© २०२३
बुटवल, २२ असोज । फिजिसियन चिकित्सकहरुको संस्था लुम्बिनी ईन्टरनल मेडिसिन सोसाईटीले लिम्स मेडिकल बुलेटिन बिमोचन तथा विजया दशमी, शुभ दिपावली, छठ पर्वको शुभकामना कार्यक्रम गरेको छ । रुपन्देही क्षेत्रमा बिरामी उपचारको क्रममा भेटिएका रोग, त्यसको निदानहरुको बारे अनुसन्धानमुलक जानकारीहरु तथा चिकित्सकहरुको लेखहरु समेटेर बुलेटिन तयार भएको बुलेटिनका प्रमुख सम्पादक डा सुभाष ज्ञवालीले बताए ।
एक कार्यक्रमका बिच नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेल, सोसाईटीका अध्यक्ष डा विष्णुप्रसाद पौडेल, उपाध्यक्ष डा नन्दु पाठक, डा. मोहन भुषाल, डा. हरि पन्थिले सामुहिक रुपमा बुलेटिन बिमोचन गरे ।
कार्यक्रममा नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले नया र रचनात्मक कामको थालनी भएको बताए । चिकित्सकहरु बिचमा आपसी भातृत्व र क्षमता विकासमा टेवा मिल्ने गरि समाज गठन गरि अध्ययन, अनुसन्धानमा बल पुग्ने गरि छोटोसमयमा महत्वपूर्ण काम गर्न सफल भएको उनले दाबी गरे । नया चिकित्सकहरुलाई समेत यो बुलटिन मार्गदर्शन हुने आशा ब्यक्त गर्दै यसको निरन्तरतामा जोड दिए ।
कार्यक्रममा समाजका सचिव डा.सरोज थापाले एकेडेमिक बुलेटिनका रुपमा निकालिएको भन्दै भविष्यमा अनुसन्धानमुलक जर्नल प्रकाशन गर्ने लक्ष्य बोकेको बताए ।
कार्यक्रममा सोसाईटीका अध्यक्ष डा विष्णुप्रसाद पौडेलले संस्था स्थापना भएर पहिलो पाईलाका रुपमा बुलेटिन प्रकाशन गर्न सफल भएको बताए । केवल पेशागत हित र अनुसन्धानका लागि अघि बढ्ने गरि संस्थागत रुपमा एकतावद्ध भएको उनले बताए । बुलेटिनको स्वरुप र विषयबस्तु अन्तराष्ट्रिय जर्नल भन्दा कम नभएको दाबी गर्दै उनले यस क्षेत्रमा बिरामीको उपचारको क्रममा आएका समस्या र समाधानका विषयबस्तु बुलेटिनमा उठान भएको बताए ।