© २०२३
सल्यान, २७ असार ।
लागू औषधको रुपमा प्रयोग गर्नका लागि दाङबाट ल्याएको ९० वटा क्याप्सुल सहित ३ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । दाङबाट जीपमा लागू औषध ल्याउने चालक तथा उक्त लागू औषध मगाउने दुई जनालाई सल्यानको त्रिवेणी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधबार दिउँसो दाङको तुलसीपुरदेखि जयचौर जाने रा १ ज ५०८ नम्बरको डबल क्याप जिपका चालक बालकृष्ण बि.क.ले लागू औषध ल्याएको भन्ने सूचना पाएको प्रहरीले चालक तथा मोटरसाईकलमा आएर चालकबाट लागू औषध लिइसकेका त्रिबेणी गाउँपालिका वडा नं. ६ बस्ने करण कवर र शारदा नगरपालिका वडा नं. १ श्रीनगर बस्ने शरण श्रेष्ठलाई पक्राउ गरेको हो ।
हरियो रङको ९ वटा पत्ताको पछाडीतिर ‘ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ५०० एमजी’ लेखिएको ९० वटा क्याप्सुल सहित उनीहरुलाई त्रिवेणी ६ को भाण्टाखोलाबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरिक्षक रेशम बहादुर खत्रीले जानकारी दिए । करण र बालकृष्णलाई प्रहरीले राप्ती राजमार्ग स्थित भाण्टाखोलाबाट नै पक्राउ गरेको थियो भने तत्काल घटनास्थलबाट भागेका शरणलाई लुहाम बजारको एक होटलको शौचालयमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले जनाए । पक्राउ परेका उनीहरुमाथी ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।