© २०२३
प्यूठान, ४ कात्तिक ।
किसानहरु पाकेको धान भित्र्याउन खेतमा व्यस्त छन् । किसानलाई बाली भित्र्याउन चटारो छ भने नेताहरुलाई चुनावको । मंसीर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु चुनावी एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । बाली भित्र्याउने समय भएकाले अधिकांश मतदाता (किसान) हरु गाउँमा भेटिदैनन् ।
प्यूठानबाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेता सूर्य थापा मल्लरानी गाउँपालिका ३ सालठाँटीमा पुग्दा किसानहरु खेतमै व्यस्त थिए । धान काट्न व्यस्त किसानहरुसँग खेतमै पुगेर थापाले मत मागे । थापाका अनुसार अहिले किसानहरु गाउँमा खेतीपातीमा व्यस्त छन् ।
प्यूठानका नौ वटा स्थानीय तहका ६४ वटा वडाहरुका गाउँबस्तीमा पुगेर मत माग्ने कार्यक्रमको व्यस्तताले मतदाताहरु जहाँ छन् त्यही पुगेर आफ्ना एजेण्डा सहित मत माग्ने गरिएको थापाले प्रतिक्रिया दिए । हालसम्म २० वटा वडाहरुमा पुगेर मतदाताहरुसँग चुनावी भेटघाट गरिएको उनले जानकारी दिए ।
प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा एमालेबाट सूर्य थापा र गठवन्धनबाट राजमोकी दुर्गा पौडेल चुनावी प्रतिस्पर्धामा छन् । थापा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज हुन् भने पौडेल राजमोकी उपाध्यक्ष हुन् ।
प्रदेश निर्वाचन क्षेत्र नम्वर १ मा एमालेबाट पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा र गठवन्धनबाट माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण अधिकारी (प्रकाश) चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश निर्वाचन क्षेत्र नम्वर २ मा एमालेबाट पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज हरि प्रसाद रिजाल र गठवन्धनबाट कांग्रेसका क्षेत्रिय सभापति एवं चलचित्र निर्माता सरोज थापा (रोज राणा) प्रतिस्पर्धामा छन् ।