© २०२३
बुटवल, २१ कार्तिक ।
पाल्पाको तिनाउ गाउँपालिका सत्यवतीकी सरिता रानामगर हप्तामा दुई दिन बुटवल झर्छिन । गाउँमा उत्पादन भएको कृषि उपज बेच्नका लागि उनी बुटवलसम्म पुग्ने गरेकी हुन् । उनी मात्रै होइन उनीसँग हप्ताको बुधबार, शनिवार उनी गाउँका अन्य साथीहरू पनि कृषि उपज बोकेर बुटवल झर्छन् । यो गाउँका किसानको यो नियमित कर्म हो ।बुटवल आउँदा उनीहरूको साथमा केही केही कृषिजन्य उपज बिक्रीका लागि हुन्छन् । कहिलेकाहीँ छिमेकीहरूको पनि कृषिजन्य उपज खरिद गरी उनी बुटवल ल्याउने गर्दछिन् ।
केही दिन पहिला गाउँमा फलेका मुग्रे केरा एक भारी (डोका) बोकेर उनी एकाविहानै बुटवल झरिन् । बुटवलमा उनीहरू आफ्ना सँगीसंगै पहिलो चरणमा बुटवल–पाल्पा सडक खण्डको लक्ष्मीनगर गेट अगाडि देखि बिटिआई गेट सम्म लहरै बस्छीन् । कहिले केरा, कहिले पात, कसैले घारमा उत्पादन भएको सीमी, बोडी, काक्रा, करेला, भिन्डी, लगायतका कृषिजन्य उपजन बिक्रीका लागि ल्याउने गर्दछिन् । सरिता राना एक प्रतिनिधि पात्र मात्रै हुन ।उनी जस्तै पाल्पाको मदनपोखरा, मस्याम, तिनाउ, कोल्डाडा, सत्यवती, खुसार्ने लगायतका स्थानबाट पाल्पालीहरूले आफूले उत्पादन गरेका, गाउँका अन्य छिमेकीहरूले समेत उत्पादन गर्दै आएका कृषिजन्य उपज बिक्रीका लागि संकलन गरेर बुटवल ल्याउने गर्दछन् । पहिलो चरणमा उनीहरूले राजमार्ग सडक किनारामा यसरी आ–आफ्नो उत्पादन बिक्रीका लागि राख्छन् भने दोस्रो चरणमा त्यहाँ बिक्री हुन बाँकी रहेको उत्पादन बुटवल उपमहानगरपालिका पुरानो भवन अगाडीको हाटबजार क्षेत्रमा राख्ने गर्दछन् ।
कतिपय किसानहरूले अहिले तोरीको साग, रायोको साग, फापरको साग लगायतका साग मात्रै पनि ल्याएर बिक्री गर्ने गरेको पाईन्छ । कतिपय किसानले भने सालको पात, चिउरीको पात, अमला, केरा, काँक्रा, अदुवा, लसुन लगायतका कृषिजन्य उपज समेत विक्रीका लागि ल्याउने गरेको पाईन्छ ।गाउँको उत्पादन अर्गानिक हुने भएको कारण पनि विहानको समयमा मानिसहरूले किसानको उत्पादन खरिद गरी उपभोग गर्ने गरेको समेत पाईन्छ ।
यसरी आफ्नो उत्पादन बजारीकरण गर्न समयले नपाउने, नभ्याउने किसानहरूको लागि भने तिनाउ गाउँपालिकाले बुटवल ५ हाटबजार क्षेत्रमा रहेको बुटवल उपमहानगरपालिकाको व्यवसायीक सटर भाडामा लिएर त्यहाँबाट बजारीकरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठका अनुसार गाउँपालिकाले सटरको भाडा तिर्दै आएको छ भने त्यहाँ विक्रिको लागि ल्याउने, पठाउने किसानलाई प्रति किलो ४ रूपैयाँ नगद अनुदान समेत दिँदै आएको छ । पालिकाले किसानलाई एकीकृत गरी एउटा रूपमा सेवा प्रवाहको लागि ४ रूपैयाँ प्रतिकिलो अनुदानको व्यवस्था गर्दै आएको हो ।
पछिल्लो समयमा पाल्पाली किसानहरूले सुन्तलाको समेत कारोबार गर्दै आएका छन् । रूपन्देही जिल्लामा लाग्ने यस्ता हाट बजारमा प्रत्यक्ष अप्रत्यक्ष ५० हजार मानिसले रोजगारी पाएको हाट बजार व्यवसायी संघ रूपन्देहीको तथ्यांक छ । यी हाट बजारमा आमसर्वसाधारणलाई दैनिकरूपमा आवश्यक पर्ने उपभोग्य सामान किनमेल हुने गर्छ । तरकारी, फलफूल, खाद्यान्न, खसीबोका, कुखुरा, हाँस, परेवा, माछामासु, कपडाजस्ता वस्तु हाटबजारमा खरिद गर्न आउनेको भीड लाग्ने गर्दछ । बजारमा मौसमअनुसारका कृषि उत्पादन ग्रामीण क्षेत्रबाट किसानले आफै बजारसम्म ल्याएर बिक्री गर्ने समेत गरेको पाईन्छ । हाटबजारमा मंसिरदेखि बैशाखसम्म अधिकांश नेपाली कृषि उत्पादनले नै धान्ने गरेको र वर्षायाममा भारतीय उत्पादन खपत हुने गरेका छन् । स्थानीय पालिकाले आफ्नो क्षेत्र ठेक्का प्रक्रियाबाट हाटबजार सञ्चालन गर्दै आएका छन् ।