© २०२३
सुर्खेत, १७ साउन ।
कर्णाली प्रदेशमा हालसम्म चार जना प्रदेश प्रमुख फेरिए । जसमध्ये एक जनामात्र कर्णालीका बासिन्दा हुन् भने तीनजना कर्णाली बाहिरका हुन् । प्रदेश सरकार गठनको सुरुवातमा पहिलो पटक ०७४ मा दुर्गाकेशर खनाल प्रदेश प्रमुख बनेका थिए । उनी काँग्रेसको कोटाबाट प्रदेश प्रमुखमा नियुक्ति भएका थिए । खनाल पछि प्रदेश प्रमुख बन्ने जति सबै प्रदेश बाहिरका हुन् ।
खनालपछि नियुक्त भएका गोविन्दप्रसाद कलौनी र तिलक परियार प्रदेश बाहिरका हुन् । त्यसैगरी सरकारले हाल प्रदेश प्रमुखमा नियुक्ती गरेका यज्ञराज जोशी पनि कर्णाली प्रदेश बाहिरका हुन् ।
कर्णालीका पहिलो प्रदेश प्रमुख खनाल ०७५ कार्तिक ७ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे । त्यसपछि केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएपछि ०७५ कार्तिक १८ गते एमाले नेता गोविन्द प्रसाद कलौनीलाई प्रदेश प्रमुख नियुक्त ग¥यो । उनी सुदूरपश्चिमको कञ्चनपुरका हुन् । कलौनी ०७८ कार्तिक २३ गतेसम्म कर्णालीको प्रदेश प्रमुख रहे ।
त्यसपछि नेकपा माओवादीको कोटाबाट सरकारले तिलक परियारलाई कर्णालीको प्रदेश प्रमुखमा नियुक्त ग¥यो । परियार लुम्बिनी प्रदेशको बाँकेका हुन् । हाल परियारलाई हटाएर फेरि कञ्चनपुरकै यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ । जोशी कर्णाली प्रदेशको चौथो प्रदेश प्रमुख हुन् ।
०४८ सालदेखि (आठौँ महाधिवेशनबाट) महासमिति सदस्य भएका जोशी ०६३ सालमा कांग्रेसको कञ्चनपुर जिल्ला सभापति भएका थिए । ०४९ सालमा कांग्रेसका तर्फबाट भीमदत्त नगरपालिकाको पहिलो मेयर भएका थिए । ०६५ सालको उपनिर्वाचनमा पनि उनी पराजित हुन पुगेका थिए । यस्तै ०७४ मा कञ्चनपुर ३ (क) बाट उनी प्रदेश सभा उम्मेदवार बनेका जोशी निर्वाचनमा पराजित भएका थिए ।
यसरी कर्णाली प्रदेशमा प्रदेश बाहिरका व्यक्तिलाई मात्र प्रमुखमा नियुक्त गरिएको भन्दै त्यसको विरोध भएको छ । प्रदेशभित्र प्रदेश प्रमुखका लागि योग्य पात्र प्रशस्त रहे पनि प्रदेश बाहिरबाट प्रमुखमा नियुक्त गरिएको भन्दै आलोचना भइरहेको छ ।
नागरिक अगुवा पिताम्बर ढकालले प्रदेश प्रमुखमा कर्णालीकै व्यक्ति नभेटिनु सरकारको दृष्टि दोष रहेको बताउँछन् । लोकतान्त्रिक मूल्यमान्यता अनुरुप सातवटै प्रदेशमा स्थानीय व्यक्तिलाई नै प्रदेश प्रमुखमा नियुक्ति गरिनुपर्ने उनले बताउँछन् । ‘एक त पिछडीएको क्षेत्रको रुपमा कर्णालीलाई लिइन्छ, त्यसमा पनि केन्द्रले नै काखी च्याप्ने परिस्थति रहेको छ’ उनी भन्छन्, ‘यो भनेको केन्द्रले कर्णालीलाई हेर्ने देष्टिकोण हो ।’
प्रदेश प्रमुख स्थानीयलाई नियुक्ति गर्दा प्रभावकारी हुने उनी बताउँछन् । ‘कर्णालीमा पनि स्थानीयहरु प्रदेश प्रमुख बन्ने क्षमताका छन् तर, सधै प्रदेश बाहिरबाट नियुक्ति गरिन्छ’ ढकाल भन्छन् ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भयो कर्णाली बासीमा ।’ महिला नेतृ एंव अधिकारकर्मी यमुना सापकोटाले प्रदेशबासीको पहुँच नपुगेका कारण बाहिरकै व्यक्तिहरु प्रदेश प्रमुखमा नियुक्त गरिन्छन् । ‘यो भनेको कानुका छिद्रहरुको दुरुपयोग गरिएको हो’ उनले भन्छिन्, ‘प्रदेश प्रमुखको नियुक्ति तथा योग्यता क्षमताको विषयमा कानुनमा व्यवस्था हुन जरुरी थियो दलहरुले यसको दुरुपयोग गर्ने अवसर पाएका छन् ।’ प्रदेश प्रमुख नियुक्तिमा महिलालाई पनि उपेक्षा गरिएको उनको भनाई छ ।