© २०२३
बुटवल, १२ साउन । खेलमार्फत भातृत्व विकास गर्ने उदेश्यका साथ बुटवलमा सम्पन्न मैत्रीपुर्ण टिट्वान्टी क्रिकेट प्रतियोगितामा ईक्यान रुपन्देही विजयी भएको छ । नहरपुर मावि खेलमैदानमा शनिबार भएको खेलमा खेलकुद पत्रकार टिमलाई ७ रनले पराजित गर्दै ईक्यान विजयी भएको हो ।
एक समारोहका बिच खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, ईक्यानका अध्यक्ष गिरिराज पाण्डे, ईक्यानका संस्थापक अध्यक्ष देव बहादुर कुवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, नेपाल पत्रकार महासंघका सल्लाहकार दिनेश पाण्डे, रुपन्देही जिल्ला लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, संयोजक निशानबाबु कार्कीले विजयी, उपविजयी टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका छन ।
टस हारेर ब्याटिङ गर्न मैदान छिरेको ईक्यानको टिमले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १६० रनको लक्ष्य खडा गरेको छ । ईक्यानका विश्व गौतमले ४२ रन जोडे । यसैगरि दिनेश पौडेलले ४० रनको योगदान दिए । पत्रकारको टिमका प्रकाश पाण्डे र सुमन श्रेष्ठले समान २–२ विकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको पत्रकारको टिम राम्रो शुरुवात गर्न सकेन । ओपनर पाल बहादुर सोमई ८ तथा रतन कंडल १ रनमै आउट भए । मध्यम क्रममा आएका डिबि सुस्लिङले सम्हालिदै १७ रन बनाए । पत्रकारको टिमबाट कृष्ण भण्डरीले खेलमा पहिलो अर्धसतक पुरा गरे । उनले रोहित चौधरीसंग राम्रो साझेदारी गर्दै एक्लै ७२ रनको महत्वपूर्ण पारी खेलेपनि टिमलाई जित दिलाउनबाट चुके । खेलमा ईक्यानका विश्व गौतम, उपेन्द्र यादव र गोबिन्दराज अधिकारीले समान २–२ विकेट लिए । खेलमा ईक्यानका विश्व गौतम उत्कृष्ट खेलाडी घोषित भए ।