© २०२३
आजदेखि रूपन्देहीका ५८ हजार ८ सय ९८ जना बालिका तथा किशोरीहरूलाई पाठघरको मुखको क्यान्सरविरुद्ध लडन एच.पि. भी. खोप लगाइने भएको छ । विश्व क्यान्सर दिवसको अवसर पारी माघ २२ गते देखि रूपन्देहीमा र चरणबद्ध रूपमा नेपालभरी नै सरकारले एचपिभी खोप अभियान २०८१ सुरु गर्दैछ । सोही अभियान अन्तरगत रूपन्देहीका १६ वटै पालिकाका कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत बालिका तथा किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका किशोरीहरूलाई पनि उक्त खोप लगाइदै छ । जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख चिन्तामणी ज्ञवालीका अनुसार रूपन्देही जिल्लामा दुई चरणमा खोप लगाइँदै छ । पहिलो चरण आज माघ २२ गतेदेखि २९ गतेसम्म बुटवल उपमहानगरपालिकाको १ सय खोप केन्द्रबाट १० हजार ४ सय ३९ जना र सिद्धार्थ नगरपालिकाको ४५ वटा खोप केन्द्रबाट ४ हजार ७८ जना बालिकाहरूलाई खोप लगाइने छ । विश्वमा हरेक बर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ र २०३० सम्म यो संख्या बढेर ७ लाख पुग्ने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । यसले हरेक बर्ष ३ लाख ११ हजार महिलाहरूको मृत्यु हुने र सन. २०३० सम्म यो संख्या ४ लाखको हाराहारीम पुग्ने छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा रहेको विश्व स्वास्थ्य संगठनमा कार्यरत चिकित्सक बताउंँछन ।
एच. पि. भि. भनेको के हो भन्ने जिज्ञासा सबैमा हुन सक्छ । यो एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एच.पि.भि.हो । एच.पि.भि.को २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन र यसमध्ये पनि १६ र १८ प्रजाती क्यान्सरको प्रमुख कारक हुन । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिबाट भएको देखिन्छ । महिलाको पाठेघरको मुखमा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । यो रोगलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ । यो क्यान्सर मुख्यगरेर एच.पि.भि.भाइरसको संक्रमणबाट हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ । नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण देखिएको छ ।
पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिन्छ । शुरुको अवस्थामै यो रोगको पहिचान भयो भने उपचार गरेर निको हुन सक्छ । पाठेघरको क्यान्सर गराउने एच.पि.भि. भाइरस यौन सम्पर्कबाट फैलने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट संक्रमित हुन सक्छन तर अधिकांशमा कुनैपनि लक्षण देखिदैन । उच्च जोखिम भएका एच.पि.भि.संँगको निरन्तर संक्रमणले असामान्य कोशिकाहरूको विकास गराउन सक्छ जुन पछि क्यान्सर बन्न सक्छ । क्यान्सर भएमा के कस्ता लक्षण देखिन्छन भन्ने कुरा जान्नु सबैभन्दा ठुलो कुरा हो । एच.पि.भि. संक्रमण पटक पटक भएर दुई बर्षसम्म संक्रमण रहिरह्यो भने पाठेघरको मुखको क्यान्सर हुनसक्छ । तर एच.पि.भि.संक्रमणको सुरुको अवस्थामा कुनै लक्ष्यण या चिन्हहरू देखिँदैनन् । पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्क पछि रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने र कमजोरी महसुस हुने जस्ता लक्षण, चिन्हहरू देखिन्छन ।
पाठेघरको क्यान्सर हुनबाट कसरी जोगिने भन्ने कुरा सबैले जान्नैपर्ने हुन्छ । एच.पि.भि.संक्रमण र पाठेघरको मुखको क्यान्सर हुने सम्भावनाबाट निम्न दुई तरिकालै सुरक्षित हुन सकिन्छ । यो खोपले एच.पि.भि.संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँंछ । अहिलेको अभियानमा यो खोप कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरूले लगाउनु पर्दछ । ३० बर्ष उमेर कटेका महिलाहरूले पाठेघरको मुखको क्यान्सरको जांँच गराइरहनु पर्दछ । पाठेघरको मुखको क्यान्सरको पहिचान सुरुकै अवस्थामा नै भयो भने उपचार गरेर निको हुन सक्छ । मुलुकभर यो अभियान चल्दै गर्दा यो खोप युवती र किशोरीहरूका लागि मात्र किन भन्ने प्रश्न पनि उठीराखेको छ । यो एच.पि.भि. खोप प्रारम्भिक किशोरावस्थामा लगाएमा बढी प्रभावकारी हुने बताइएको छ । बिशेष त यौन सम्पर्क नगरेका वा त्यो अवस्थामा नपुगेका किशोरीहरूमा यो खोपले प्रभावकारी काम गर्ने हुंँदा पनि यही समुहलाई लक्षित गरेर यो अभियान चलाइएको बताइएको छ । अर्को यो पनि छ कि किशोरीहरूको भि.आइ.ए.जांँच गर्न नमिल्ने हुँदा पनि यो खोप उनीहरूका निम्ति जरुरी भएको हो । यो खोप एक डोज लगाएपछि दोस्रो लगाउन नपर्ने हुंँदा पनि सजिलो छ । पछिल्लो अध्ययन अनुसार यो खोप शत प्रतिशत नै प्रभावकारी देखिएको भनिएको छ ।
