© २०२३
सल्यान, २१ साउन ।
करिब दुई हजार पाँच सय ३७ मिटरको उचाइ । सल्यानकै दोश्रो अग्लो पहाड कुमाख लेक । यस लेकको फेदमा नम्रैना, सापडाँडा र ओबीनेटा गाउँ । अनि गाउँमा फलेका स्याउका दाना । लटरम्म फलेका दानाले नुघेका स्याउका बोट हेर्दैमा मख्ख छन् यहाँका किसान ।
प्राकृतिक सुन्दरतासँगै चिसो हावापानी भएको कुमाख गाउँपालिका वडा नं.३ मा पर्ने यो गाउँमा पछिल्लो समय स्याउ खेती बिस्तार हुँदै गएको छ । राम्रो फल्न थालेपछि नम्रैना, सापडाँडा र ओबीनेटाका कृषकहरूले व्यवसायिक रूपमा स्याउ खेती अगाडि बढाउन कसरत गरिरहेका छन् ।
कुमाख गाउँपालिका, ३ सापडाँडाका कृषक तथा पूर्व वडा सदस्य अतिराम रानाले आफ्नो क्षेत्रमा स्याउ राम्रो फलेपछि गाउँका सबै मिलेर स्याउ खेतीतर्फ अग्रसर भएको बताए । उनले भने, ‘सानो सानो गाउँ छन् । प्रायः सबैले स्याउ रोपेका छौँ । कतिपय बोटमा फल्न सुरु भइसकेको छ, कतिपय बोट हुर्कदै छन् र कतिपयले अझै नयाँ बोट लगाउँदै हुनुहुन्छ ।’ स्याउ खेतीका लागि उचित हावापानी र माटो मानिएको नम्रैना, सापडाँडा र ओबीनेटामा करिब २० घरधुरी किसानले स्याउ खेति गरिरहेका छन् । अतिरामले आफ्नो ८ रोपनी जमिनमा स्याउका बोट रोपेका छन् । ‘४० बोट जति फल्न सुरु गरिसकेका छन्,’ उनले भने ‘थप ४०० स्याउका बोट हुर्किरहेका छन् ।
कतिपय बोट फल्ने अवस्थाका भइसकेका छन् ।’पछिल्लो समय फलफुल खेतीमा सल्यान अब्बल जिल्लाको रूपमा परिचित हुँदै गएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानले यस अघि कुमाख ३ को नम्रैना, सापडाँडा र ओबीनेटा क्षेत्रमा स्याउ खेती पकेट अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । स्याउ खेतीका लागि टेवा पुर्याउन सिंचाइ योजना, विरुवा खरिदमा अनुदान तथा अन्य प्राविधिक ज्ञान समेत कार्यालयले उपलब्ध गराएको किसानहरू बताउँछन् ।
रोपिएका दर्जन स्याउका बोटले फल दिन सुरु गरिसकेको जनाउँदै कुमाख ३ सापडाँडाकै कृषक कर्ण बहादुर रानाले थप २०० बोट लगाएका छन् । स्याउको बोट रोपेको करिव चार/पाँच वर्षपछि फल्न सुरु गर्ने उनको भनाइ छ । यहाँका किसानहरूले स्याउ खेति विस्तारका लागि भारत तथा कालिकोटबाट विरुवा ल्याउने गरेका छन् भने कतिपय गाउँमै विरुवा तयार गर्नेगरेका छन् । मकै, गहुँ लगायतका बालीनालीमा जंगली जनावरले क्षति पुर्याउने भएकाले पनि यहाँका किसान स्याउ खेतीतर्फ अग्रसर भएका हुन् । जिल्लाको कुमाख गाउँपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकाका केही भागमा स्याउ खेती हुँदै आइरहेको छ । कुमाखमा फलफूल खेतीसँगै टिमुर लगायतका जडिबुटी खेती पनि हुने गरेको छ