© २०२३
लमही, २६ माघ
दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं (हिउँदे) अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।
गाउँसभाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न अधिवेशनमा विभिन्न समितिका संयोजक तथा सदस्यहरूले प्रस्तावहरू प्रस्तुत गरेका थिए । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीका अनुसार, “गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम संशोधन“ प्रस्ताव उपाध्यक्ष कमलापति चौधरीले पेश गरेका थिए ।
त्यस्तै, “गाउँपालिकाको आर्थिक ऐन २०८१“ को संशोधित प्रस्ताव आर्थिक विकास समितिका संयोजक गेमे खड्काले प्रस्तुत गरेका थिए । “राप्ती गाउँपालिका अन्तर्गतका कार्यालयहरूको संगठन संरचना“ सम्बन्धी प्रस्ताव सुशासन समितिका संयोजक देवप्रसाद चौधरीले पेश गरे ।
ती सबै प्रस्तावमाथि व्यापक छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।
सभामा सदस्य रिमबहादुर सुनारी मगरले प्रस्तुत गरेको “आर्थिक वर्ष २०८०÷८१ को वार्षिक सम्पत्ति प्रतिवेदन २०८१“ पनि संशोधनसहित सर्वसम्मत रूपमा पारित भएको छ ।
सभाको शून्य समयमा गाउँसभा सदस्यहरूले जनजीविकाका विविध विषयमा धारणा राखेका थिए। उठेका प्रश्नहरूको सभाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, तथा प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले उत्तर दिए ।
सभाको समापन गर्दै अध्यक्ष विष्टले गाउँपालिकाको विकासका लागि सल्लाह, सुझाव तथा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।