© २०२३
पाल्पा, १४ भदौं ।
नेपाली काँग्रेस पाल्पाका पूूर्व सभापति ठाकुर चन्द्र (विप्र) कोइरालाको निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा विप्रको ८५ वर्षको उमेरमा विहीबार निधन भएको हो ।
आफ्नै निवास तानसेन–६ बर्तुङमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कोइराला २०४८ देखि २०५२ सम्म नेपाली काँग्रेस पाल्पाको सभापति थिए । पार्टीको विभिन्न तहमा रही कार्य गरेका स्वर्गीय कोइराला संगठन निर्माणको क्रममा वि.सं. २०१५ मा युवा काँग्रेस पाल्पाको अध्यक्ष बनेका थिए ।
काँग्रेसमा सादगी नेताको रुपमा परिचित उनी प्रजातन्त्रको पुनस्र्थापनाका निम्ति वि.सं. २०१७ देखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेलेका थिए । आन्दोलनका क्रममा पटक–पटक जेल जीवन विताएका उनी प्रजातान्त्रिक आन्दोलनको मोर्चामा जहिल्यै निडर, प्रखर, अग्रणी र बफादार भूमिकामा रहे । स्वर्गीय कोइरालाका श्रीमती, तीन छोरा र एक छोरी हुुन् । तीन छोरा मध्ये दुई छोरा र श्रीमतीको निधन भइसकेको छ । कोइरालाको निधनबाट पार्टीले एक अग्रज र अनुभवी अभिभावकलाई गुमाएको काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए ।