काभ्रे, २४ मंसिर ।
काभ्रेको बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५५८ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ का ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ का २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले आइतबार साँझ काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्दा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई राखिएको सुन बरामद भएको हो।
सुनसहित कार चालक बसन्त लामा र सवार यात्री अमृत श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।