© २०२३
हाम्रो देशको कोशी प्रदेशमा रहेकी भगवती पाथीभरा माताको दर्शन गर्न जानका लागि केबुलकार बनाउने कुराले चर्चा पाइरहेको छ । केबुलकार निर्माणका लागि त्यहाँ काम चलिरहँदा त्यहाँ केबुलकार बन्न दिने या नदिनेका बीचमा ठूलो द्वन्द्व चर्किएका कुरा समाचारमा आइरहेका छन् । केबुलकार बनाउनु पर्दछ भन्नेहरूले बनाउनु हुन्न भन्नेहरूलाई विकास विरोधिका रूपमा चिनाइरहेका छन् । केबुलकार बनाएपछि देश पूर्णरूपमा विकसित हुन्छ र त्यहाँ कायापलट हुन्छ, कर उठाएर देश–प्रदेशको विकास गर्न सकिन्छ भन्ने खालका कुरा उनीहरूले गरिरहेको पाइन्छ । तर केबुलकार बनाउन हुन्न भन्नेहरूले चाहिँ देवी भगवती माताको दर्शन गर्नका लागि केबुलकारको आवश्यक छैन भन्ने तर्क गर्दछन् । उनीहरूका विचारमा केबुलकार लैजाँदा त्यहाँ विकास हुने हैन कि उल्टो विनास हुन्छ । त्यहाँ प्रकृतिको आश्रय लिएर जीवन यापन गरिरहेकाहरूको जीवन धरापमा पर्दछ । गरीबहरूका पेट भोकै हुन जान्छन्, सयौँको रोजगारी गुम्न जान्छ भने एउटा आस्थामाथि नै कुठाराघात हुन्छ भन्ने उनीहरूको भनाई छ । त्यस्तै उनीहरूको भनाईअनुसार भौतिक सुखसयलका साथ भगवतीको दर्शन हुने होइन, उनको दर्शनका लागि केही दुःख अवश्य हुनुपर्दछ, साँच्चै पाथीभरा माताको दर्शन गर्ने हो भने पैदलयात्राका साथ उनको पुकारा गर्दै आइयो भने पो आशीर्वाद पाइने हो, अर्को कुरा एकजना धनी मानिसको लगानीले धनी त सधैँ धनी नै बनिरहने भो तर गरीबहरूको चाहिँ विचल्ली हुने नै हो भन्दै अप्रत्यक्षरूपमा यस निर्माणले प्रकृतिको पनि विनास हुन जाने विषयमा उनीहरूले पटक पटक सम्बन्धित सबैलाई ध्यानाकर्षण गराइरहेका छन् ।
यस्तै आस्थाका कुरासँग जोडिएको विषय केही समयअघिदेखि चलिरहेको छ । त्यो हो कालीगण्डकी डाइभर्सन । अर्थात् प्राकृतिक नियममा रहेर उत्तरबाट दक्षिणतिर बगिरहेकी कालीगण्डकी जसले धेरै प्यासाहरूको तीर्खा मेटाइदिएकी छन्, जसले धेरै भोकाहरूको खेतमा सिञ्चाई गरिदिई उनीहरूको भोक मेटाइदिएकी छन्, त्यस्तै विभिन्न तीर्थहरूको निर्माण गरी ती तीर्थका माध्यमले धेरै आस्थावान्हरूको आध्यात्मिक चेतनाको विकास गरिदिएकी छन्, त्यस्तै विभिन्न जलचर जन्तुहरूलाई जीवन दिएकी छन् ती देवघाटमा आई त्रिशुलीमा मिली नारायणीका नामले अर्को कल्याणकारी काम गर्ने नदीलाई थुनेर बुटवलको तिनाउ नदीमा लगी मिसाउने । यी नदीलाई बुटवलतिर लगेर सिँचाई गरी धेरै अन्नपात उब्जाउने र विद्युत् निकाली देशलाई मालामाल गर्ने यस प्रोजेक्टको कुरा रहेको छ । तर यस काम गर्नका लागि पनि विरोध भइरहेको छ । जहाँबाट