© २०२३
पाल्पा, १९ माघ ।
सदरमुकाम तानसेनको शिरमा रहेको श्रीनगर डाँडा यतिबेला आफन्त नै गुमाएको जस्तो भएको छ । पर्यटकीय तथा पुरातात्विक हिसावले अत्यन्तै महत्वपूर्ण ठानिए पनि २०४६ सालमा भएको राजनैतिक परिवर्तन पछाडिको समयमा निर्वाचित जनप्रतिनिधिले पूर्णरुपले उपेक्षा गरेका कारण श्रीनगर आफन्त गुमाएको पिडामा छटपटाए जस्तै बन्न पुगको हो ।
चार सय वर्षको पुरानो इतिहास बोकेको श्रीनगर डाँडाबाट पश्चिम नेपालकै शक्तिशाली भनिने सेनवंशीय राजाको दरवार भएको इतिहासका जानकारहरु बताउँछन् । यही हरियाली श्रीनगर डाँडाबाट असंख्य हिमश्रृंखलाको दृश्यावलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरुको शरद ऋतुको आगमनसँगै पाल्पाको श्रीनगरडाँडामा पर्यटकहरुको भिड लाग्दछ । यसरी पर्यटकको रोजाईमा परेको श्रीनगर डाँडामा स्थानीय सरकारले यहाँ भौतिक पूर्वाधारको निर्माण संगसंगै सौन्दर्यीकरणतर्फ पहल नहुँदा पुराना स्तम्भ तथा भवनहरु खण्डहरमा परिणत हुँदै गएका पर्यटकहरुको भनाइ रहेको छ ।
विगतदेखि वर्तमानसम्म नगर सरकारको श्रीनगर डाँडाको विकासको लागि पटक पटक बहस भएपनि त्यसको व्यवस्थापनको नाममा भ्यूटावर मात्र निर्माण भएको छ । श्रीनगर डाँडा घुम्न आउने पर्यटकको लागि प्रवेश शुल्क काटिसकेपछि भ्यूटावर हेर्नको लागि पुन महङ्गो टिकट काट्न परेको इटहरीबाट आउने एक पर्यटकले बताए । बजारबाट श्रीनगर सम्म पुग्ने पैदलयात्रीको लागि पैदल बाटो भेटाउनै कठिन भएको स्थानीय दानबहादुर राना बताउँछन् । पर्यटकको नाममा भाषण गर्ने स्थानीयदेखि प्रदेश, संघीय तहसम्मका जनप्रतिनिधिले श्रीनगरको नाम छुटाउँदैनन् तर उनीहरुले यसको व्यवस्थापन र विकास कसरी गर्ने भन्ने सवालमा कहिल्यै नबोल्ने गरेको गरेको नगर सरकारका एक जनप्रतिनिधि बताउँछन् ।
सिंगो जिल्लाको गौरवको प्रतिकका रुपमा रहेको प्राकृतिक सौन्दर्यताले भरिएको आयआर्जनको सजिलो माध्यम भएको यो श्रीनगर डाँडा समयमा स्थानीय सामुदायिक वन उपभोक्तासँगको विवादले पनि जटिलता निम्त्याएको हो । तानसेन नगरले नै २००८ सालदेखि नै वृक्षारोपण गरेको वनमा हेरालु पछिल्लो समयमा सामुदायिक वनको अवधारण अनुरुप श्रीनगर डाँडामा वन समूह र नगर सरकार बिच उत्पन्न विवाद अदालतमा पुगेपछि दुई समूहबिच समन्वय हुने वातावरण नमिलेका कारण यहाँको समस्या उत्पन्न भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
नगर सरकारले पछिल्लो समयमा श्रीनगर जानको लागि भन्दै टिकट घर, शौचालय बनाउँदा वन समूहका कारण अन्तिममा निर्माण गरिएका भवनहरु भत्काउनु प¥यो । यस्तै कारणले गर्दा विकासका गतिहरु अति सुस्त भएको नगरपालिकाका राजस्व विभागका मधु सुधन घर्ती बताउँछन् । ऐतिहासिक महत्व बोकेको क्षेत्र भनिए पनि नगर सरकार र वन समूहको द्वन्द्वका कारण मात्र होइन, नगरपालिकाले यहाँ आउने संग पटक पटक टिकटको नाममा पैसा असुले पनि गर्नुपर्ने काम नगरेको सियारी गाउँपालिका अमुवाकी निरु सुवेदी बताउँछिन् ।
पञ्चायतकालीन समयमा सदाका लागि सबैका लागि निर्मित भौतिक संरचना एकपछि अर्को गरी ध्वस्त हुने क्रममा रहेका छन् । पञ्चायत व्यवस्थाले २५ वर्ष पुरा गरेको अवसरमा निर्मित रजतजयन्ती स्तम्भ खण्डहरमा परिणत हुन पुगेको छ। स्तम्भको रंगरोगन हुन नसक्दा जिर्ण बन्दै गएको छ । २०४० सालमा श्रीनगर डाँडा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै निर्माण गरिएका आवास गृह मध्ये एउटा माओवादी द्वन्द्वकालमा ध्वस्त बनाइयो भने बाँकी २ वटाको अवशेष मात्र बाँकी छ । पञ्चायतकालीन समयमा पैदलयात्रीको लागि भनेर ढुंगा छापेर बनाएको बाटोका ढुंगाहरु हराउँदा समेत स्थानीय सरकार बेखबर रहेको स्थानीयहरु बताउँछन् ।
तानसेन नगर सरकारले पहिला तयार गरेको गुरुयोजना बृहत भएका कारण कार्यान्वयनमा ल्याउन सकिएन । पुनः अर्को गुयोजना निर्माणको प्रकृयामा रहेको छ । नगर सरकारले निजी क्षेत्रसंग सझेदारी गरेर अगाडि बढ्ने यस क्षेत्रको पर्यटन विकासको मुख्यआधार भएका कारण नगर सरकारले उपेक्षा नगर्ने नगर सरकारका प्रमुख सन्तोषलाल श्रेष्ठ बताउँछन् ।
निजी क्षेत्रलाई समेत यसमा समावेश गराउन सकियो भने यसको सुन्दरताले सार्थकता पाउने हो । यही सवालमा गुरुयोजना सहित निजी क्षेत्रले पनि लगानी गर्न नआएको होइन । नगर सरकारसंग नमिलेको कारण फर्किएको धेरै समूह छन् । नगर सरकारले प्रवेश र पार्किङ शुल्कको नाममा यस वर्षको हालसम्म ७ लाख ५४ हजार ९ सय र अघिल्लो आर्थिक वर्षमा १९ लाख ९७ हजार ३ सय ३० रुपैयाँ आन्तरिक राजस्व बापत संकलन गरेपनि नगर सरकारको लगानीतर्फ अग्रसरता नै नदेखाएको कर्मचारीहरु बताउँछन् ।
नगर सरकारले संघीय सरकारबाट सामुदायिक वनको भोगाधिकार लिएर संरचना निर्माण गर्न, सेनकालिन दरवारको उत्खनन्, भएका संरचनाको पुननिर्माणको लागि अग्रसरता लिएको खण्डमा यस क्षेत्रकै पर्यटक विकासमा थप टेवा पुग्ने पर्यटक व्यवसायी राजिव शाहा बताउँछन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी