© २०२३
नेपालगञ्ज, १८ असोज ।
सशस्त्र प्रहरीले बाँकेमा सडक दुर्घटना सम्बन्धी कृत्रिम घटनामा आधारित विपद जोखिम न्यूनिकरण तथा प्रतिकार्य अभ्यास गरेको छ । सडक दुघटनाको जोखिम न्यूनिकरणका लागि सचेतना जगाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेड क्वाटर वागेश्वरी बाँके र सशस्त्र प्रहरी बल, नेपाल नं. ४२ रिजर्भ गण हेड क्वाटर सम्शेरगंज बाँकेको संयुक्त आयोजनामा कोहलपुरमा कृत्रिम प्रतिकार्य अभ्यास गरिएको हो ।
सडक दुर्घटना स्थलमा सर्वप्रथम भीड नियन्त्रण र घाईतेको अवस्था हेरेर प्राथमिक उपचार पश्चात उद्धार गरेर एम्बुलेन्स तथा इएर बस मार्फत अस्पताल पठाइएको कार्यक्रममा देखाइएको थियो । स्थानीय जनप्रतिनिधिसँगै, अन्य सुरक्षा निकाय नेपाल प्रहरी, ट्राफिक प्रहरी, कोहलपुर नगरपालिकाका नगर प्रहरी, जिल्ला र स्थानीय विपद ब्यवस्थापन समिति तथा रेडक्रसकर्मीहरुको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधकारी खगेन्द्र प्रसाद रिजालले कोहलपुरदेखि राप्ती सोनारी गाउँपालिका सम्म र कोहलपुर देखि हवलदारपुर, राँझा सम्मको क्षेत्र सडक दुर्घटनाको अति जोखिम मानिएको बताए ।
उक्त सडकमा प्रत्येक दिन सडक दुर्घटना हुने गरेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनले भने, ‘यी सडक दुर्घटना नजानेर होईन, हामीले बेवास्ता गरी ट्राफिक नियमको उल्लङ्घन गरेर हुने गरेका छन् ।’ ट्राफिक नियमको पालना गराउनको लागि सचेतनामुलक कृत्रिम अभ्यास कार्यक्रमको लागि सशस्त्र प्रहरी टोलीलाई प्रमुख जिल्ला अधिकारी रिजालले धन्यबाद दिए ।
नेपालमा हरेक बर्ष ५ सय बढी विभिन्न प्रकोपका घटना हुने गरेको र पछिल्लो ५ बर्षमा ४० हजार भन्दा बढी ब्यक्तिहरुको विपदका कारण ज्यान गएको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले बताए । सोही अवधिमा ७५ हजार भन्दा बढी विभिन्न प्रकोपको घटनामा घाइते भएको र ३० लाख मानिसहरु प्रभावित भएको तथ्यांक सुनाउँदै उनले जसमध्ये सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या अत्यधिक रहेको उल्लेख गरे । विपदका घटनामा उद्धारका लगि सशस्त्र प्रहरी बलले अग्रणी भूमिका खेल्दै आउनुका साथै विपद न्युनिकरणकालागि सचेतनामुलक कार्यक्रम पनि गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले बताए ।