© २०२३
चन्द्रौटा(कपिलवस्तु), २७ असार ।
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले पाछिल्लो समय वन क्षेत्रमा चोरीका घटना बढेपछि नियन्त्रण गर्न ड्रोन क्यामेराबाट सुरक्षा गर्ने बताएका छन् । “समृद्धिका लागि वन” सम्बद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धि बिहीबार गोरुसिगेंमा आयोजित समीक्षा गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले चोरी सिकारी, काठ तस्करी, वन क्षेत्र अतिक्रमण लगायतलाई रोकथाम गर्न सबैको हातेमालो आवश्यक रहेको बताए । वन सम्बद्र्धन प्रणालीले वन व्यवस्थापनमा विज्ञान तथा प्रविधिको प्रयोग गरिएको बताए । अहिले वन क्षेत्रमा भएका रुखको जिपिएस गरी उचाइ र मोटाई लिइएको जनाउँदै खाली जग्गा व्यवस्थापन समेत भएको प्रमुख सुवेदीले बताए ।
अग्नि रेखा निर्माण देखि पानीको स्रोत व्यवस्थापन र खहरे खोला व्यवस्थापनमा गरिएका नमुना अभ्यासले वनको दिगो व्यवस्थापनमा जोड दिएको उनको भनाइ छ । सामुदायिक वन उपभोक्ताका पदाधिकारी लगायतले आफूसँग रहेको लाखौँ रकम खर्च गर्न नसकेको उनले जनाए । सामुदायिक उत्तरदायित्वसँगै दिगो वन व्यवस्थापमा जस्ता क्षेत्रमा लगानी गर्न सके मानवको दैनिकी र वातावरणलाई समेत प्रभावकारी बनाउनुपर्नेमा प्रमुख सुवेदीले जोडदिए ।
कपिलवस्तुका सामुदायिक वनले जैविक विविधता कायम गर्न अन्य वन व्यवस्थापनमा जोड दिने जनाएका छन् । डिभिजन वन कार्यालय कपिलवस्तुले वन सम्बद्र्धन प्रणाली अन्तर्गतका वन व्यवस्थापन अन्तरक्रियामा बोल्दै काठ उत्पादन सँगै अन्य वन व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् । वन व्यवस्थापनमा गर्दा आएका समस्या तथा चुनौतीलाई समाधान गर्दै नमुना अभ्यासलाई प्रचार प्रसार गर्ने कार्यक्रममा सहभागी राजकुडाँ सामुदायिक वनका अध्यक्ष हेमन्त मल्लले बताए ।