© २०२३
बुटवल, २१ कात्तिक ।
रुपन्देही उद्योग संघ बुटवल, नेपाल उद्योग परिसंघ, काठमाडौं तथा लुम्विनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा बुटवलमा “संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ आगामी पुस ७ गतेदेखि १९ गतेसम्म आयोजना हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव २०७९ को तयारीको काम अगाडि बढेको छ ।
प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरिएपछि कामले तीब्रता लिएको संघले जनाएको छ । तयारीका क्रममा भौतिक निर्माण तथा प्रदर्शनीमा सहभागी हुने उद्योग प्रतिष्ठानहरुको दर्ता प्रक्रियाका लागि आवश्यक कामहरु अगाडि बढेको प्रदर्शनी सदस्य सचिव हरि बहादुर खत्रीले बताए ।
यसैक्रममा निर्देशन तथा कार्यान्वयन समिति बैठकले स्टल दर्ता उपसमिति विस्तार गरिएको छ । प्रदर्शनी मूल समितिका सहसंयोजक दिलिप सापकोटाको संयोजकत्वमा विस्तार गरिएको उपसमितिको सहसंयोजकमा महेश थैव रहेका छन् ।
यसैगरी सदस्यहरुमा उपेन्द्र अग्रवाल, यमलाल भट्टराई, देवानन्द पाण्डे, किरण खरेल, अखिलेस गुप्ता, मुरारी भण्डरी र विश्वमणी भुसाल रहेका छन् । गठित समितिले प्रदर्शनीमा भाग लिन आउने उद्योग, प्रतिष्ठान तथा प्रविधिहरुको छनौट गरी त्यसको व्यवस्थापन गर्ने, स्वदेशी उत्पादनहरुको सहभागिता बढाउने तथा स्टललाई आकर्षक बनाउने योजना बनाएको रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपसमितिका संयोजक सापकोटाले बताए ।
यसपटकको आयोजनामा नयाँ उत्पादन र प्रविधि प्रदर्शनीलाई विशेष प्राथमिकता प्रदान गरिने भएको छ । प्रदर्शनीमा करिब ४०० स्टल रहने छन् । प्रदर्शनीमा सहभागी हुन आउने उद्योगहरुलाई उत्पादनका प्रकृति हेरेर छुट्टाछुट्टै पेभेलियनको व्यवस्था गर्ने योजना सहित काम अगाडि बढाइएको छ । राष्ट्रिय औद्योगिक प्रदर्शनीमा देशभरका उद्योगीहरुको सहभागिता गराउने लक्ष्य राखिएको छ ।