बाँध बाँध्ने भनिएको छ, त्यहाँभन्दा तलतिर बसोबास गरिरहेका जनता एवम् अन्यत्रका पनि प्रकृतिप्रेमी जनताले यस कुराको विरोध गरिरहेका छन् । बुटवल र त्यस नजिकको क्षेत्रमा बढ्दो शहरीकरण भइसकेकाले त्यहाँ यस किसिमका कार्यको कुनै औचित्य नहुने र कालीगण्डकी एउटी आस्थाकी नदी भएकीले देवघाटमा नमिल्दासम्म उनलाई कतैबाट पनि चलाउन हुन्न भन्ने उहीहरूको विचार छ । प्रकृतिलाई प्रकृतिकै रूपमा रहन दिनुपर्दछ भन्नेहरू एवम् काली गण्डकीलाई नदीका रूपमा मात्र नएर माताका रूपमा मान्नेहरूले पनि यस कुराको विरोध गरिरहेकै छन् ।
यसै प्रसङ्गमा यसै सालको असार महिनामा हामी भारतको उत्तराखण्ड प्रदेशमा स्थित सनातन धर्मावलम्बीहरूको मुख्य तीर्थहरू वदरीनाथ, केदारनाथ, गङ्गोत्री र यमुनोत्री मध्येका केदारनाथ र वदरीनाथको दर्शन गर्ने सिलसिलामा त्यता गयौँ । एकदशकदेखिको भारतमा भएको सत्ता परिवर्तन एवम् उत्तराखण्डको पनि केन्द्रसँगै सम्बन्धित सरकारका कारणले त्यहाँको भौतिक विकासले ती स्थानमा जानका लागि अति सहज भइसकेको रहेछ । ठाउँठाउँमा सुरुङ्ग मार्गका साथ बाटो चौडा बनेकाले यात्रा साह्रै सहज बनेको रहेछ । तर अचम्म चाहिँ के लाग्यो भने त्यत्रो विकास भइरहँदा केदारनाथ जानका लागि २२ किलोमिटर यात्रा त पैदल नै हुने गर्दो रहेछ । पैदल जान नसक्नेहरूका लागि घोँडा या पालकीको पनि व्यवस्था चाहिँ हुने रहेछ भने अलि धनीमानीहरू हेलिकप्टरका माध्यमले पनि जाँदा रहेछन् ।
त्यत्रो विकास भएको स्थानमा सरकारले बाटो बनाउन गाह्रो त छँदै थिएन । मानौँ बाटो बनाउन गाह्रो भए पनि केबुलकार बनाउने काम पनि भारत सरकाले आँट्यो भने केही महिनामैँ पुरा गथ्र्यो । तर त्यसो गरिएको रहेनछ । कारण के त भन्दा त्यहाँ बाटो बन्यो भने त्यस स्थानमा आस्था नै नभएका मानिसहरू पनि पुगी त्यसलाई दुषित पार्न सक्ने सम्भावना रहेछ । अर्को कुरा त्यहाँका गरीब जनता जसले यही समयमा व्यापार गरेर आफ्ना परिवार पाल्दा रहेछन्, त्यस्तै अर्को महत्त्वपूर्ण कुरा त के भने गाडीको प्रवेशले गर्दा केदारनाथको हिमाली क्षेत्र अनपेक्षित रूपमा पग्लिएर त्यहाँबाट बग्ने नदी जसले करोडौँ जनताको भोक प्यास मेटाएकी छिन् ती गङ्गाको पनि अस्तित्व मेटिन गई हाम्रो जीवन पनि सङ्कटमा पर्ने रहेछ । त्यसैले त्यहाँ गरिने विकास धेरैको विनासका रूपमा हुन सक्ने भएकाले भारत सरकारले त्यस किसिमको विकास नगरेको रहेछ । प्रकृतिलाई प्राकृतिक रूपमा नै रहन दिएको रहेछ । त्यसपछिका केही दिनपछि हाम्रो यात्रा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको