© २०२३
सुर्खेत, ७ साउन ।
कर्णालीमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन् । सोमबार राजीनामा घोषणा गरे लगत्तै उनीहरुले मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन् ।
माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाएका हुन् ।
केन्द्रमा दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै चारजना मन्त्रीहरुले राजिनामापत्र बुझाएका हुन् । मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।
माओवादी संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सरकारबाट बाहिरिने विषयमा निर्णय गरेका छैनन् । राजीनामा पछि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताए ।