© २०२३
बुटवल, २९ साउन । श्री पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ बोलबम धामको गुरुकुल आश्रमलाई रोटरी क्लब अफ बुटवलले आर्थिक तथा पुस्तक सहयोग गरेको छ । साउनको अन्तिम सोमबार मन्दिर परिसरमा विशेष कार्यक्रम गरि क्लबका अध्यक्ष प्रज्वल थान्जु, कार्यक्रम संयोजक जीवकान्त काफले, रोटयाक्ट क्लब अफ बुटवलका अध्यक्ष दीपेश अग्रहरीले धामका अध्यक्ष रामबली चौधरी र पर्रोहा बोलबम बैदिक गुरुकुलका संयोजक महेश लम्साललाई २१ हजार रुपैयाको चेक तथा २० दर्जन कपि हस्तान्तरण गरे ।
धामका अध्यक्ष रामबली चौधरीले धर्मगुरु व्यासाचार्य श्री किसोर गौतमको संरक्षकत्वमा धाममा आश्रम संचालन भैरहेको बताए । राष्ट्रियता तथा विश्वबन्धुत्वको भावना विकास गर्नका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञान विज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले गुरुकुल संचालन गरिएको उनले बताए । गुरुकुलमा आर्थिक अभाव रहेको भन्दै विभिन्न दाताहरुको सहयोगबाट संचालन गरिदैआएको उनले बताए ।
पर्रोहा बोलबम बैदिक गुरुकुलका संयोजक महेश लम्सालले गुरुकुलमा बटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिँदै आएको बताए । गुरुकुलको नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी खर्चको व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, बटुकलाई खान र शिक्षाका लागि खर्च छुट्याइन्छ भने भौतिक तर्फ पुर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष प्रज्वल थान्जुले प्रत्येक वर्ष धाममा सहयोग गर्दै आएको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । गुरुकुलको शैक्षिक समस्यामा रोटरी सधै साथमा रहेर हातोमालो गर्ने उनले बताए ।
यसैगरि यो वर्ष पनि धाममा रोट्रयाक्ट क्लब अफ बुटवलको सहआयोजनमा भक्तजन हरुलाई चिसोपानी पिलाउने ब्यवस्था समेत गरिएको छ । स्वयंसेवी रुपमा रोट्याक्ट पदाधिकारीहरु चिसो पानी ब्यवस्थापन गरेका थिए ।