© २०२३
लमही, २३ कार्तिक ।
देउखुरीको गढवा गाउँपालिका–१ मा रहेको धानखोला कृषि सहकारी संस्थाको रकम दुरूपयोग गरेको आरोप निराधार रहेको गढवा गाउँपालिका रोजगार शाखाका संयोजक अशोक कुमार यादवले स्पष्ट पारेका छन् । बिहीवार आयोजित पत्रकार सम्मेलनमा यादवले सामाजिक सञ्जालमा लगाइएको आरोपलाई खण्डन गर्दै उक्त समाचार तथ्यहीन, एकपक्षीय, र भ्रामक रहेको बताए ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएअनुसार, निराजन यादव र सन्देश भण्डारी क्षेत्रीले सहकारीको रकम दुरूपयोग तथा अनियमितताको आरोप लगाएका थिए । संयोजक यादवले भने, सहकारीको व्यवस्थापनमा आफ्नो कुनै सहभागिता नरहेको र संस्थाको स्थापनामा मात्र सहयोग गरेको जनाएका छन् । उनले सहकारीले आफ्नो घर तथा जग्गा भाडामा लिएर कार्यालय सञ्चालन गरेको र सम्झौता अवधि सकिएपछि कार्यालय अन्यत्र सारिएको जानकारी दिए । यादवका अनुसार, संघीय सांसद मेटमणि चौधरीको बजेटबाट सहकारीको लागि उपभोक्ता समिति गठन गरी काम सम्पन्न गरिएको थियो । उनले सहकारी संस्थामा कुनै द्धन्द्ध रहेको भए त्यसको समाधानका लागि पहल गर्न गाउँपालिकालाई आग्रह समेत गरे । साथै, सहकारीको रकम दुरूपयोग गरेको पुष्टि भए आफू कारबाहीको भागेदार बन्न तयार रहेको र झुठा आरोप लगाई व्यक्तिगत चरित्र हत्या गर्न खोज्नेहरूमाथि कानूनी छानबिन गर्न सरकारसँग माग पनि गरेका छन् ।