© २०२३
हिन्दु शास्त्रअनुसार सरस्वतीलाई ज्ञान, बुद्धि, संगीत र कलाकी देवी मानिन्छ । सरस्वतीको जन्मका सम्बन्धमा विभिन्न धारणाहरू छन् । ब्रह्माको पत्नीका रूपमावा समुन्द्र मन्थनबाट जन्मभएकी वावा ब्रह्माकी पुत्री आदि भनाइहरू रहेका छन् । माघ महिनाको शुक्लपञ्चमीका दिन देवी सरस्वतीको जन्म भएको मानिन्छ । बसन्त पञ्चमीका दिन सरस्वतीको जन्म भएको विश्वास मानेर बसन्त पञ्चमीका दिन सरस्वतीको जन्मदिन मानेर विशेष पुजाआजा गरिन्छ । नेपाल, भारत र विश्वभरका हिन्दुहरूले सरस्वती पुजाका साथै नवरात्रीको सातौं दिनमा पनि सरस्वतीको पुजा गर्ने गर्छन् । श्रीपञ्चमीका नामले पनि चिनिने बसन्त पञ्चमीका दिनबाट बसन्त (शिशिर) ऋृतु सुरू हुने गर्दछ । त्यसपछि जाडो क्रमशः कम हुदै जान्छ । प्रकृतिले सुन्दर रूप धारण गर्दछ । सरस्वती प्रायःपहेंलो र सेतो पहिरनमा सजिएकी, चार हात भएकी, दुई हातले उनीलाई मन पर्ने बाद्यबादन विणा समाएकी, अर्को एउटा हातमा कमलको फुल लिएकी र अर्को हातमा पुस्तक लिएकी, मयुर वाहानमा चढेकी सुन्दरीका रूपमा सरस्वतीको मूर्ती वा चित्र बनाइन्छ । बसन्त पञ्चमीका दिनलाई विशेष महत्वका साथ कुनै नयाँ कार्यको सुरूवात, धन, बुद्धि, र सुख प्राप्तिको रूपमा लिइन्छ । बसन्त पञ्चमीका दिन नयाँ शिशुहरूलाई अक्षरारम्भ गराउने चलन बढेसँगै विभिन्न विद्यालयहरूले यस दिन विद्यालयमा ससाना नानीबाबुहरूलाई अक्षरारम्भ गराउने कार्यक्रम आयोजना गर्दछन् । तर यस दिन सरस्वतीको पुजा आराधना गरिने भएकोले पठनपाठन गर्न नहुने मत पनि धेरैको छ । विद्यालयहरूमा शिक्षक विद्यार्थी, अभिभावकहरू भेला भै सरस्वतीको पुजा गर्ने, नाचगान गर्ने, बडो हर्षोल्लासका साथ सरस्वती पुजा गर्ने चलन छ । तराईमा ठूलो स्वरमा बाजागाजा सहित सरस्वतीको पुजा गर्ने, सरस्वती मन्दिर र विद्यालयहरूमा मेला जस्तै भीड लाग्ने गर्दछ ।
बसन्त पञ्चमीका दिनलाई पवित्र दिनका रूपमा मानेर नयाँ बच्चाहरूलाई अक्षरारम्भ गराउने, युवायुवतीको बिबाह गराउने, कुनै नयाँ पसल वा ब्यवसाय सुरू गर्ने, र सर्जक कलाकारहरूले कुनै नयाँ सिर्जना गर्ने चलन छ । वास्तवमा सरस्वती पुजा विद्यालयमा सिमित हुनु हुदैन । समुदायस्तरमा सरस्वती पुजा हुनु आवश्यक छ किनभने सरस्वती पुजाका कारण मानिसहरूमा बौद्धिक खोजी, निरन्तर सिकाइ र कलात्मक अभिब्यक्तिका लागि उत्प्रेरणा प्राप्त हुन्छ । तसर्थ यद्यपि आज विद्यार्थीहरूका लागि सरस्वतीको वरदान प्राप्त गर्ने महत्वपूर्ण दिन हो तापनि समाजका हरेक उमेर, पेशा र अवस्थाका मानिसहरूले महासरस्वतीको महिमा अनुसार आफूलाई ज्ञान, बुद्धि, विवेक र शान्ति प्राप्तिका लागि साधना गर्ने उत्तम दिन