© २०२३
काठमाण्डौ –
यस वर्षको मनसुन शुरु भएयता बाढी, पहिरो, चट्याङ लगायत मनसुनजन्य विपदमा परेर एक सय ५० जनाको ज्यान गएको छ । ४९ जना बेपत्ता भएका छन् । बाढी पहिरोबाट चार हजारभन्दा बढी परिवार विस्थापित भएका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
गएको जेठ २८ गते यता बाढी, पहिरो लगायतका विपदमा परी काठमाण्डौ उपत्यकामा तीन जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक सय ७७ जना घाइते भएका छन् । विपदमा परी देशभर ४९ जना बेपत्ता रहेका प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा तीन सय ८४ वटा घर डुबानमा परेका छन् । दुई सय ५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । सात सय ४३ वटा पशु चौपायको मृत्यु भएको छ । विपदका घटनाबाट चार हजार दुई सय १९ घर परिवार विस्थापित भएका प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।