© २०२३
प्रचण्ड बाबुरामले जनयुद्धको उद्घोष गर्दा जे घोषणा गरेका थिए– आफ्नो त्यही घोषित नीतिमा अडिन सकेनन् । उनीहरूले व्यक्ति हत्या वाहेक अरू सवालमा खुरुखुरु जनयुद्धको कार्यादेशलाई अघि सारेर निरन्त्तर अगाडि बढेको भए आज देशले यस्तो अवस्था वेहोर्नु पर्दैनथ्यो । यहाँनेर उनीहरूले ठूलो गद्दारी गरेका हुन् भन्ने स्वतन्त्र वामपन्थी पर्यवेक्षकहरूको जुन मूल्यांकन छ त्यसलाई निराधार मान्न सकिदैन । यसैगरी एमाले पार्टी झापा आन्दोलनले दिएको म्याण्डेड अनुसार कमी कमजारी सच्चाउँदै अगाडि वढेको भएपनि नेपालको अवस्था अहिले जुन प्रकारको वातावरणबाट गुज्रिदैछ, देशले यस्तो अवस्थाको सामना गर्नुपर्दैनथ्यो । साथै नेपाली कांगे्रसका वर्तमान मुखिया शेरवहादुर कांग्रेसको घोषित नीति प्रजातान्त्रिक समाजवादलाई झुण्डाएर नवउदारवादी पश्चिम पूँजीवादी व्यवस्थाको पुरै प्रवक्ता बन्न नपुगेको भएपनि देश यस्तो नाजुक स्थितिमा रहेको हामीले देख्नु पर्दैनथ्यो । देशको राजनीतिमा महन्वपूर्ण प्रभाव ओगटेका यी तिनै राजनीतिक दलहरूमा राजनीतिकभन्दा व्यावसायीक चरित्र हावी भएको हुँदा देश वर्वाद वनेको हो । देशलाई यसरी वर्वादीको हवनकण्डमा जाक्नेहरूले कुनै दिन राष्ट्रघातको यो पाप भोग्नै पर्नेछ । आज प्रष्टसंग देखिदै छ कि यी तिनै दलका मुखियाहरू आफ्ना लाखौंलाख कार्यकर्ता, शुभचिन्तक, समर्थक र मतदाताहरूको चाहनालाई विल्कुलै लत्याएर एक मुठ्ठीभर माफिया तत्वहरूसित र वैदेशिक शक्तिसित अंगालो मारी आफ्नै दलका घोषणापत्रका विपरित मनमौजी तरिकाबाट हिडिरहेका छन् । दलका मुखियाँहरू चाहे केपी ओली हुन् चाहे शेरवहादुर या प्रचण्ड । यिनीहरू आफ्ना स्वार्थ पूर्तिका लागि जस्तो कदम चाल्नपनि पछि पर्दैनन् । सत्तामा जानैकालागि आज एउटा बाचा गर्छन्, भोलि त्यसको ठीक विपरीत बाटो अंगाल्न यिनीहरूलाई अलिकति पनि अप्ठेरो महसुस हुदैन । यसको उदाहरण हो वर्तमान प्रधानमन्त्री केपी ओलीले सत्तामा जानको निम्ति तीन महिना अघि प्रचण्डको साथ छोडी शेर वहादुरसित लहसिँदा देखाएको त्यो चरित्र । यसैगरी यसअघि प्रचण्डले शेरवहादुरसित गोप्य बैठक चल्दाचल्दै विचैमा भात खान जाने नाममा एकाएक बालकोट पुगी उतैबाट केपी ओलीसित टाँसिएर शेरवहादुर र काँग्रेसलाई उत्तानो चीत खुवाएको प्रसङ्ग । उपरोक्त तीन पात्रमध्ये सबैभन्दा झुट वोल्न सिपालु केपी ओली नै हुन् । जसले सत्तामा जानकै लागि पटकपटक किसिम किसिमका खोव्रmा तथा अर्थहीन नारा लगाएर तथा नौलानौला आकर्षण देखाए । तर, उनको त्यो बोली मुखबाट निस्कँदा जतिसुकै आकर्षक देखिएपनि व्यवहारमा उल्टो देखियो । किस्तामा हामीले पार्टीबाट महाकाली सन्धी अनुमोदन गराउँदा पार्टी भित्रका कार्यकर्ताको समर्थन जुटाउन महाकाली सन्धी पास भयो भने भारतले नेपाललाई वर्षेनी एक खरब वाइस अरव रुपियाँ दिन्छ, साथै उसले छुट्टै दिएको विजुलीले नेपालका बुटाबुटामा बल्ब जडान गर्न सकिन्छ र सिंचाईको निम्ति पानीपनि दिन्छ । सबै आधाआधा त्यसको निम्ति नेपालले सुको पैसो तिर्नु पर्दैन, साथै कहिल्यै लोडसेडिड वेहोर्नु पर्दैन जस्ता जे गफ हाँकेर महाकाली सन्धी पास गराए, त्यसपछि भारतले उनीमार्फत आफ्नो काम पूरा गराएपछि हालसम्म एक पैसा पनि नदिएको र बिजुली पानी सबै उसैले सोहोरेर लगेको यथार्थले उनको झूठलाई उजागर गर्दछ । त्यस्तै आफू प्रधानमन्त्री वन्ने वित्तिकै देशमा मेचीदेखि महाकालीसम्मका नदी नालाहरूमा रहेका तुइनहरू हटाई सबै ठाउँमा पुल वनाउने घोषणा गरेका आवाजहरू पनि हावामै विहीन वने । पानीजहाज, ग्याँस सिलिण्डरका घैंटा हटाई ग्याँस पाइपलाईन जडान गर्ने कुरा पनि उसरी नै हावाहारी गफमा सीमित भए । यसैगरी एमसीसी परियोजना नेपालमा भित्र्याउने प्रसंगमा जोडबल गर्दा उनले दिएका अभिव्यक्ति र अहिलेको वास्तविकताले पनि केपी ओलीको नग्न चरित्रलाई छर्लङ्ग पार्दछ । यसको अर्थ ओलीमात्र खराब हुन् अरू दुई पात्र आदर्श छन् भन्न खोजिएको भने होइन ।
