Butwal Today

पोखरामा स्कुल बस दुर्घटना : एक महिलाको मृत्यु, २८ जना घाइते

१४ श्रावण २०८१, सोमबार
अ+
अ-

पोखरा ।

पोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाका अनुसार दुर्घटनामा एलपी देवकोटा मेमारियल स्कुलकी सहयोगी ३३ वर्षीया आरती विकको मृत्यु भएको हो।

उक्त स्कुलका विद्यार्थी बोकेको बस बिहान ९ बजे पोखरा-१७, फुस्रेखोलानिर सडकबाट खसेको हो। दुर्घटनामा २९ जना घाइते भएका छन्। उनीहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमा अधिकांश विद्यार्थी रहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।

यी हुन् घाइते

पोखरा-३१ कृस्तीका ९ वर्षीय अनमोल विक, सोही ठाउँका ५ वर्षीय रोशन बराल, पोखरा-२१, रामदीका १४ वर्षीय दिप्सन कार्की, ६ वर्षकी योजना गुरुङ,  १३ वर्षकी डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की,  ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा विक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विशिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, ५ वर्षीय प्रिन्स विक, १२ वर्षीया सिम्रन विक र ११ वर्षीय विवश खत्री। उनीहरू गण्डकी मेडिकल कलेजमा उपचाररत छन्।

यस्तै पोखरा-२१ कै ३ वर्षीया सिमन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १३ वर्षका रामकृष्ण नेपाली, २ वर्षका अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीय अस्मित विक, ३० वर्षकी अभिभावक सुमित्रा सुनार, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले र ११ वर्षीय निश्चल सुनारको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

कास्की प्रहरीका अनुसार  पोखरा-१७ विरौटा बस्ने ५५ वर्षीय बस चालक टेकबहादुर भुजेल, पोखरा-२१ बस्ने ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको चाहिँ मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूको नाक, मुख र डाढ तथा केहीको आँखामा पनि चोट लागेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?