© २०२३
प्यूठान ।
प्यूठानको दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । कोजाग्रत पूर्णीमाका अवसरमा जिल्लाको नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेका हुन् । मगर बाहुल्यता रहेको नौबहिनी र ऐरावती गाउँपालिकामा आज दसैँको समापन हुँदैछ । नौबहिनी गाउँपालिका–६ र ८ को सीमा माक्रे स्थित माक्रे मन्दिरको पर्यटन प्रवद्र्धनका लागि सराय मेला लाग्दैछ ।
त्यसैगरी ऐरावती गाउँपालिका–३ जावुने दह स्थित आलमदेवी मन्दिरमा दसैँको विसर्जन कार्यक्रमसंगै हवन, सराय नाँच, बलि दिने परम्परा रही आएको छ ।जिल्लाका विभिन्न स्थानमा मेला लाग्ने भएपनि अन्य स्थानीय तहहरुले भने बिदा दिएका छैनन् ।
प्यूठान नगरपालिकाको बखडी मेला, बेलपत्रेस्वर महादेब मन्दिर दाखाक्वाडी मेला, ओखरबोट, जुम्री, झिमरुक गाउँपालिकाको बाँदिकोट मेला, लगायत जिल्लाका विभिन्न स्थानहरुमा मेला लाग्दैछ ।दशैँपछिको पूर्णिमा मेलालाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । कतिपय समुदायमा पूर्णिमा सम्मै दशैँ मनाउने चलन छ ।