कैलाली ।
२७ वर्षपछि कैलालीको टीकापुर विमानस्थल नियमित हवाई उडानका लागि पुनः सञ्चालनमा आएको छ। आज आइतबार, तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानले चालक दलका तीन सदस्य र १२ यात्रुसहित दिउँसो १:४४ बजे विमानस्थलमा अवतरण गरेसँगै यहाँ नियमित उडान सेवा सुरु भएको हो।टीकापुर विमानस्थल २५ असोज २०४१ मा सञ्चालनमा आएको थियो, तर सशस्त्र द्वन्द्व सुरु भएपछि २०५३ साल माघदेखि बन्द भएको थियो। आजको पहिलो उडानसँगै टीकापुरको हवाई सेवामा नयाँ युगको शुरुआत भएको छ।पहिलो उडानको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा र उद्योग वाणिज्य संघ टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईंले स्वागत गरे। राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिट्टै स्तरोन्नति गर्ने र आगामी दिनमा काठमाडौं–टीकापुर सिधा हवाई उडान सञ्चालन गर्ने योजना सुनाए। उनले भने, “मैले गत निर्वाचनमा टीकापुर विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता गरेको थिएँ, आजदेखि यसलाई नियमित रूपमा सञ्चालनमा ल्याइएको छ। यसको निरन्तरताका लागि मेरो प्रयास जारी रहनेछ।”
टीकापुर नगरपालिकाको पहलमा, काठमाडौंदेखि नेपालगञ्जसम्म यती एयरलाइन्समार्फत उडान र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत टीकापुरसम्म तारा एयरले उडान गर्ने व्यवस्था गरिएको छ। प्रत्येक साता आइतबार र बिहीबार काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडान हुनेछन्। काठमाडौँ–टीकापुरको एकतर्फी भाडा ९,००० रुपैयाँ निर्धारण गरिएको छ।टीकापुर विमानस्थल सञ्चालनमा आएसँगै कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई नेपालगञ्ज र धनगढी विमानस्थल धाइरहेका थिएनन्। विमानस्थलको पुनः सञ्चालनले यस क्षेत्रका स्थानीयलाई ठूलो राहत दिएको छ। अहिले धावनमार्गमा ग्राभेल गरिएको छ र भविष्यमा यसलाई स्तरीय बनाइने योजना छ।