हो । माता सरस्वती करूणाकी खानी भएकी हुनाले सबैको कल्याण गर्दछिन् । सरस्वती र बसन्त ऋृतुको अन्योन्याश्रित सम्बन्ध छ । बसन्त ऋृतुको महत्व र सौन्दर्यका सम्बन्धमा धेरै कवि कलाकारहरूले कविता, गीत संगीत निर्माण गरेका छन् । कविशिरोमणि लेखनाथ पौड्यालले बसन्त कवितामा जाडो समयको अन्त्य, शिशिरको आगमनसँगै प्रकृतिमा हरियाली, कोपिला र फुलले सुन्दरता सृजना गर्ने, ऋृतुमध्ये सर्वश्रेष्ठ बसन्तमा पृथ्वी सुगा रंगी हुन्छिन् भनेर वर्णन गरेका छन् । बसन्त कोकिलमा कवि पौड्यालले लेखेका छन्।
न शीत—बाधा, न त घामको डर न वागनङ्गा, न त बृष्टिको पिर वसन्तका गौरवले गरिकन खुशी छ साह्रै कलकण्ठको मन ।
यसप्रकार प्रकृति र मानव जातिका लागि वसन्तपञ्चमी नयाँयुगको सुरूवातसँगै नयाँनयाँ अनुभव र आनन्द ल्याउने विशेष दिनका रूपमा वर्णित छ । आज नवीन कार्यको थालनीका लागि माता सरस्वतीको आशिर्वाद प्राप्त गर्ने सुअवसर हो । त्यसैले आजको दिनलाई हर्षोल्लासका साथ मनाउने गरिन्छ । यसक्रममा नेपाल सरकारले सार्वजनिक विदा दिने गर्दछ । हनुमानढोका सरस्वती मन्दिरमा बसन्तश्रवण कार्यक्रम आयोजना गरिन्छ । यस वर्ष राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू बिहान७ः५५ बजेको साइतमा बसन्त श्रवण गर्ने कार्यक्रम रहेको छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूले पनि सरस्वती पुजा र बसन्तपञ्चमीका सन्दर्भलाई महत्व दिएर प्रकाशन प्रसारण गरेका हुन्छन् ।
आज बिहानैदेखि सरस्वती मन्दिर र विद्यालयहरूमा चिटिक्क परेका बालबालिकाहरूको भीड लागेको छ । उनीहरूमा सुन्दर भविष्यको आशा र माता सरस्वतीको आशिर्वाद रहन्छ । तर मानिस र प्रकृतिमा फैलिएको प्रदुषणका कारण मानिसका क्रियाकलाप र प्राकृतिक घटनाहरूमा समेत परिवर्तन भएको छ । प्रकृतिमा शीतलता कम पाइन थालेको छ । यसवर्ष जाडो समयमा हिउँ परेन । लामखुट्टेहरू नाचिरहेका छन् । माछापुच्छ्रेमा हिउँ परेन । कालो देखिन्छ । यसले गर्दा हिमालमुनिको हरियाली, पानीको श्रोत, हिमश्रृंखलाको सुन्दरता विनाश हुँदै गयो । जलवायु परिवर्तनका कारण हामीले प्राकृतिक सम्पत्तिहरू गुमाउँदै जान थालेका छौं । ऋृतु परिवर्तन हुन थालेका छन् । ऋृतुअनुसारका प्राकृतिक स्वरूपहरू बदलिएका छन् । अब नयाँ कविता लेख्नुपर्ने भएको छ । शीरमा चाँदीको ताज पहिरिएको नेपालले अब कालो मुख लगाएर घोप्टिनु परेको छ । केही वर्ष पश्चात् जब बाढी र पहिरो अत्यधिक जान थाल्छ नेपाल आमाका मुहारबाट अश्रुधारा बगेको हुनेछ । छाती चिराचिरा परेको हुनेछ । त्यो कहालीलाग्दो दिनको प्रतिक्षामा हामी छौं । मानिसहरू पनि अत्यन्तै घृणा लाग्ने कार्य गर्दैछन् । अक्षरारम्भका