यिनै प्रचण्ड वावुरामको माओवादी, यिनै शेरवहादुरको काँग्रेस र यिनै केपी ओलीको प्रभाव रहेको एमालेले देखाएका सपनाहरूमा पूरापूर भरविश्वासमा परी जनता पटकपटक परिवर्तनको अटुट चाहना लिएर जुर्मुराए । धेरै पटक सडक तताए । अश्रुग्याँस, लाठी, गालीको सामना गर्दै उनीहरूका भाषाले दिग्दर्षित गरेको बाटोलाई पछ्याउदा धेरैले प्राणको आहुती दिए । प्रजातन्त्र, गणतन्त्र, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, राष्ट्रिय अस्मिता तथा सुख, शान्ति, समृद्धि सहितको समाजवाद देख्न जनताले त्यति ठूलो त्याग गरेका हुन् तर जनताको त्यो त्याग र बलिदानीलाई अवमूल्यन गरेका यिनी पात्रहरू र यिनीहरूका इर्दगिर्दमा रहेका स्वार्थ समूहको एक मुट्टीभर तत्वहरूको छाडा जमातको आ–आफ्नो दुनो सोझ्याउन आज जुन घृणित अवसरवादी भूमिका खेलिरहेका छन्, यी काला कर्तुतहरूको जतिसुकै निन्दा गरेपनि कमै हुन्छ । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको मुकुण्डो भिरेर यिनले गरेका लज्जास्पद व्यवहारको फलस्वरूप आज नेपाली जनतामा दिन प्रतिदिन जुन समस्या एवं पीर मर्काहरूको थुप्रो थपिदै र चुलिदै गएको छ, त्यसको परिणाम अहिलेको देशको यो अवस्था हो । आज देशमा जस्तो स्थिति देखापरेको छ र जनताले जस्तो दुर्दशा बेहोर्नु परेको छ, विगतमा यस्तो कहिल्यै भएन । अहिलेका शासकहरूले जस्तो ताण्डव नाच विगतका कुनैपनि शासकहरूले कहिल्यै गरेनन् । इतिहासको अध्ययन र अनुभवले यही वताउँदछ । जनतामा थपिदै गएको यी पीरमर्काहरू कसले पन्छाइदेला ? को आउला र पञ्छाइदेला भन्ने सुर्तामा आज जनता बाँचेका छन् । आफूमाथि निरन्तर बढ्दै गइरहेको शोषण, दमन, दरिद्र, अभाव, चर्को करको होइन, उत्पीडन अन्याय, अत्याचार, मिटरव्याज, सहकारी ठगी, घुसखोरी, हप्ता तथा मैना असुली, चोरी, डकैती, गुण्डागर्दी, ग्याङफाइट जस्ता चाङका चाङ समस्याहरूका पिरामिडले थिचिएका जनता भविष्यमा सुख–शान्तिसित बाँच्न पाउने संभावनाका सबै द्वारहरू बन्द भएको निचोडमा पुगी धमाधम आत्महत्या र सामूहिक आत्महत्याको बाटो रोजिरहेका छन् । यो विकराल समस्याबाट केपी, प्रचण्ड, शेरवहादुर कोहीपनि अनभिज्ञ छैनन्, तर बेखबर जस्तो नाटक गर्दछन् । धिक्कार छ तिमीहरूले अपनाएको राजनीति । तिमीहरूले अपनाएको छलकपट, स्वार्थ र घृणित सत्तामुखी चरित्र र प्रवृत्ति ।
जनताकाविरुद्ध धेरै षड्यन्त्र भयो । तर यो षड्यन्त्र अब चल्दैन । नेताहरूबाट धोका खाँदाखाँदा आजित वनेका जनता अन्धकारको यो लामो रातबाट छुटकारा पाउने जुक्ति आफै खोज्न थालेका छन् । आफूमाथि हुँदै आएका षड्यन्त्रको कारणहरू यिनै लूटतन्त्रका मसिहाहरू हुन् भन्ने वास्वतिक तथ्य पत्ता लगाइसकेका छन् । नेपाली जनताले आफ्नो हित गर्ने मित्र शक्तिको हो र जनतालाई पाइला पाईलामा धोका दिदै आएको शत्रुपक्ष कुन कुन हो भन्ने ज्ञान हासिल गरिसकेका छन् । शत्रु र मित्र छुट्याउन सक्ने जागरुकता आइसकेको छ जनतामा । जनताले यो चेतना पाइसकेका छन् भन्ने तमाम दृष्टान्तहरू आज सडक सडकमा पोखिएका जिन्दाबाद र मुर्दाबादका शंखनादहरूले प्रमाणित गरिरहेका छन् । जनताको यो वास्तविक अग्रगामी बाटोलाई छेक्न सक्ने जालझेल र भ्रमका तगाराहरू सबै भाँचिदैछन् । अब तिनको काम छैन । आफ्नो सत्ता जोगाउन सत्ताधारीहरूबाट गरिने कुनै पनि प्रयासको अब केही अर्थ छैन । कहिले दायाँतर्फको गठवन्धन भनिने ठगवन्धन, कहिले बायाँतर्फको गठवन्धन भनिने ठगवन्धन, यो मुलुकमा अव चल्दैन । साँचो डग्दैन नानी झुटो टिक्दैन ।