© २०२३
नवलपरासी ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान अहिलेको आवश्यक्ता सिपयुक्त शिक्षा भएको बताएका छन ।
शनिबार कावासोतीमा रहेको श्री शिव माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सम्बोधन गर्दै उनले अब विद्यालयहरूले शैक्षिक सर्टिफिकेटसँगै सिपको सर्टीफिकेट पनि दिन सक्नुपर्ने बताएका हुन ।
गुणस्तरीय र सिपयुक्त शिक्षा दिन सके असल, सक्षम र स्वावलम्बी नागरिक उत्पादन हुने भन्दै अब त्यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । देशको दिशालाई सकारात्मक बाटोमा लैजान विशेषगरि माध्यमिक तहको शिक्षा मै बढी ध्यान दिन पनि उनले आग्रह गरेका छन ।
‘शैक्षिक गुणस्तर सँगसँगै समयको माग बमोजिम सक्षम नागरिक बनाउनका लागि सिप सिकाउन लाग्यौं भने राम्रो हुन्छ,’उपप्रधानमन्त्री सिंहले भने, ‘विद्यालय तहको शिक्षा गुणस्तरीय बनाउन सक्यौं भने देशको दिशालाई सकारात्मक बाटोमा लैजान सक्छौं, अब यसमा सबैभन्दा बढी जोड दिनुपर्छ ।’ उनका अनुसार विद्यालयको अध्ययन सकेर विद्यार्थी बाहिर जाँदा आफ्नो जीवन आफै चलाउन सक्ने सक्षम नागरिक उत्पादन भइसक्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले शनिवार नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कार्यसमितिले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागि भएका थिए । सो क्रममा उहाँले पार्टीलाई बलियो बनाउन पार्टी संगठन विधि र नियमअनुसार चलाउनु पर्नेमा जोड गरेका थिए ।
कांग्रेस पूर्वमहामन्त्री समेत रहिसक्नुभएका सिंहले पार्टीभित्र मतभेद भए पनि कांग्रेसको नीति , विचार, सिद्धान्तलाई जनतामा पुर्याउनका लागि कांग्रेसलाई केन्द्रमा राखेर सोच्न आग्रह गरेका थिए । आदर्शको कुरा गरेर नहुने भन्दै उहाँले संगठनभित्र समस्याको पहिचान गरि व्यवहारिक भएर समाधान खोज्नुपर्नेमा जोड दिए ।
संगठनकै बलमा पार्टीबाट वडा सदस्य देखि मन्त्रीसम्म जनप्रतिनिधि बनेको भन्दै उहाँले जनप्रतिनिधिहरूले पनि संगठनमा ध्यान दिनुपर्ने बताउँदै नमूना सदरमुकामको विषयमा आफूले शहरी विकास मन्त्रालयको नेतृत्व लिए पछि काम अघि बढाइरहेको पनि जानकारी गराएका थिए ।