© २०२३
बुटवल, १५ कात्तिक ।
हाम्रो नेपाली पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका कमल भुसाल (निकोलस) को उम्मेदवारी खारेजलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
निर्वाचन आयोगले भुसालको उम्मेदवारी मनोनयन अयोग्य भएको भन्दै खारेज गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च गएका थिए । तर सर्वोच्चले उनको रिट खारेज गरेको छ । रिट खारेज गरेपछि अव उनी उम्मेदवार बन्न नपाउने भएका छन् ।
सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजालसले मंगलबार रिट खारेजको फैसला सुनाएको हो । गत असोज २३ गते भुसालले हाम्रो नेपाली पार्टीको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए ।
सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र पढ्दा सरकारी कोषबाट आर्थिक लाभ लिएको ठहरिने भन्दै निर्वाचन अधिकृतको कार्यालयले असोज २५ गते उनको उम्मेदवारी खारेज गरेको थियो ।
यसअघि रुपन्देही २ कै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको पनि उम्मेदवारी खारेज भएको छ ।