© २०२३
बुटवल, २६ साउन । शारिरिक सुगठनमा लागेका खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ तिलोत्तमा नगरपालिकामा पहिलोपटक शारिरिक सुगठन प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समिति, एक्ट्रिम फिटनेश क्लबको प्रायोजन तथा बुल्समेन क्लबको सहकार्यमा भदौ १५ गते प्रथम तिलोत्तमा श्री शारिरिक सुगठन प्रतियोगिता २०८१ एवं पुरुष र महिला फिजिक, रुपन्देही जिल्ला स्तरीय प्रतियोगिता हुने भएको हो ।
शनिबार पत्रकार सम्मेलन गरि एक्ट्रिम फिटनेश क्लबका संचालक तथा कार्यक्रमका संयोजक मन बहादुर रानाले खेलाडीहरुलाई प्रोत्साहन हुने गरि कार्यक्रम गर्न लागेको बताए । होटल टुलिपमा हुने प्रतियोगिता शारीरिक सुगठनतर्फ पाच तौल समुह र पुरुष फिजिक्स दुई तथा महिला फिजिक्स खुला गरि कुल आठ बिधामा प्रतियोगिता खेलाईने उनले बताए ।
प्रतियोगिताको शारीरिक सुगठनतर्फ प्रत्येक तौलसमुहका प्रथम हुनेले नगद १० हजार, द्घितियले नगद ७ हजार र तृतियले नगद ५ हजार रुपैया, मेडल, प्रमाणपत्र तथा पुरुष फिजिक्स १७० सेमीभन्दा तल र १७० सेमीभन्दा माथि एवं महिला फिजिक्स खुला समुहमा प्रथमले १५ हजार, १० हजार र ५ हजार रुपैया, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि शारिरिक सुगठन विधामा ओभरअल विजेता एक जना खेलाडीलाई नगद ७५ हजार रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि यसपटक साउथ एशियन शारिरिक सुगठन प्रतियोगितामा उपविजेता रुपन्देहीका खेलाडी कृष्ण श्रेष्ठलाई कार्यक्रममा नगद २५ हजार रुपैया, सम्मानपत्रबाट सम्मान गरिने उनले बताए ।
कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले तिलोत्तमा नगरपालिका पर्यटक भित्राउने गरि रचनात्मक अभियान र नारा बोकेर कार्यक्रम शुरु गरेको भन्दै खेल पर्यटन सम्भावनाको पाटो भएको दाबी गरे । हरेक खेलको ग्रासरुट विकास र तालिमलाई विशेष जोड दिएर निरन्तर कार्यक्रमहरु गरेको समेत उनले बताए । प्रतियोगितामा रुपन्देही जिल्लाका जिम, क्लबका एक सय बढी खेलाडीहरु सहभागी हुने छन । प्रतियोगिता आयोजनामा करीब ८ लाख खर्च हुने अनुमान आयोजकको छ ।