश्वयुद्धमा हिरोसिमामा खसालिएको अणुबम, विश्व युद्ध अघिको हिरोसिमा सहर र युद्धपछिको सहरको दृश्य, घाइते मानिसहरूको शारिरीक अवस्था, सैनिक सिविरको दृश्य, शान्तीका लागि हिरोसिमावासीको प्रार्थना आदी घटनाका जीवन्त चित्रहरू देख्दा युद्धप्रति घृणा लाग्यो । युद्धपछि जापानले गरेको पुनर्निर्माण देखेर हामी चकित प¥यौं । मैले हिरोसिमाको रक्त सञ्चार केन्द्रमा रक्तदान पनि गरेँ । जापानी युवा साथीहरूले NHK International Helping Hand Campaign मा सहभागी गराउनुभयो । डेढ घण्टाको सडक सङ्कलनमा ३५ हजार बढी यान सङ्कलन भएको थियो । राष्ट्रिय खाना पकाउने कार्यक्रम पनि आयोजना भयो । मैले भात, तरकारी र मासु पकाएर खुवाएँ । जापानीहरूले खुब मन पराए । जीवनमा पहिलो पटक पानी जहाज चढ्ने अवसर मियाजिमा टापुमा जु¥यो । कार्यक्रम यति व्यस्त थियो कि थकान भएपनि रमाइलो र आत्मिय वातावरणले गर्दा महसुस भएन । एक सय ५० बढी जापानीज रेडक्रसका शिक्षक नायकहरूको सहभागीता रहेको कार्यक्रममा मेरो प्रस्तुती प्रभावकारी भयो ।
डिसेम्बर ५–६ –
ओसाका च्याप्टरमा रेडक्रसका बरिष्ठ अधिकारीहरूसँग भेटघाट, युवा गतिविधिको अवलोकन, अनुभव आदान प्रदान र नारा पर्यटन केन्द्रको भ्रमण कार्यक्रम प्रमुख रूपमा समावेश छन् । नारामा एक हजार पाँच सय वर्ष अघि निर्मित बुद्ध मन्दिर र एसियाको ठूलो बुद्ध मुर्ति देख्दा हर्षाश्रु बगे । नेपालका राष्ट्रिय विभूति शाक्यमुनि बुद्धको जापानी भूमिमा यो सम्मान देख्दा गौरवानुभूति भयो ।
डिसेम्बर ७–८ –
अब बैंठक समापन उन्मुख छ । ७ तारिखमा जापानीज रेडक्रसको केन्द्रिय कार्यालयमा मुख्य रूपले मुल्याङ्कन एवं समिक्षा कार्यक्रम थियो । अध्ययन बैंठक, जापान देश, सँस्कृति र बैंठकको निरन्तरता सम्बन्धमा हामीलाई लिखित र मौखिक प्रश्नहरू सोधिएका थिए । ८ तारिखको मुख्य कार्यक्रम जापानको प्रमुख पर्यटकीय केन्द्र टोकियो डिज्नील्याण्डको भ्रमण छ । विशाल क्षेत्रफलमा फैलिएको यो पर्यटकीय स्थल साँच्चै चित्ताकर्षक लाग्यो । दैनिक लाखौं पर्यटक यहाँको स्वर्गीय आनन्दमा रमाउन आउँदा रहेछन् । पर्यटकको घुँइचो छिचोलिनसक्नु थियो । यसको निर्माण र व्यवस्थापन जापान सरकारले नभई नागरिक स्तरबाट गरिएको रहेछ । साँझ चिवा प्रिफेक्चरका युवा स्वयंसेवकहरूले विदाइ समारोह आयोजन गरे । कार्यक्रममा केन्द्रिय कार्यालयका सबैजसो अधिकृतहरूको सहभागीता थियो । विदाई गित, उपहार आदान प्रदान, जापानीज सँस्कृतिका झलक प्रस्तुत, विदाइ मन्तव्य आदी समावेश थिए ।
९ तारिखमा
फिर्ती प्रस्थान गर्दै टोकियोबाट बैंङ्कककालागि उडियो । बैंङ्ककमा होटल आमारिमा मेरो एक दिने बसाई थियो । बैंङ्कक शहर पनि सामान्य भ्रमण गरियो । बैंङ्ककमा समेत थाइल्याण्ड रेडक्रसका गतिविधिको अवलोकन गर्ने कार्यक्रम समावेश भएपनि त्यहाँको रेडक्रस सोसाइटीसँग सम्पर्क स्थापित गर्न नसकिएकाले त्यो सम्भव भएन । १० डिसेम्बरमा म नेपाल रेडक्रसको केन्द्रिय कार्यालयमा १५ दिने अध्ययन भ्रमणको प्रतिवेदन बोकेर पुग्नु भन्दा पहिले नै जापानीज रेडक्रसले मेरो सहभागीताको मुल्याङ्कन पत्र पठाउँदै “उहाँजस्तो रेडक्रसकर्मीलाई हाम्रो कार्यक्रममा सहभागी गराउन पाउँदा खुशी लाग्यो” भनि लेखेको थियो । RCY International Friendship Study Meeting 1994 अत्यन्तै उत्साहबद्र्धक रमाइलो र ज्ञानबद्र्धक भएको थियो । रेडक्रस मित्र राष्ट्र सोसाइटीविच सुमधुर र प्रगाढ सम्बन्ध विस्तार गर्न यस्तो कार्यक्रमले ठूलो टेवा मिल्छ । अतः यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ । यसबाट युवाहरू रेडक्रस र मानवतावादी कार्यक्रमप्रति आकर्षित हुन्छन् । समाजसेवा र शान्तिको पक्षमा केन्द्रित हुन्छन् । जसले सभ्य समाज निर्माणमा सघाउ मिल्छ ।