© २०२३
बुटवल, २४ साउन । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने राजीनामा दिएका छन । नेपाल विद्यार्थी संघको आन्दोलन नरोकिएपछि विहिबार उपकुलपति समक्ष राजिनामा पेश गरेका हुन ।
क्याम्पस प्रमुखबाट हस्ताक्षरण गरिएको पत्रमा अस्वस्थका कारण राजिनामा दिएको बताईएको छ । यता नेविसंघका रुपन्देही अध्यक्ष सन्दिप पाण्डेले भने आफुहरुको आन्दोलन थेक्न नसकेर क्याम्पस प्रमुखबाट राजिना आएको दावी गरे ।
विद्यार्थी संगठन बिच भएको विवादका बिच प्रहरीद्वारा भएको लाठीचार्ज प्रति आपत्ति जनाउदै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो । बुधबार भएको लाठी चार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगरसहित विद्यार्थी नेता तथा विद्यार्थीहरु घाइते भएका थिए । क्याम्पसप्रमुख भने ५ बजेसम्म सम्पर्कमा नआएको आफुहरु बाध्यताबस तालाबन्दी गरेको बताए ।
तालाबन्दी पश्चात् इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितको नेतृत्वमा तालाबन्दी फोरेर सहायक क्याम्पस प्रमुखहरुलाई बाहिर निकाल्न खोज्दा नेविसंघले रोकेको थियो । बुधबार लाठी चार्ज गरेको प्रहरीले विहिबार भने बल प्रयोग नगरी नेविसंघको छेकथुनलाई साम्य बनाउने प्रयास गरेको थियो । सोही क्रममा बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले राजिनामा पेस गरेपछि नेविसंघले आफैं तालाबन्दी खोलेको छ ।