© २०२३
बर्दघाट, १४ कात्तिक ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफ्नो क्षेत्रको विकासको बारेमा जनता स्वंय सचेत हुनुपर्ने बताएका छन् ।
विगत २५ वर्षदेखि लगातार सत्तामा पुगेका नेताहरुले आफ्नै क्षेत्रको विकास गर्न नसकेको बताउँदै चौधरीले नवलपरासीको विकासमा आफूले योगदान गर्नको लागि उम्मेदवारी दिएको बताएका छन् ।
नेपाली काँग्रेस बर्दघाट नगर २ नम्बर वडा कार्य समितिले आयोजना गरेको कार्यक्रममा चौधरीले चुनिएर जाने जनप्रतिनिधिले यो वा त्यो वहानामा विकासका काम र जनचाहना बाहेक कुनै पनि कार्य गर्न छुट नभएको बताएका हुन् । उनले गण्डक समस्या, उँखु र केरा किसानका समस्या सबैभन्दा ठूलो समस्या रहेको बताउँदै पहिलो प्राथमिकता दिँदै समस्या समाधान गर्ने बताए ।
क्षेत्र नम्बर १ पहाडी क्षेत्र समेत रहेको र सडक, विद्युत लगायतका समस्या पूर्ण रुपमा समाधान नभएको बताउँदै चौधरीले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए । उनले बर्दघाट नगर सुगम नगर भएपनि उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै पनि बुटवल वा अन्यत्र जानुपर्ने बाध्यता अन्त्य नभएकोले यसको अन्त्य गर्ने बताए ।
जिल्लाको दक्षिणी भेग अझै पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पिछडीएकोले सहज स्वास्थ्य सेवा र शिक्षामा लगानी आवश्यक रहेको उनले बताएका थिए । चौधरी मनोनयन दर्ता भएसँगै आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट र चुनावी अभियान तीव्र पारेका छन ।