© २०२३
नवलपुर, ८ साउन ।
पुर्वी नवलपरासीमा सूचना बिना विद्युत् जाँदा स्थानीय उपभोक्ता समस्यामा परेका छन् । दैनिक २० पटकसम्म विद्युत् ट्रिपिङ (झ्याप्प–झ्याप्प विद्युत् कटौती) हुँदा विद्युतीय उपकरण बिग्रिने गरेको स्थानीयको गुनासो छ । गैंडाकोटका स्थानीयले विद्युतमा देखिएका समस्याको विरुद्ध मगंलबार चक्काजाम समेत गरेका छन् । नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखा अगाडी पूर्व पश्चिम राजमार्गमा टायर बालेर करिब आधा घण्टा चक्काजाम गरेका हुन् ।
स्थानीय गोकुल सापकोटाले विना सूचना विद्युत कटौती गर्दा जिल्लाका गैडाकोट, देवचुली, कावासोती, लगायतका नगरपालिकामा रहेका होटल, डेरी, औषधि लगायतका उद्योगी व्यवसायी मर्कामा परेको, विद्यार्थी पढ्न समेत नपाएको नागरिक प्रभावित बन्दै गएपछि बध्यताले आन्दोलनमा उत्रिनुपरेको बताए । जिल्लावासीले दैनिक २० पटकभन्दा बढी विद्युत् ट्रिपिङको समस्या खेप्नुपरेको हुदा नगरबासीलाई समस्या भएकाले चक्काजाम गरी सडकमा नै उत्रिनुपरेको बताए । झ्याप्प बत्ती जाने र आउने गर्दा कहिले कम तथा कहिले अधिक भोल्टेजका कारण पङ्खा, फ्रिज, मोटरलगायतका विद्युतीय उपकरणमा बिग्रने गरेको उनले बताए ।
गैडाकोटका स्थानीय नारायण गौडेलले बिना सूचना नै विद्युत् कटौती हुँदा जनताले निकै सास्ती भोग्न परेको र धेरै समस्या भएको बताए । लोडसेडिङको तालिका पनि छैन, अहिले कुन बेला बत्ती जाने हो, कुन बेला आउने हो पत्तै हुँदैन, यसको मार विद्युतीय उपकरणमा परेको छ । बत्ती जाने र आउने समयको कुनै ठेगान नभएपछि मोवाइल चार्ज हुन पाउदैन , सवै विद्युतीय उपकरण विग्रन थालेका छन् । गर्मी उस्तै छ यता वती गैरहन्छ, घरमा बस्न पनि गाह्रो भएको भएको गौडेलको भनाई छ ।
त्यसैगरी कावासोतीका स्थानीय गोपाल बस्ताकोटीले पनि विना सूचना विद्युत कटौतीले विद्युतीय उपकरण विग्रेको बताए । कावासोतीमा धेरै साझको समयमा विद्युत कटौती हुने र लामो समयसम्म नआउने हुनाले समस्या भएको बताए ।
अहिले गर्मी महिनामा विद्युतको माग अत्यधिक हुने भए पनि विद्युत् प्रवाह हुने रुट (प्रसारण लाइन) को क्षमता थोरै हुँदा उपभोक्ताले ट्रिपिङको समस्या झेल्नुपरेका नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए ।
ट्रान्समिसन लाइन पर्याप्त भएपनि साँघुरो रुटमा थोरैमात्रै विद्युत् प्रवाह हुँदा साथै वर्षातको समयमा विद्युतका पोल ढल्ने हुदा मर्मत सम्भारमा समेत ढिलाइ भएकाले ट्रिपिङको समस्या देखिएको बताउनुभयो । नारायणगढ बुटवल सडक निर्माणधिन रहेकाले पनि समय समयमा विद्युत कटौती गरेर काम गर्नुपरेकाले विद्युत जाने गरेको बताए ।
गैडाकोट क्षेत्रमा मर्मतको लागि चौविसे घण्टा कर्मचारी खटाउने, एक साताभित्र विना सूचना विद्युत जाने समस्या समाधान गर्ने र असोज भित्र मजबुत लाइन गैडाकोटभित्र पूर्ण सञ्चालन गर्ने सहमती भएपश्चात आधाघण्टा पछि चक्काजाम हटाइएको गैडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिएका छन ।