© २०२३
काठमाण्डाै –
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्डले पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
गएराति भएको फाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ३२ रनले हरायो । न्युजिल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरा वोल्भार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाइन् । न्युजिल्यान्डकी रोसमेरी मेयर र अमिला केरले समान ३ विकेट लिए ।
यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनायो । न्युजिल्यान्डकी अमिला केरले ४३ रन बनाइन् । दक्षिण अफ्रिकाकी नोन्कुलुलेको म्लाबाले २ विकेट लिइन् ।
प्रतियोगिताभरि १ सय ३५ रन बनाउँदै १५ विकेट लिएकी अमिला केर उत्कृष्ट खेलाडी बनिन् ।
महिला टी–२० विश्वकपको सबैभन्दा सफल टोली अस्ट्रेलियाले ६ पटक उपाधि जितेको छ । अस्ट्रेलिया सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० र २०२३ काे विजेता हाे । यस्तै इङ्गल्यान्ड पहिलाे संस्करण सन् २००९ र वेस्ट इन्डिज सन् २०१६ काे विजेता हाे ।