गत वर्ष सातै प्रदेशका एक एकवटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६/६ महिनाको फरकमा दूईमात्रा एच.पि.भि.खोप दिइएको थियो । लक्षित उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने हुँदा एच.पि.भी. खोप सेवा विद्यालयमा आधारित खोप केन्द्रबाट दिनु बढी प्रभावकारी देखिएकोले यो गरिएको भनिएको छ । यो खोप तयारी झोलको रूपमा एक मात्राको भायलमा उपलब्ध हुन्छ । एक मात्रा लगाएपछि पूरा मात्रा हुन्छ । यो खोप सुईको माध्यमबाट बायांँ पाखुराको माथिल्लो बीच बाहिरी भागमा मासुभित्र दिनुपर्दछ । यो खोपको प्रभावकारिता सुर्यको प्रकाशबाट घटने भएकोले यो खोप भायलमा सुर्यको सिधा प्रकाश पर्नबाट सुरक्षित गर्नुपर्दछ ।
खोप लगाएपछि निम्नानुसारका सामान्य प्रतिकुल असरहरू हुन सक्छन । सुई लगाएको ठाउंँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने, मांँसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने आदी लक्षणहरू देखिन सक्छन । तर यस प्रकारका प्रतिकूल असरहरू थोरै समयसम्म रहन्छन र प्रायगरेर आफै ठिक हुन्छ भनिएको छ । खोप लगाउन नहुने अवस्थाहरू लक्षित उमेर समूह बाहेक अन्य व्यक्ति, गर्भवती अवस्थाका किशोरी वा महिला आदी र विगतमा कुनै खोप लगाउँदा गम्भीर एलर्जी वा प्रतिक्रिया भएको ब्यक्तिहरू छन । विगतमा कुनै खोप लगाउँदा चक्कर लागेर ढल्ने जस्ता समस्या देखिएकाले पनि यो खोप नलगाउँदा राम्रो भनिएको छ । महिनावारी भएको बेला पनि यो खोप लगाउन सकिन्छ । महिनावारीमा एच.पि.भी.खोपको कुनै भूमिका हुँदैन । त्यसैले यो खोपले महिनावारी ढिलो, छिटो हुने जस्ता कुनै किसिमका असरहरू गर्दैन भनिएको छ । खासमा यो खोप बारेमा शंका गर्नुपर्ने केही छैन । नौ बर्ष पहिले नै यो खोप नेपालमा आइसकेको हो । त्यतिबेला महंगो भएकोले सिमित मात्रामा नेपालमा ल्याइएको खोप चितवनका केही किशोरीमा मात्र लगाइएको थियो । बिचमा कोरोनाको महामारीले विश्व नै कोभिडको खोप र त्यसैको तयारीतिर ध्यानमा लाग्यो र यो खोप ओझेलमा पर्यो । त्यतिबैला मुलुकमा कोभिड लागेका मानिसलाई कसरी जोगाउने भन्नेमा नै स्वास्थ्य बिभाग लाग्यो । एच.पि.भी. खोप भन्दा कोरोनाको खोप खरिद गरेर मानिसलाई जोगाउन जरुरी थियो । जसले धेरै पछि यो खोप अभियानका रूपमा बल्ल स्वास्थ्य विभागले विश्व स्वास्थ्य संगठनसंँग समन्वय गरेर किनेर ल्याएको छ । यो पटक अभियानका रूपमा खोप लगाईएपनि अर्को बर्षदेखि फागुनमै १० देखि १४ बर्षसम्मका किशोरीका निम्ति नियमित खोपका रूपमा यो खोप लगाइने बताइएको छ ।
अन्तमा जो कसैले अथवा किशोरी, युवतीका अविभावकहरूले यो खोपमा शंका गरेर खोप लगाउनबाट छुटाउने काम नगर्नु होला । हामीले देखेका थियौ– कोभिड बिरुद्धको खोप आइसकेपछि पनि त्यो खोपमाथि शंका गरी नलगाउने कतिपय धेरै जान्ने छु भन्नेहरूकै आफन्त र स्वयं आफैले ज्यान गुमाउनु परेको थियो । आफ्ना छोरीहरू बिद्यालयको खोप अभियानको दिनमा बिरामी छन भने अन्य बिद्यालयको पालोमा वा अन्तिमतिर बुटवलको हकमा यही २८ र २९ गते आम्दा अस्पतालमा छुटेकाका निम्ति खोपको कार्यक्रम राखिएको छ । त्यसैले त्यहाँं लगेर यो खोप लगाउन सक्नुहुन्छ । निर्धारित उमेर समुहका महिलाहरूका लागि यो खोप आइसकेको छ । मौकामा चौका हानौँ । यो अवसर सबै महिलाका निम्ति नभएर माथि उल्लेख भएको उमेर समूहका किशोरीहरूका निम्ति हो । पाठेघरको क्यान्सर होस वा जुनसुकै क्यान्सर होस शुरुमै थाहा पाएनौ र यो प्रवेश गर्ने बाटो छेकेनौ भने पछि उपचारमा मोटो रकम त जान्छ नै, ज्यान पनि अकालमै जान सक्छ त्यसैले बेलैमा होस पु¥याउंँ ।