© २०२३
काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सुशासनका लागि काम गर्नु नै सरकार ढाल्ने आधार बनेको भन्दै देश माफियाको हातमा जान लागेको बताएका छन् ।
विश्वासको मत माग्ने प्रस्ताव राख्न उभिएका प्रधानमन्त्री प्रचण्डले देश माफियाको हातमा जान लागेको भन्दै जनता जाग्ने बेला भएको बताए ।
‘जनता जाग्नुस्, अब जनता जाग्ने बेला भयो, होइन भने फेरि देश माफियाकै हातमा जान लाग्यो, प्रधानमन्त्री प्रचण्डले भने, यति धेरै हाइ प्रोफाइल कहिल्यै पक्राउ परेका थिएनन् । अहिले पनि उपप्रधानमन्त्री भएका व्यक्ति प्रहरी हिरासतमै हुनुहुन्छ ।’
उनले आफू सरकारमा नभए पनि नक्कली भूटानी शरणार्थी प्रकरणसहितका काण्डको कसरी पटाक्षेप हुन्छ भनेर निगरानी गरिरहने बताए ।
प्रचण्डले सुशासनको अभियानका कारण सरकार परिवर्तन भएको दाबी गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालेपछि विभिन्न समूहहरू डराउन थालेको बताए । सरकारको सुशासन अभियानले हिजोसम्म शासन गरिरहेको वर्ग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो । एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो अर्को समूह डरायो, उनले भने,भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो ।
प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बिलिन पुगेको दाबी गरे । त्यही शक्तिले कांग्रेस र एमालेलाई मिलाएको उनको दाबी छ ।
उनले जनताले आफ्नो शक्ति देखाउने समय आएको बताए ।