© २०२३
बुटवल, २३ पुस । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ अन्तरगत दोस्रो सेमीफाईनल खेल स्थगित भएको छ । विभागिय टिम त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब बिचको खेल प्रतिकुल मौसमका कारण स्थगित भएको हो ।
मंगल एक्कासी बढेको चिसोसंगै सितलहरका कारण खेल अघि बढ्न सकेन । सवा ३ बजे खेल शुरु भएर पहिलो सेट २–२ अंकको बिचमा खेल रोकियो । करीब १५ मिनेट रोकिएको खेल प्राविधिक टिमको निर्णय पछि स्थगित भएको मदन भण्डारी एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यले घोषणा गरे । ‘मौसमका कारण खेलाडीहरुको सुरक्षाका लागि खेल रोक्नुपरेको हो ।’–उनले भने । मंगलबारकै टिकटमा बुधबारको खेल हेर्न पाउने दर्शकलाई विश्वास्त गराएपछि दर्शकहरु फर्किएका थिए । स्थगित भएको खेल बुधबार बिहान ११ बजे हुने भएको छ । मंगलबार नै भएको पहिलो सेमीफाईनल खेलमा भारतको गुजरात स्टेट भलिबल एशोसियसनलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि दाबेदारी पेश गरेको छ ।
प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागीता रहेका थिए । समुह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समुह ‘बि’ मा नेपाल एपिएफ क्लब, नेपाल आर्मी, गल्कोट भलिवल क्लब, र गुजरात प्रदेश भलिवल एशोसियसन, भारत रहेका थिए ।