© २०२३
सुर्खेत ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको विषयलाई लिएर नेविसंघले मध्य पश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी अझै खुलेको छैन । गएको मंगलबारदेखि गरिएको तालाबन्दी अझै नखुल्दा विश्वविद्यालयका प्रशासनिक कामहरू प्रभावित भएका छन् ।असोज १६ गते अगाडी नै स्ववियू निर्वाचन गर्नु पर्ने माग राख्दै नेविसंघले तालाबन्दी गरेको छ ।
विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डा. नारायण प्रसाद पौडेलले दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरूको पूर्व सन्ध्यामा गरिएको तालाबन्दीले प्राध्यापक, कर्मचारीहरूको तलब भत्ता निकासा लगायतका दैनिक आर्थिक प्रशासनिक काम कारबाहीहरू प्रभावित भएको जानकारी दिए ।
विश्वविद्यालयले ताला खोलेर सहयोग गर्न आह्वान गरेपनि नेविसंघले नमानेपछि बिहीबार (हिजो)वार्ता समिति गठन गरिएको छ । ग्य्राजुएट स्कुल अफ म्यानेजमेन्ट डीन प्रा.डा दीपबहादुर रावलको नेतृत्वमा दुई सदस्यीय समिति गठन गरिएको छ । वार्ता समितिको सदस्यमा प्रा.डा यामबहादुर कार्की र सह–प्रा.डा लीलाधर तिवारी रहेका छन् ।
उक्त समितिले केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्ने वातावरण तयार गर्न र नेविसंघ लगायत अन्य क्रियाशील विद्यार्थी संघ, संगठनहरुसँग सामुहिक रुपमा वार्ता तथा संवाद गर्ने छ । साथै स्ववियू निर्वाचनको उपयुक्त समय तय पनि उक्त समितिले गर्ने बताइएको छ ।