मानसरोवर कैलाशका लागि भयो । धर्मसम्राटहरूसँगै भएको त्यहाँको यात्रा पनि पूर्ण सफल भयो । नेपालबाट प्रवेश गरिसकेपछि नै हाम्रो धर्मशास्त्रले भनेअनुसारको स्वर्ग भूमिमा प्रवेश गरेको जस्तो अनुभूति हामीहरूलाई भयो । त्यस खालको अनुभूति हामीलाई त्यहाँ भएको भौतिक उन्नतिबाट मात्र पक्कै होइन । यो हुनुको कारण भनेको मित्रराष्ट्र चीनले प्रकृतिलाई पनि कुनै अप्ठ्यारो नपारी गरेको विकासका कारणले हो । न त पहाडहरूमा बम ब्लाष्ट गरेर विकास गरेको छ, नत फेरि नदीलाई अनावश्यक डाइभर्सन गरेर नै गरेको छ । प्रकृतिबाट केही कुरा सापट लिएको छ भने त्यसलाई पुनः तिरेरै गरेको छ । जङ्गल भइरहेको स्थानमा नत जङ्गल मासेको छ भने जङ्गल नै नभएको स्थानमा फेरि न त हामीले जस्तो गरी अनावश्यक जङ्गल नै लगाएको छ । जे गरेको छ पूर्ण प्राकृतिक तरिकाले प्रकृतिलाई नै ईश्वर मानेर गरेको छ । मानसरोवर पनि स्वच्छ राखेको छ । हाम्रो आस्थाको केन्द्र कैलाशको पनि पूर्णरूपले सुरक्षा दिएको छ । प्रकृतिलाई नविगारीकन मोटर पनि लगेको छ भने प्रकृति विग्रने कैलाशजस्तो स्थानमा ती कुराहरूको पूर्ण बन्देज लगाएको छ । विश्वमा छोटो समयमा गरेको विकासले नाम राखेको चीनले कैलाशमा बाटो लैजानु भनेको पन्ध्रदिनको पनि कुरा हैन तर उसले त्यसो गर्न चाहेन । किनकि उसले त्यसो गर्यो भने प्राकृतिक विनास भई चराचर जगत्कै विनास हुन्छ भन्ने उसले महसुस गरिसकेको छ ।
त्यसैले अन्त्यमा यी सबै कुराका प्रसङ्ग ल्याइएको पाथीभरामा केबुलकाररूपी भूतका कारणले हो । यो भूतले त्यहाँको अवस्थालाई सुधार्ने हैन कि अवश्यरूपले विगार्ने नै हो । ठिक छ कैलाश र केदारनाथ जस्तै गरी केबुलकारले त्यहाँ प्रकृति नै चाहिँ नविगार्ला तर त्यहाँका जनताहरूको रोजगारीमा भने पूर्ण असर गर्नेछ । त्यहाँ केबुलकार बन्दा धेरै धनीहरूले आफुलाई विश्वकै धनीका सूचिमा पुर्याउन त पाउलान् तर त्यस कार्यले गरीब झनै गरीबै रहनेछ । प्रकृतिको शोभा पनि केही अर्थमा हराउनेछ । केही मिहिनेतका साथ त्यहाँ पुग्दा भगवती मातासँग आफुलाई समर्पण गर्नुको मजा केबुलकारले पक्कै नदेला । त्यसैले पाथीभरा देवीमा केबुलकार पुग्दा त्यहाँ विकास नहुने भई अवश्यम्भावी नै प्रकृति एवम् त्यहाँ आश्रित प्रकृतिपुत्रको विनास हुने नै हो । सरकार एवम् विपक्षी दलहरूले पनि यी यस्ता खालका प्रकृतिविरोधि कुराहरू ल्याएर जनताहरूलाई बेकुप बनाउने अनि सामान्य बाटाघाटा बनाउन चाहिँ दशकौँ लगाएर देशबाट निमुखा जनता भगाउनु भन्दा पनि अलि राम्रा कार्यक्रमले देशको विकास गरून् । अस्तु ।