नाममा भद्दा विज्ञापन मात्र होइन घरघरमा पुगेर बालबालिका लोभ्याउने, बाबुआमालाई प्रभावित पार्ने र भर्ना अभियानका रूपमा सरस्वती पुजाको दिनलाई उपयोग गर्ने गरेका छन् । आमाको दुध नछाडेका बालबालिकालाई विद्यालयमा भर्ना गरेर कलिला औंलाहरूमा पेन्सल कटर र इरेजर थमाइदिएका छन् । कक्षाकोठामा सुत्नु, कपडामै पिसाब गर्नु उनीहरूको बाध्यता बनेको छ । विद्यालयहरूले बालबालिकाहरूलाई अक्षरारम्भ गर्नका लागि मद्दत गर्नु राम्रो हो तर अक्षरारम्भको ब्यानरमा विद्यार्थी भर्ना गर्नु कति उचित हो ? बसन्त पञ्चमीका दिनदेखि शैक्षिक सत्र सुरू र्ने कि? शैक्षिक सत्र सुरू हुनुभन्दा तीन महिना पहिलेदेखि भर्ना गर्नु उचित हो र ? अर्काथरी मानिसहरू सरस्वती पुजाका नाममा चन्दा उठाउने र उठेको रकम रमाइलो गरेर उडाउने गरेको पनि पाइन्छ । केही तन्नेरी तरुनीहरू बिहे गरेर जीवनको नयाँ अध्याय सुरू गरेका हुन्छन् । बिबाहमा उमेर, शिक्षा, पेशा आदिको ख्याल गर्नुपर्ने हुन्छ । तर बसन्त पञ्चमीका दिन सबै कार्यका लागि शुभ हुने भन्दै अस्वाभाविक खालका बिबाह वा माया प्रेम सुरू गर्नाले अन्य झण्झण्टमा फसेका घटना पनि छन् । युवाहरूले आफ्नो जीवनलाई कसरी ब्यवस्थित गर्ने भन्ने विचार गरेर शिक्षा, पेशा र गृहस्थ ब्यवस्था गर्नुपर्ने हुन्छ ।
निष्कर्षमा र्धािर्मक, ब्यवहारिक एवम् सामाजिक—साँस्कृतिक महत्व बोकेको सरस्वती पुजा वा बसन्त पञ्चमीको मूल्यअनुसार सरस्वतीको पुजा गर्नु, बसन्त पञ्चमीको कथा र बसन्त श्रवण गर्नु, पुस्तक, बाद्यवादन लगायतका पेशागत औजारको पुजागर्नु, चिन्तन गरी नवीन सोंच र ज्ञान प्राप्तिमा मन लगाउनु, कुनै नयाँ पेशा ब्यवसाय सञ्चालनको शुभमुहुर्तका रूपमा आजको दिनलाई उपयोग गर्नु मानिसहरूका लागि श्रेयष्कर हुन्छ । भगवान कृष्णले समेत ज्ञान र बृद्धि प्राप्तिका लागि आजकै दिन माता सरस्वतीको पुजा गर्नुभएको हिन्दु शास्त्रहरूमा उल्लेख छ । ज्ञान र सिर्जनाको पर्व बसन्त पञ्चमीका दिन मिष्ठान्न भोजन, सरस्वती भजन र साँस्कृतिक कार्यक्रम गरेर मनाउँदा मानिसमा सकारात्मकता र नवीन चेतनाको सुरूवात हुन्छ । अहिले खेतबारीमा पहेंलो तोरी फुलेको छ । सरस्वतीलाई मन पर्ने पहेंलो रङ पनि हो । आकाश सफा देखिन्छ । नेपाल एउटा कृषिप्रधान देश भएकाले पनि बसन्त पञ्चमी र बसन्त ऋृतुको विशेष महत्व छ । तसर्थ आजका दिनमा हामी प्रकृति प्रेमको सन्देशलाई पनि सम्झनुपर्छ र हामीले गर्ने क्रियाकलापमा प्रकृतिलाई कम क्षति पु¥याउने प्रतिज्ञा गर्नु पनि जरूरी छ । तसर्थ आजको दिन केही नवीन कार्यको थालनी, मानव तथा प्रकृतिप्रति माया र स्वयम्मा सकारात्मक सोंचको विकास हुनु शुभ मानिन्छ ।