© २०२३
सुर्खेत, १४ साउन ।
भुकम्पपछि जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गएको कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ का विभिन्न बस्तीहरुमा मुहान भासिएपछि खानेपानीको सङ्कट परेको हो । पानीको अभावका कारण घण्टौ समय लगाएर पानीको जोहो गर्नुपरेको स्थानीयबासीले गुनासो गरेका छन् ।
अहिले विशेषगरी भेरी नगरपालिका वडा नम्वर एक स्थित दुईवटा वस्तीमा पानीको समस्या देखिएको वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष दिपक रानाले रावत गाउँ र रिम्नाको तल्लो बस्तीमा खानेपानीको समस्या भएको जनाए । भुकम्पका कारण वडाका ६ वटा खानेपानीका मुहान भासिएको र हाल नगरपालिकासँगको समन्वयमा विभिन्न संघ संस्थाहरुले खानेपानी निर्माणको काम सञ्चालन गरेको बताए । ‘विशेषगरी भुकम्पपछि खानेपानीका मुहानहरु भसिएका कारण पानीको समस्या भएको हो’ उनले भने, ‘अन्यत्र बस्तीका खानेपानीका आयोजना बनिसकेकाले समस्या समाधान भएको र हाल दुई वटा बस्तीमा मात्र आयोजना निर्माणाधीन रहेकाले उक्त बस्तीमा खानेपानीको जोहो गर्न समस्या देखिएको हो ।’
वडा अध्यक्ष रानाले दशैंसम्ममा खानेपानीको समस्या समाधान हुने बताए । रानाले वर्षायामसँगै स्थानीयबासीहरुमा झाडापखाला तथा आउँको समस्या देखिन थालेपछि सचेतिकरणको अभियान सञ्चालन गरिएको बताए । ‘यो समयमा त्रिपालमुनि रहेका भुकम्प पीडितहरुमा झाडापखाला तथा आउँको समस्या देखिन थालेको छ त्यति ठूलो रुपमा फैलिसकेको त छैन’ उनले भने, ‘तर, पनि बेलैमा सचेत रहेमा यसको माहामारी नफैलियोस् भन्ने हो ।’ यसको लागि निर्मलीकरण गरिएको पानी खानुका साथै सरसफाईमा विशेष ध्यान दिन आग्रह गरेको रानाले बताए ।